। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वभर युद्धको सङ्क्रमण फैलाइरहेको भन्दै यो सङ्क्रमण थप फैलिनुअघि नै उनलाई रोक्न नेटो सहयोगीहरूलाई आग्रह गरेका छन्।
सम्बोधनको क्रममा थकित देखिएका जेलेन्स्कीको बोली पनि केही अड्किएजस्तो सुनिन्थ्यो। रुसविरुद्ध युक्रेनले गरिरहेको रक्षात्मक युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहँदा उनी आफैँ पनि अझै युद्धकै कुरा गरिरहेकोमा विश्वास गर्न सकिरहेका थिएनन्।
तर, न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको महासभामा विश्वका नेताहरूलाई सम्बोधन गर्दै उनले नयाँ सन्देश दिए। उनले भ्लादिमिर पुटिनलाई ‘पेसेन्ट जिरो’ अर्थात् सङ्क्रमण सुरु गर्ने पहिलो व्यक्तिको सङ्ज्ञा दिँदै पुटिनले अफ्रिका, एसिया र विश्वभर युद्धको सङ्क्रमण फैलाइरहेको बताए।
‘पुटिन सधैँ यस्तो व्यक्तिको खोजीमा हुन्छन् जसले उनलाई अझ धेरै मानिस मार्न मद्दत गरोस्। आफ्नो देश आफैँ चलाएर बस्नुको सट्टा उनी हरेक किलोमिटर जमिनका लागि धेरै मानिस मार्न, थप भूभाग कब्जा गर्न र अर्को देशमाथि आक्रमण गर्न चाहन्छन्,’ युक्रेनी राष्ट्रपतिले भने, ‘के तपाईं युद्धविनाको पुटिनको कल्पना गर्न सक्नुहुन्छ? उनी ‘पेसेन्ट जिरो’ हुन्, जहाँबाट युद्धको यो विचार थप फैलिरहन्छ। पुटिनले जति धेरै स्वतन्त्रता पाउँछन्, विश्व अरू सबैका लागि त्यति नै खतरनाक बन्दै जान्छ।’
नेटोको चिन्ता र चिनियाँ राष्ट्रपति अनुपस्थित
नेटोका सदस्य राष्ट्रहरू साइबर आक्रमण, प्रोक्सी गुण्डाहरू, ड्रोन घुसपैठ र अति-दक्षिणपन्थी पार्टीहरूलाई दिइने राजनीतिक समर्थनजस्ता निरन्तरका हाइब्रिड आक्रमणहरूबाट त्रसित छन्। पछिल्लो समय पुटिनले नेटोको कुनै हिस्सा वा सीमान्त क्षेत्रमा आक्रमण गरेर यस शक्तिशाली सैन्य गठबन्धनको सङ्कल्पको परीक्षण गर्न सक्ने गुप्तचर चेतावनीहरू पनि आएका छन्।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न अमेरिकामै रहे पनि चिनियाँ राष्ट्रपति सी जिनपिङ महासभामा आफ्नो कुरा सुन्न उपस्थित नभएकोमा जेलेन्स्कीले खेद प्रकट गरे।
प्रविधि र हतियारका पार्टपुर्जाहरू निर्यात गरेर रुसको युद्धबाट फाइदा लिइरहेको र पुटिनको महत्त्वाकांक्षालाई बढावा दिन नगद उपलब्ध गराइरहेको बेइजिङप्रति विश्वले देखाएको आत्मसन्तुष्टिविरुद्ध उनले कडा चेतावनी दिए।
उत्तर कोरियामार्फत एसियामा सङ्क्रमणको जोखिम
जेलेन्स्कीले एसियाले उत्तर कोरियामार्फत ‘पेसेन्ट जिरो’ को सङ्क्रमणको जोखिम मोल्न नसक्ने बताए। उनले भने, ‘उनका (पुटिनका) कमरेड, उत्तर कोरियाका नेताले रुसी सेनाको कमजोर बिन्दुलाई समर्थन गर्न आफ्ना सैनिकहरू रुस पठाएका छन्। उत्तर कोरियालीहरूले पनि भारी नोक्सानी भोगेका छन्।’
जेलेन्स्कीले भने, ‘तपाईंले प्योङयाङबाट मारिएकाहरूलाई सम्मान गरिएको प्रसारण सायद देख्नुभयो होला। यो पनि पागलपन हो। युक्रेनविरुद्धको युद्धमा कोरियालीहरूले किन आफ्नो ज्यान गुमाउने?’
‘किम जोङ-उनले उनीहरूलाई मुद्रा जस्तै प्रयोग गर्छन् र बदलामा केही प्राप्त गर्छन्। र, उत्तर कोरियाका छिमेकीहरू र एसियाका देशहरूले उसको सुधारिएको ब्यालेस्टिक मिसाइल र प्योङयाङको बढ्दो ड्रोन क्षमतालाई पक्कै याद गरिसकेका छन्,’ जेलेन्स्कीले भने।
किम जोङ-उनले आणविक हतियार बोक्न सक्ने राम्रो मिसाइल र रुसी ड्रोन प्रविधि प्राप्त गरेमा चीन पनि सशङ्कित हुन सक्ने सङ्केत जेलेन्स्कीले गरे।
ईयूको आलोचना र रुसको भारी नोक्सानी
दुई रुसी धनाढ्यमाथिको प्रतिबन्ध हटाउने युरोपेली संघको हालैको निर्णयप्रति जेलेन्स्कीले कडा आलोचना गरे। उनले यसले ‘धनी रुसीहरूका लागि जीवन अझ सहज बनाउने’ र ‘पुटिनलाई गरिब मानिसहरूलाई किल जोन अर्थात् मारिने क्षेत्रमा पठाउन थप समय दिने’ बताए।
पछिल्लो आठ महिनामा रुसले २ लाख ४८ हजार सैनिक (मृतक र गम्भीर घाइते) गुमाएको र युक्रेनसँग यसलाई प्रमाणित गर्ने ड्रोन भिडियो प्रमाण रहेको उनले दाबी गरे। सन् २०२२ फेब्रुअरीको पूर्ण स्तरको आक्रमणयता रुसले भोगेको ठूलो नोक्सानीलाई औँल्याउँदै जेलेन्स्कीले बाहिरी विश्वले यसप्रति देखाएको सीमित प्रतिक्रियाका लागि दोषी महसुस गर्नुपर्ने बताए।
युक्रेनसँग छ ‘उपचार’
विगतमा उनले रुससँग लडिरहेको कमजोर राष्ट्रको नेताका रूपमा लामो ताली र ‘स्ट्यान्डिङ ओभेसन’ पाउने गर्थे। तर यसपटक उनको प्रस्तुति फरक थियो। उनले भने- हामीसँग ‘पेसेन्ट जिरो’ को जवाफ छ, सायद यसको उपचार नै छ।
युक्रेनलाई पक्कै पनि मद्दत चाहिन्छ, तर उनले आफ्नो देशलाई ‘स्टार्टअप योद्धाहरू’ को राष्ट्रको रूपमा चिनाए, जसले अहिले आधुनिक युद्ध प्रविधिमा विश्वको नेतृत्व गरिरहेको छ।
युक्रेनले बेलायत, क्यानडा, फ्रान्स र जर्मनीसहित १० देशसँग मिलेर ‘फ्रेया’ नामक मिसाइल कार्यक्रम विकास गरिरहेको छ। यसमा पोल्यान्डलाई पनि सामेल हुन आमन्त्रण गरिएको छ।
‘युक्रेनले आफ्नो सुरक्षालाई यसरी निर्माण गरिरहेको छ कि हामी सुरक्षाको वास्तविक प्रदायकको रूपमा आफ्नो भूमिका सुदृढ गर्न सकौँ। हामी अरूलाई पनि त्यस्तो सुरक्षा प्राप्त गर्न मद्दत गर्न सक्छौँ, जसले हाम्रा लागि काम गरिसकेको छ र जसले विश्वमा युद्ध सुरु गर्ने र फैलाउने ठाउँलाई साँच्चै कम गर्न सक्छ,’ उनले जोड दिए।
(एजेन्सीहरूको सहयोगमा)