। अविरल वर्षापछि सर्लाहीको मलंगवास्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन डुबानमा परेपछि १० स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
नेपाल विद्युत् प्राधिकरण, मलंगवा वितरण शाखाका अनुसार आज बिहान करिब ४ बजेदेखि सबस्टेसनबाट आपूर्ति हुने क्षेत्रमा विद्युत् सेवा बन्द भएको हो ।
लगातारको वर्षाका कारण सबस्टेसनको स्विचयार्ड र कन्ट्रोल रुममा पानी पसेपछि विद्युत् आपूर्ति रोक्नुपरेको प्राविधिक इन्जिनियर सौरभ साहले बताए ।
उनका अनुसार सबस्टेसन क्षेत्र अझै जलमग्न रहेकाले तत्काल विद्युत् सेवा सञ्चालन गर्न सकिने अवस्था छैन । मोटर पम्पमार्फत पानी निकाल्ने काम भइरहेको छ । पानीको सतह घटेपछि प्राविधिक परीक्षण गरेर मात्र विद्युत् आपूर्ति पुन: सञ्चालन गरिने उनले जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरण, मलंगवा वितरण शाखाका प्रमुख माधवेन्द्र यादवले पानी निकासको काम तीव्र रूपमा भइरहेको बताए । उनका अनुसार सबस्टेसन परिसरको पर्खालमा प्वाल पारेर पानी बाहिर निकाल्ने प्रयास गरिएको छ । बाहिरी नाला जाम भएकाले पानी निकासमा केही समस्या भएको उनले बताए ।
‘कन्ट्रोल रुमबाट पानी हटाइसकिएको छ । अहिले पंखा चलाएर उपकरण सुकाउने काम भइरहेको छ’, यादवले भने, ‘प्राविधिक परीक्षण गरेर अबको दुईदेखि तीन घण्टाभित्र विद्युत् सेवा पुन: सुचारु हुन सक्छ ।’
विद्युत् सेवा अवरुद्ध भएपछि मलंगवासहित १० स्थानीय तहका उपभोक्ता प्रभावित भएका छन् । प्राधिकरणले पानीको निकास र प्राविधिक परीक्षणपछि सेवा पुन: सञ्चालन गर्ने जनाएको छ ।