। पाकिस्तानका अनुभवी अलराउन्डर इफ्तिखार अहमद नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा आबद्ध भएका छन् ।
जनकपुरले सामाजिक सञ्जालमार्फत ३६ वर्षीय इफ्तिखारलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको घोषणा गरेको हो । दायाँहाते ब्याटर इफ्तिखार अफस्पीन बलिङसमेत गर्ने अलराउन्डर हुन् ।
इफ्तिखारले पाकिस्तानका लागि ६६ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै ९९८ रन बनाएका छन् । समग्र टी–२० क्रिकेटमा उनले ३२९ खेलमा ६ हजार १९६ रन बनाउनुका साथै ९७ विकेट पनि लिएका छन् ।
उनले पाकिस्तान सुपर लिग (पीएसएल), लंका प्रिमियर लिग (एलपीएल), बंगलादेश प्रिमियर लिग (बीपीएल) र क्यारेबियन प्रिमियर लिग (सीपीएल) जस्ता प्रमुख फ्रेन्चाइज प्रतियोगितामा समेत खेलेका छन् ।
नेपालका समर्थकमाझ इफ्तिखार २०२३ को एसिया कपमा नेपालविरुद्ध प्रहार गरेको शतकका कारण विशेष परिचित छन् । उनले त्यही खेलमा पाकिस्तानलाई विशाल स्कोरतर्फ डोर्याएका थिए ।