: चिनियाँ राष्ट्रपति सी जिनपिङ ११ वर्षको लामो अन्तरालपछि संयुक्त राज्य अमेरिकाको औपचारिक राजकीय भ्रमणका क्रममा आज वासिङ्टन पुग्दै छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा हुन लागेको यो उच्चस्तरीय भ्रमणलाई दुई मुलुकबिचको कुटनीतिक सम्बन्ध र रणनीतिक स्थिरतामा एक महत्त्वपूर्ण कोशेढुङ्गाका रूपमा हेरिएको छ।
अमेरिकी राष्ट्रपतिका लागि निर्धारित परम्परागत कुटनीतिक मर्यादा (प्रोटोकल) भन्दा माथि उठेर राष्ट्रपति ट्रम्प स्वयं वासिङ्टन नजिकैको ‘जोइन्ट बेस एन्ड्रयुज’ विमानस्थल पुगी समकक्षी सी जिनपिङलाई व्यक्तिगत रूपमा स्वागत गर्ने कार्यक्रम रहेको छ।
भ्रमणको दोस्रो दिन ह्वाइट हाउसको 'साउथ लन' मा चिनियाँ राष्ट्रपति सीलाई भव्य सैन्य सम्मानका साथ स्वागत गरिनेछ। त्यसलगत्तै दुई नेताबिच औपचारिक द्वपक्षीय वार्ता हुनेछ। साँझ राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले चिनियाँ राष्ट्रपति र उनका प्रतिनिधिमण्डलको सम्मानमा ह्वाइट हाउसको 'इस्ट रुम' मा राजकीय भोजको आयोजना गर्नेछन्। उक्त डिनरमा शीर्ष अमेरिकी प्रविधि कम्पनीका कार्यकारी प्रमुखहरूको समेत उपस्थिति रहनेछ।
द्विपक्षीय वार्तामा व्यापारिक शुल्क, प्रविधि तथा आर्टिफिसियल इन्टेलिजन्सको सुरक्षा मापदण्ड, ताइवान मामिला र दुर्लभ खनिज पदार्थको आपूर्ति जस्ता संवेदनशील विषयहरू मुख्य एजेन्डा रहनेछन्। अमेरिका र चीनबिच जारी व्यापारिक तनावलाई साम्य पार्न र ताइवान जलडमरूमा देखिएको सैन्य सरगर्मी कम गर्न दुवै पक्ष लचिलो भई ठोस सहमति जुटाउन प्रयासरत छन्।
राष्ट्रपति सी जिनपिङले यसअघि सन् २०१५ मा तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यकालमा अमेरिकाको राजकीय भ्रमण गरेका थिए।