। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले त्रिपुरेश्वरमा बसभित्रै चालकको आत्मदाहको घटनाले राज्यको सुरक्षा संयन्त्र र यातायात व्यवसायीको कार्यशैलीमाथि प्रश्न खडा गरेको बताएकी छिन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सचेतक धितालले चालक अर्जुन दोङको निधनप्रति दु:ख व्यक्त गर्दै प्रहरीको ‘पोलिसिङ’ शैली र चालकहरूको मनोसामाजिक स्वास्थ्यलाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
‘आत्महत्या वा आत्मदाहलाई महिमामण्डन गर्ने मेरो उद्देश्य होइन, तर यी दुई घटनाले हाम्रो सडक सुशासन र प्रहरीको व्यवहारमा सुधारको आवश्यकतालाई स्पष्ट संकेत गरेका छन् । बर्दी लगाएका राष्ट्रसेवकहरूप्रति उच्च सम्मान छ, तर सडकमा चालकसँग गरिने व्यवहार वा पोलिसिङ गर्ने शैलीमा कतै गम्भीर समस्या त छैन ? यदि तालिममा खोट छ भने त्यसलाई तत्काल बदल्नुपर्छ, अन्यथा यस्ता दु:खद् घटनाको सिलसिला रोकिने छैन,’ सचेतक धितालले भनिन् ।
सचेतक धितालले त्रिपुरेश्वर क्षेत्रमै यसअघि घटेको गणेश नेपालीको आत्मदाह र हालैको अर्जुन दोङको घटनाले सडक सुरक्षाको पाटोलाई थप संवेदनशील बनाएको बताइन् ।
‘हजारौं यात्रुको जीवन बोकेर हिँड्ने चालकहरूको आत्मसम्मान, तलब–सुविधा, कामको घण्टा र मानसिक स्वास्थ्यमा राज्यको ध्यान पुगेको छ त ? न्युन तलब र अपमानजनक व्यवहारले उनीहरूमा मानसिक विचलन आउनु स्वभाविक छ । केवल चालकलाई दोष थोपरेर समस्याको समाधान निस्कँदैन,’ धितालले भनिन् ।
मनोसामाजिक क्षेत्रकी विज्ञसमेत रहेकी धितालले चालकको जीवनमा जोडिएका आर्थिक र मानसिक पक्षलाई राज्य र व्यवसायीले बेवास्ता गर्दा यस्ता परिणाम आउन सक्नेतर्फ सचेत गराइन् ।