: नेपाली सेनाको धादिङको गजुरी गाउँपालिका–१ गजुरी बजारस्थित भैरव गणमा सञ्चालित नौ महिने सैन्य आधार तालिम पूरा गरेका १ सय २ जना सैन्य दीक्षित भएका छन्।
शुक्रबार आयोजित दीक्षान्त समारोहमा श्री मध्य पृतना हेडक्वाटरका चिफ अफ स्टाफ सहायक रथी सुनिल सिंह राठौरले प्रमुख अतिथिका रूपमा तालिम पूरा गरेका सैन्यलाई सिपाही दर्जामा दीक्षित तथा सुशोभित गराएका हुन्। नौ महिने तालिम पूरा गरेसँगै उनीहरू नेपाली सेनामा सिपाहीका रूपमा प्रवेश गरेका छन्। तालिमतर्फ सैन्य विनोद गुरुङ उत्कृष्ट शिक्षार्थी घोषित भएका छन्।
समारोहलाई सम्बोधन गर्दै सहायक रथी राठौरले दीक्षित सैनिकहरूमाथि राष्ट्र, जनता र नेपाली सेनाप्रतिको जिम्मेवारी थपिएको बताए। उनले ‘माटोले माग्दैन, आफैंले दिनुपर्छ’ भन्ने यथार्थलाई मनन गर्दै आगामी दिनमा नेपाली सेनाको छवि उच्च राख्न सैनिक मूल्य(मान्यता, कर्तव्यपरायणता, इमानदारी र साहसलाई आत्मसात् गर्न आग्रह गरे। उनले सैनिकहरूलाई पेसाप्रति वफादार, अनुशासित र कर्तव्यनिष्ठ हुँदै आफ्नो क्षमता तथा कार्यकौशल प्रदर्शन गर्नसमेत आग्रह गरे।
समारोहमा श्री भैरव गणका अधिकृत, पदिक तथा सकल दर्जाका सैनिकसँगै दीक्षित सैनिकका परिवारका सदस्यहरूको समेत सहभागिता रहेको गणपति प्रमुख सेनानी सुदीप शाहले जानकारी दिए।