। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले असोज २१ गते प्रदेश अधिवेशन गर्ने भएको छ। पार्टी प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार सातै प्रदेशको अधिवेशन असोज २१ गतेका लागि तय भएको हो।
अहिलेसम्म ७२ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको उनको भनाइ छ। राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६-२८ गतेसम्म काठमाडौंमा हुँदैछ। जिल्ला अधिवेशन सम्पन्न भएसँगै प्रदेशको तयारी सुरु भएको उनले बताए।
‘भदौ मसान्तसम्म जिल्ला अधिवेशन सक्ने कार्यतालिका बनाइएको थियो।भदौ १० को बाढीले तालिका केही प्रभावित भयो। बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलाई असोज १५ गतेसम्म अधिवेशन गर्न समय दिइएको छ,’ उनले भने, ‘अधिवेशन गर्न बाँकी रहेका जुम्ला र धनकुटालाई पनि असोज १५ गतेसम्म अधिवेशन सक्न पार्टीले निर्देशन दिएको छ।’
त्यस्तै प्रदेश अधिवेशनका लागि निर्वाचन समितिले साथै प्रदेशमा निर्वाचनि प्रतिनिधि खटाइसकेको उनको भनाइ छ।
श्रेष्ठका अनुसार कोशीमा भरत पाठक, मधेशमा राजाराम श्रेष्ठ, बागमतीमा प्राडा जयन्तनाथ खनाल, गण्डकीमा अमृत पुडासैनी, लुम्बिनीमा तोरणबहादुर गुरूङ, कर्णालीमा रमानन्द न्यौपाने र सुदूरपश्चिममा श्यामबहादुर शाहीलाई केन्द्रीय निर्वाचन प्रतिनिधिको जिम्मेवारी दिइएको छ।
राप्रपाको विधानअनुसार प्रदेश अधिवेशनमा जिल्ला अध्यक्ष तथा जिल्ला कार्यसमितिले छनोट गरेका प्रतिनिधि, प्रतिनिधिसभा निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष तथा कार्यसमितिबाट छनोट भएका प्रतिनिधि र प्रदेशसभा निर्वाचन क्षेत्रका अध्यक्ष तथा कार्यसमितिबाट छनोट भएका प्रतिनिधि सहभागी हुनेछन्।
नगर तथा गाउँपालिका कार्यसमितिका अध्यक्षहरू पनि प्रदेश अधिवेशनका प्रतिनिधिका रूपमा सहभागी हुन पाउनेछन्। त्यस्तै केन्द्रीय महाधिवेशनका लागि असोज १५ गतेसम्म सक्रिय सदस्यताको आवेदन दिने र विवरण प्रविष्ट गर्ने समय तोकिएको छ।