: निरन्तर वर्षासँगै आएको बाढी–पहिरोले देशभर जनजीवन प्रभावित भएको छ । पूर्वको पाँचथरदेखि सुदूरपश्चिमको डोटीसम्म सडक अवरुद्ध, नदीमा उच्च बहाव, राजमार्ग क्षतिग्रस्त र हवाई उडान प्रभावित बनेका छन् । पछिल्लो अवस्थाले देशका दर्जनौं जिल्लामा विपद् जोखिम उच्च रहेको देखाएको छ ।
पाँचथर, इलाम र ताप्लेजुङ क्षेत्रमा खोलानाला बढेसँगै बाढीको जोखिम बढेको छ । स्थानीय प्रशासनले तटीय बस्तीलाई सतर्क रहन आग्रह गरेको छ । झापा, मोरङ र सुनसरीतर्फ तराई क्षेत्रमा पानी जम्ने र नदीमा बहाव बढ्ने अवस्था देखिएको छ। उदयपुरमा पनि वर्षासँगै खोलानालामा बहाव बढ्दा जोखिम बढेको छ । पूर्वी पहाडी जिल्लाबाट तराई जोड्ने सडकहरू ठाउँ–ठाउँमा पहिरोका कारण प्रभावित बनेका छन् ।
ओखलढुंगाको सिद्धिचरण राजमार्गअन्तर्गत हर्कपुरस्थित भण्डारे खोलामा आएको बाढी र गेग्रानका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यसले सोलुखुम्बु र खोटाङ जाने सवारी रोकिएका छन्, सडक खुलाउने प्रयास जारी छ ।
काठमाडौं उपत्यकामा नदीहरूमा जलसतह बढेको छ। हनुमन्ते नदीमा सतर्कता तह पार गरेपछि उच्च सतर्कता अपनाउन भनिएको छ । नदी किनार क्षेत्रमा आवतजावतमा रोक लगाइएको छ । मौसम प्रतिकूल हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा केही अन्तर्राष्ट्रिय उडान समेत प्रभावित भएका छन् ।
गण्डकी प्रदेशमा पहिरोले मुख्य राजमार्गहरू प्रभावित बनेका छन्। नारायणगढ–मुग्लिन सडकखण्डमा चार ठाउँमा पहिरो खसेको छ भने पृथ्वी राजमार्गको केही भाग बगाउँदा यातायात अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर समेत विभिन्न स्थानमा अवरुद्ध भएको छ । पहिरो र ढुंगा खस्ने क्रम जारी रहेकाले यात्रा जोखिमपूर्ण बनेको छ ।
मधेश प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा नदीको बहाव बढ्ने र डुबानको जोखिम देखिएको छ । स्थानीय प्रशासनले नदी किनार र होचा भूभागमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरूमा वर्षासँगै पहिरो खस्ने क्रम बढेको छ । पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान र रोल्पा क्षेत्रमा सडक अवरुद्ध हुने घटनाहरू बढेका छन् । तराईका रूपन्देही, कपिलवस्तु र बाँके क्षेत्रमा पानी जम्ने र डुबानको जोखिम बढेको छ ।
कर्णाली प्रदेशका जाजरकोट, दैलेख, सुर्खेत लगायत क्षेत्रमा पहिरो र बाढीको जोखिम बढेको छ । सुदूरपश्चिमका डोटी, अछाम, कैलाली र कञ्चनपुरमा खोलानाला उर्लिँदा तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन भनिएको छ । डोटीमा स्थानीय खोला–नदीमा बहाव बढ्दा आवागमन प्रभावित भएको छ ।
काठमाडौंसहित देशभरि प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालय अनुसार आज कतिपय विमानस्थलमा भिजिविलिटीको समस्या छ । तुम्लिङटार, भरतपुर र पोखरा विमानस्थलका उडानहरू प्रभावित भएका छन् । तुम्लिङटारमा बुद्ध एयरको निर्धारित उडान रद्द भएको छ । भरतपुरका लागि बुद्ध एयरका मात्र तीन उडान रद्द भइसकेका छन् ।
भारी वर्षाका कारण देशका कम्तीमा २८ जिल्लामा प्रभाव परेको प्रारम्भिक विवरणहरू देखिएको छ ।यसअघि अगस्ट अन्त्यतिर आएको भीषण बाढीले हजारौं जनधन क्षति पुर्याएको र देशभर पूर्वाधारमा ठूलो क्षति भएको थियो ।जल तथा मौसम विभागले अझै देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । नदी तटीय क्षेत्र, पहिरो जोखिम भएका बस्ती र राजमार्ग प्रयोग गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।