। मेटाका सीईओ मार्क जुकरबर्गले आफ्ना प्रतिस्पर्धी कम्पनी एप्पलमाथि कटाक्ष गर्दै ‘म्युज चार्म’ नामको नयाँ एआई डिभाइस सार्वजनिक गरेका छन्। स्टिभ जब्सको शैलीमा आयोजित मेटाको वार्षिक ‘मेटा कनेक्ट’ सम्मेलनमा पकेट वाच आकारको यो नयाँ ग्याजेट प्रस्तुत गरिएको हो । जसले मेटाको भाइरल एआई एजेन्ट ‘म्युज’लाई भौतिक रूपमा मानिसको हातसम्म पुर्याउनेछ।
ग्याजेटको मद्दतले प्रयोगकर्ताहरूले स्मार्टफोनका एआई एपहरू प्रयोग नगरी सीधा ‘म्युज’ एआई प्रणालीमा पहुँच पाउन सक्नेछन्। लामो समयदेखि एप्पल र गुगलका अपरेटिङ सिस्टममाथिको निर्भरता हटाउन खोजिरहेको मेटाका लागि यो डिभाइस एउटा नयाँ मोड मानिएको छ।
सन् २०२१ मा कम्पनीको नाम परिवर्तन गर्दा जुकरबर्गले भर्चुअल दुनियाँ अर्थात् ‘मेटाभर्स’ लाई नै भविष्यको प्रविधि भन्दै ठूलो लगानी गरेका थिए। तर, सो प्रयास सोचेजस्तो सफल हुन नसकेपछि मेटाले आफ्नो ध्यान ‘पर्सनल सुपरइन्टेलिजेन्स’ (Personal Superintelligence) तर्फ मोडेको छ।
सम्मेलनमा बोल्दै जुकरबर्गले भने, “व्यक्तिगत सुपरइन्टेलिजेन्स पहिलो पटक आउने मात्र नभई यो अझ ठूलो र महत्त्वपूर्ण हुने कुरा अब स्पष्ट भइसकेको छ। त्यसैले हामीले व्यक्तिगत सुपरइन्टेलिजेन्सका लागि उत्कृष्ट डिभाइसहरू निर्माणमा ध्यान केन्द्रित गरेका छौँ।” उनले यो एआई प्रविधि चाँडै नै मेटाका स्मार्ट चश्माहरूमा पनि उपलब्ध हुने जानकारी दिए।
मेटाको ‘म्युज’ एआई एप सार्वजनिक भएलगत्तै लाखौँ पटक डाउनलोड भइसकेको छ। सन् २०२२ को नोभेम्बरमा च्याटजीपीटी आएपछिको यो अमेरिकामा सबैभन्दा ठूलो एप लन्च भएको विश्लेषकहरूले बताएका छन्। हवाई टिकट बुक गर्नेदेखि कर चुक्ता गर्नेसम्मका काम स्वचालित रूपमा गर्न सक्ने ‘म्युज’को क्षमताले गर्दा लगानीकर्ताहरू उत्साहित बनेका छन्। यसबाट मेटाका साझेदार कम्पनी जस्तै ‘सोपिफाई’ को सेयर मूल्यमा वृद्धि भएको छ ।’बुकिङ डटकम’ र ‘इन्ट्युट’ जस्ता कम्पनीहरू जोखिममा परेका छन्।
लगानीकर्ताको उत्साहका कारण यो साता मेटाको सेयर १२ प्रतिशतसम्म बढेको थियो । बिहीबारको कारोबारमा भने करिब २ प्रतिशतको गिरावट देखिएको छ।
जेन जी युवाहरूमा आकर्षण, तर आम प्रयोगमा चुनौती
विश्लेषकहरूका अनुसार ‘म्युज चार्म’ डिभाइसले युवा वर्ग अर्थात् ‘जेन जी’ (१४ देखि २९ वर्ष उमेर समूह) लाई बढी आकर्षित गर्नसक्छ। यो पुस्ताका मानिसहरू एआईलाई केवल खोजी गर्ने औजार मात्र नभई एक साथी वा सहयोगीका रूपमा लिन्छन्।
स्मार्ट एनालिटिक्स ग्लोबलका संस्थापक लिन्डा सुईले भनिन्, “म्युज चार्मले जेन जी र युवा उपभोक्ताहरूमा राम्रो पकड जमाउन सक्छ। एआई, फेसन र व्यक्तिगत पहिचानको यो सङ्गम साना उमेरका प्रयोगकर्ताका लागि निकै आकर्षक हुनसक्छ, यदि यो किफायती र प्रयोग गर्न सजिलो भयो भने।”
यो डिभाइसमा २ इन्चको सानो स्क्रिन रहेको छ, जसलाई बूढाऔँलाले सजिलै चलाउन सकिन्छ। यसमा ५जी मोडेम जोडिएकाले वाई-फाई बिना पनि म्युज एआई प्रयोग गर्न सकिन्छ । तर यसबाट फोन कल भने गर्न मिल्दैन।
आईडीसीका निर्देशक जितेश उब्रानीले मानिसहरूलाई यो डिभाइसले १९९० को दशकमा भाइरल भएको ‘तामागोची’ नामक भर्चुअल पेटको सम्झना दिलाउने बताए। उनले भने, “चश्मा लगाउन नचाहने वा चश्मामाथि विश्वास नगर्ने मानिसहरूका लागि यो एउटा राम्रो विकल्प हुनसक्छ।”
तर, यस्ता साना एआई डिभाइसहरू बजारमा कत्तिको सफल होलान् भन्नेमा विश्लेषकहरू सशङ्कित छन्। सन् २०२४ को सुरुमा ‘र्याबिट’ कम्पनीले ल्याएको ‘र्याबिट आर१’ नामको एआई डिभाइस सुरुमा निकै चर्चामा आए पनि पछि विश्वसनीयताको कमीका कारण असफल भएको थियो।
विश्लेषक सुईले थपिन्, “म यसको आम-बजार सम्भावनाबारे सतर्क हुन सुझाव दिन्छु। जबसम्म म्युज चार्मले स्मार्टफोन, स्मार्टवाच वा स्मार्ट चश्माले गर्न नसक्ने अनौठा सुविधाहरू दिन सक्दैन, तबसम्म यो आम मानिसको मुख्य रोजाइ बन्नुको साटो प्रविधिमा रुचि राख्ने थोरै मानिसहरूमा मात्र सीमित हुनेछ।”