: श्रम स्वीकृतिबिना कुवेत जान लागेका एक यात्रुलाई प्रस्थान अनुमति दिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका एक अधिकृतको जिम्मेवारी खोसिएको छ।
२०८३ असोज ५ गते श्रम भिसामा कुवेत प्रस्थान गर्न लागेका ती यात्रुलाई श्रम स्वीकृति नभएको अवस्थामा समेत प्रस्थान अनुमति दिइएको विषयमा प्रारम्भिक अनुसन्धान गर्दा अध्यागमन अधिकृतको संलग्नता हुन सक्ने देखिएपछि उनलाई जिम्मेवारीबाट अलग गरिएको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा विभागको नेपाली पोर्ट प्रणाली तथा सीसीटीभी फुटेजबाट ती यात्रु बिहान करिब ६:३० बजे अध्यागमन क्षेत्रमा प्रवेश गरेको देखिएको छ। श्रम स्वीकृति नभएको अवस्थामा पनि उनले अध्यागमन डेस्कमा करिब ३० मिनेटसम्म कुराकानी गरेको र तेस्रो व्यक्तिसँग सम्पर्क गरेको अनुसन्धानबाट खुलेको छ। त्यसपछि बिहान करिब ७:१० बजे उनलाई प्रस्थान अनुमति दिइएको थियो।
वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिसम्बन्धी प्रणालीबाट प्राप्त विवरणअनुसार ती यात्रुको श्रम स्वीकृति प्रक्रिया उडिसकेपछि मात्रै अगाडि बढाइएको देखिएको छ। यसबाट प्रस्थान अनुमति दिइएको समयमा उनको श्रम स्वीकृति प्रक्रिया पूरा नभएको प्रारम्भिक रूपमा देखिएको विभागले जनाएको छ।
अनुसन्धानका क्रममा ती यात्रु र जापानमा रहेका एक व्यक्तिबीच रकमसम्बन्धी कारोबार भएको तथा उक्त घटनामा विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत एक अधिकृतको संलग्नता हुन सक्ने देखिएको छ।
घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता हुन सक्ने देखिएकाले विस्तृत अनुसन्धान गरी आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा सिफारिस गरी पठाइएको विभागले जनाएको छ।