। सत्तारुढ दल रास्वपाको मधेश अधिवेशन अनिश्चित बनेको छ । सांगठनिक अवस्था तथा कार्यसम्पादन अडिटका लागि पार्टीले केन्द्रीय नेताहरूलाई जिम्मेवारी दिएर मधेश पठाएपनि अधिवेशनको अन्योल भने कायमै छ ।
सहमहामन्त्री हरि ढकालको नेतृत्वमा संगठन विभाग प्रमुख प्रमोद न्यौपाने, प्रवक्ता जगदीश खरेल, सहप्रवक्ता सुरेन्द्र चौधरी नेताहरू अशोक कुमार चौधरी र पुनम अग्रवाललाई मधेशको वस्तुस्थिति बुझ्न पार्टीले खटाएको थियो ।
सहमहामन्त्री ढकालको नेतृत्वको टोलीले मधेशका आठै जिल्लामा पुगेर स्थानीय नेता कार्यकर्ताहरूसँग छलफल गरेको थियो ।
पालिका, क्षेत्र, जिल्ला र प्रदेश समिति संरचनामा रहेकाहरूसँग छलफल गरिएको संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले जानकारी गराए ।
कार्यदलका सदस्यहरू मधेशका आठ जिल्लामा पाँच दिन बिताएर गत साता काठमाडौं फर्केका थिए । मधेशकै नेताहरू कार्यदलमा राख्दा स्वार्थको प्रश्न उठ्न सक्ने विश्लेषणसहित अन्य प्रदेशका नेताहरू सम्मिलित कार्यदल गठन गरिएको थियो ।
मधेशबाट संघीय संसद्मा रहेका र त्यहाँबाट केन्द्रीय समितिमा रहेका नेतहरूसँग पनि कार्यदलले छलफल गरिसकेको छैन । प्रतिनिधि सभाका सांसद र मधेशबाट केन्द्रीय सदस्यहरूसँग पनि छलफल गरिसकेपछि विस्तृत प्रतिवेदन बुझाउने तयारी कार्यदलले गरेको छ ।
मधेशका जिल्लाहरू भ्रमण गरिसकेपछि पार्टीको सचिवालय बैठकमा सहमहामन्त्री ढकालले प्रारम्भिक प्रतिवेदन पेश गरेका थिए । कार्यदलले विस्तृत प्रतिवेदन प्रतिवेदन पेश गरेपछि थप रणनीति तय गर्ने सचिवालय बैठकले निर्णय गरेको छ ।
पार्टी सदस्यता र प्रतिनिधि विवादको विवाद हुँदा रास्वपाले मधेशका ७ जिल्लाको अधिवेशन नगरी केन्द्रीय महाधिवेशन गरेको थियो । मधेश प्रदेश समितिका लागि समेत अधिवेशन हुन सकेको छैन । मधेशका आठ जिल्लामा पर्सामा मात्रै नयाँ नेतृत्व आएको छ ।
अध्ययन कार्यदलको सुझाव प्रतिवेदन पेश भइनसकेको, सभापतिको भ्रमण अनिश्चित, चाडपर्व लगायतका कारणले रास्वपाको मधेशको अधिवेशन छिट्टै हुन नसक्ने नेताहरूको बुझाइ छ
मधेशको वस्तुस्थिति अध्ययन गरेर आएको टोलीले हालसम्म निचोड पेश गर्न नसक्दा बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीको अधिवेशनको अन्योलता कायमै छ । अर्कोतर्फ, अधिवेशनको वातावरण बनाउनका लागि सभापति रवि लामिछाने स्वयं मधेशका जिल्ला भ्रमण गर्ने तयारी पनि हालका लागि स्थगित गरिएको छ । ‘कुनै जिल्लामा समस्या कम छैन । एकै किसिमको जिल्ला समस्या छ,’ अग्रवालले भनिन् ।
महाधिवेशन अघि मधेशमा अधिवेशन हुन नसक्नुमा गुटबन्दी, नेताहरुले आफू अनुकूलको व्यक्तिलाई प्रश्रय दिनु, सांसदहरुको हस्तक्षेप, फरक फरक दलबाट आएका व्यक्तिहहरुको रास्वपामा प्रतिस्पर्धा लगायत कारण देखाइएको थियो ।
कार्यदलको सदस्य एवं सांसद पुनम अग्रवालले मधेशमा तत्कालै अधिवेशन हुने सम्भावना नरहेको जानकारी गराइन् । अग्रवालले अनलाइनखबरसँग भनिन्,‘प्रतिवेदन बुझाइसकेका छैनौं । विस्तृत प्रतिवेदन पेश गरेपछि मधेश संगठन र अधिवेशनको बारेमा पार्टीले निर्णय लिन्छ ।’
मधेशका जिल्लामा सांगठनिक अवस्था, तल्लो तहमा आन्तरिक किचलो लगायतको अध्ययन गरिसकेपछि स्थानीय तह चुनाव अघि अधिवेशन नगर्ने विकल्पमा पनि रास्वपामा छलफल सुरु भएको छ ।
कतिपय स्थानमा भइसकेको अधिवेशन समेत रद्ध गर्नुपर्ने राय समेत तल्लो तहबाट आएको छ । प्रदेशका रास्वपा सभापति तपेश्वर यादवले १३६ पालिकामध्ये १० देखि १५ वटा पालिकाको अधिवेशन हुन सकेको जानकारी केही दिन अघि अनलाइनखबरलाई दिएका थिए ।
कार्यदलको भ्रमण पछि अधिवेशन भइसकेका केही स्थानको अधिवेशन रद्ध गर्नुपर्ने निर्क्यौलमा कार्यदल पुगेको छ । महाधिवेशनको प्रतिनिधि बनाउने उद्धेश्यले आफूखुसी सदस्यता बाँड्ने र आफू अनुकूलका व्यक्तिलाई पार्टी संरचनामा स्थान दिइएको गुनासो कार्यकर्ताले कार्यदल सामू राखेका थिए ।
पालिका, जिल्ला र प्रदेश तहका संरचनामा रहेका पदाधिकारी माथि प्रश्न उठेको कार्यदल सदस्य अग्रवालले जानकारी गराइन् ।
‘टिमले बुझाएको अडिट रिपोर्ट अनुसार कारबाही पनि हुन्छ । सुधार्नु पर्ने ठाउँमा सुधार्ने काम हुन्छ,’ अग्रवालले भनिन्,‘कति ठाउँमा अधिवेशनहरू खारेज गर्नुपर्नेछ ।’
पार्टीको विधि उल्लंघन गरेर गरिएका अधिवेशन रद्ध गरी ती स्थानमा स्थानीय चुनावसम्म तदर्थ समिति गठन गर्नुपर्ने राय सुझाव पनि तल्लो तहबाट आएको छ ।
स्थानीय चुनावसम्म तदर्थ समिति मार्फत नै संगठन अघि बढाउन सकिने विकल्प पनि रहेको कार्यदल सदस्य अग्रवालले जानकारी गराइन् ।
मधेशमा पार्टीको आन्तरिक संगठनमा असर गर्नुमा आगामी स्थानीय तहको चुनावकेन्द्रित अपेक्षा पनि रहेको कार्यदलको बुझाई छ ।
पालिका, नगर, जिल्ला, प्रदेशको नेतृत्वमा रहेकै व्यक्तिले स्थानीय तहको उम्मेदवारको टिकट वितरण गर्ने बुझाई स्थानीय नेता कार्यकर्तामा रहेको छ ।
स्थानीय तहमा उम्मेदवार क्लब मार्फत उम्मेदवार छनोट गर्ने विधिबाट जानकारी गराउने कार्यदल सदस्य अग्रवाललले जानकारी गराइन् ।
रास्वपाले प्राइमरी इलेक्सन मार्फत व्यक्तिको क्षमता, सांगठिनक क्रियाशीलता, छवि, योग्यता, उम्मेदवार एकेडेमीको प्रस्तुति लगायतको मूल्यांकन गरेर मात्रै उम्मेदवार छनोट गरिने विधि बनाएको छ । गाउँपालिकाको उम्मेदवार हुन इच्छुकका लागि भदौ १ गतेदेखि आवेदन खुला गरिएको छ ।
अध्ययन कार्यदलको सुझाव प्रतिवेदन पेश भइनसकेको, सभापतिको भ्रमण अनिश्चित, चाडपर्व लगायतका कारणले रास्वपाको मधेशको अधिवेशन छिट्टै हुन नसक्ने नेताहरूको बुझाइ छ ।