: पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-३ शीतलबजार नजिक १३ दिनसम्म चट्टान हटाएर सडक विस्तार गरेपछि बुधबारदेखि सडक दुईतर्फी सञ्चालनमा आएको छ।
भदौ १० र १४ गते त्रिशूली नदीमा आएको बाढीका कारण शीतलबजार क्षेत्रमा सडक करिब चार मिटर कटानमा परेको थियो। सडकको भित्री भागतर्फ कडा चट्टानयुक्त भीर रहेकाले आवश्यक चौडाइ कायम गर्न कठिन भएपछि यस क्षेत्रमा केही दिनदेखि सडक एकतर्फी रूपमा सञ्चालन हुँदै आएको थियो।
सडक विस्तारका क्रममा रहेका ठूला तथा कडा चट्टान सडक विभागका मेसिन तथा उपकरणबाट हटाउन कठिन भएपछि विभागको अनुरोधमा नेपाली सेनाले ब्लास्टिङ गरेको हो। नेपाली सेनाको विकास निर्माण कार्यदल र कालीप्रसाद गण (इन्जिनियरिङ) का दक्ष प्राविधिकको समन्वयमा ठूला चट्टानलाई नियन्त्रित रूपमा विस्फोट गराएर हटाइएको हो।
विकास निर्माण कार्यदलका प्राविधिक प्रमुख सेनानी विनोद भट्टका अनुसार करिब २० मिटर अग्लो चट्टानयुक्त भीरमा आवश्यकताअनुसार दिनमा दुईदेखि तीन पटकसम्म ब्लास्टिङ गरी चट्टान हटाइएको थियो। १३ दिनसम्म काम गरेर सडकलाई आवश्यक चौडाइमा ल्याएपछि दुईतर्फी सवारी सञ्चालन गर्न सकिने बनाइएको उनले बताए।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार नेपाली सेना, सडक विभाग, गाउँपालिका लगायत सम्बन्धित निकायको समन्वयमा सडक विस्तार तथा चट्टान हटाउने काम सम्पन्न भएको हो। काम पूरा भएपछि बुधबारदेखि शीतलबजार खण्डमा दुईतर्फी सवारी सञ्चालनमा ल्याइएको उनले बताइन्।
सडक दुईतर्फी सञ्चालनमा आएपछि पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधनलाई सहज भएको छ। यसअघि एकतर्फी सञ्चालन हुँदा सवारीसाधनलाई पालो कुर्नुपर्ने अवस्था थियो। बाढीपहिरोबाट क्षतिग्रस्त पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक मर्मत, विस्तार तथा पुनःस्थापनाको काम जारी रहेको छ।