। नेपालमा विकसित न्युन चापीय प्रणालीका कारण आगामी केही दिन भारी वर्षाको सम्भावना बढेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. धनञ्जय रेग्मीले बाढी र पहिरोको जोखिमबारे गम्भीर सतर्कता अपनाउन आग्रह गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले घरमै बस्ने सूचना मात्र पर्याप्त नभई, पहिरोका पूर्वसंकेतहरू पहिचान गर्न नागरिकलाई सचेत गराउन सरकारको ध्यानाकर्षण गराए ।
सांसद रेग्मीले पहाडी क्षेत्रमा बसोवास गर्ने नागरिकहरूले आफ्नो घर वरपरको भू–धरातलप्रति विशेष निगरानी राख्नुपर्नेमा जोड दिएका छन् । साथै, उनले पहिरो जानुअघि जमिनमा देखिने असामान्य संकेतहरू जस्तै: जमिनमा नयाँ चिरा पर्नु, जमिन धसिनु, रुख वा बिजुलीका खम्बा अस्वाभाविक रूपमा ढल्किनु, घरको जगमा चिरा देखिनु वा पहिले नभएको स्थानबाट अचानक पानी निस्कनुजस्ता लक्षणप्रति सजग रहन आग्रह गरे ।
यस्ता संकेत देखिएमा जोखिमयुक्त घरमा नबसी समयमै सुरक्षित स्थानमा सर्न उनको सुझाव छ ।
विगतमा रातिको समयमा पहिरोले मानिस सुतिरहेकै अवस्थामा घर पुरिँदा ठूलो मानवीय क्षति भएका घटनाहरूलाई स्मरण गर्दै उनले सरकारसँग स्पष्ट माग गरे ।
‘सरकारले घर बाहिर ननिस्कन आग्रह गर्नु सकारात्मक छ, तर घर वरपरको जमिन कत्तिको सुरक्षित छ भन्ने कुराको जानकारी जनतालाई दिनु झनै जरुरी छ,’ उनले भने ।
बाढीको जोखिमलाई मात्र हेर्ने प्रवृत्तिभन्दा माथि उठेर पहिरोको पूर्वसंकेतलाई प्राथमिकताका साथ प्रचार–प्रसार गर्न उनले आग्रह गरेका हुन् ।
आगामी दिनमा एफएम रेडियो, टेलिभिजन, मोबाइल एप्स, कलरिङ ब्याक टोन र सामाजिक सञ्जालमार्फत पहिरोका पूर्वसंकेतबारे सरल भाषामा व्यापक जनचेतना फैलाउन उनले सरकारलाई आग्रह गरे । विपद् आएपछि उद्धारमा जुट्नुभन्दा सही सूचना समयमै जनताको घर–घरमा पुर्याएर ज्यान जोगाउनु नै प्रभावकारी विपद् व्यवस्थापन भएको उनको भनाइ छ ।