— केही दिनयता परेको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण देशका मुख्य राजमार्गमा ठूलो क्षति भएको छ । यससँगै विभिन्न जिल्लाका मुख्य राजमार्गसँग सिधा सडक सम्पर्क टुटेको छ । लमजुङ–मनाङ, पर्वत–बागलुङ र म्याग्दी–मुस्ताङबीचको सडक सम्पर्क टुटेको हो । यस खण्डमा पर्ने पुल जोड्ने पहुँच सडक बगाउँदा सवारी आवागमन ठप्प बनेको छ । पहुँच सडक बनाएर सवारी चलाउन अझै केही दिन लाग्ने सडक विभागले जनाएको छ ।
पर्वत–बागलुङ जोड्ने मालढुंगाको पक्की पुल तत्काल सञ्चालनमा ल्याउन कालीगण्डकी नदीको बहाव घट्नुपर्ने सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरिप्रसाद सुवेदीले बताए । ‘तल नदीबाट ग्याबिन राखेर अस्थायी रूपमा सवारी चलाउने तयारीमा छौं,’ प्रमुख सुवेदीले भने, ‘स्थायी संरचना पछि नै बनाउँछौं, यसका लागि बाढी निकै घट्नुपर्छ ।’ पर्वततर्फको खण्डमा करिब १० मिटर लम्बाइमा पहुँच सडक बाढीले बगाएको उनले जनाए । ‘अहिले पर्वत र बागलुङ सदरमुकाम जोड्ने सडक सम्पर्क टुटेको छ,’ उनले भने, ‘तत्काल यातायात चलाउने गरी काम गर्छौं, दसैंअघि सहज बनाइसक्छौं ।’
पोखरा–बागलुङ सडकअन्तर्गत पर्वतको सहस्रधारामा बाढीले सडक बगाएर सवारी आवागमन ठप्प बनेको सडक डिभिजन कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीको भनाइ छ । ‘बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पोखरेबगर र नौलीबगर जोड्ने पक्की पुल जोड्ने पहुँच सडक कालीगण्डकी नदीको बाढीले बगाएको छ,’ उनले भने, ‘पर्वतको सहस्रधारा खण्डमा पनि डेढ सय मिटर सडक बाढीले बगाएको छ, जहाँ मान्छे हिँड्ने बाटो पनि छैन ।’ यो पटकको बाढीमा धेरै ठाउँमा पानीको सतह पुलमाथि नै आएको उनले सुनाए ।
‘प्रायः सय वर्षभित्र आउन सक्ने बाढीलाई दृष्टिगत गर्दै पुलको डिजाइन गर्छौं,’ अधिकारीले भने, ‘अब अहिलेको भन्दा पनि ठूला बाढीलाई आकलन गरेर पुलको डिजाइन गर्नुपर्ने देखियो ।’ दसैंअघि नै सडक र पुलबाट सवारी आवागमन सहज बनाउने गरी काम गर्ने उनको भनाइ छ ।
लमजुङ–मनाङ जोड्ने सडक सम्पर्क पनि बाढीले टुटाएको डुम्रे–बेंसीसहर–चामे सडक योजना, कार्यालय लमजुङका योजना प्रमुख सतीश सुवेदीले बताए । ‘चामेमा ३ वटा काठका अस्थायी पुल बाढीले बगाएको छ, तीबाट गाडी नै चल्थे,’ उनले भने, ‘बगरछापमा ६० मिटर सडक बगाएको छ, खोत्रोमा पहिरो खसेर
सडक ठप्प बनेको छ, रामबजारमा ५० मिटर नदीले कटान गर्दा सडक भासिएको छ ।’ लमजुङमा पर्ने रामबजारदेखि माथि जान सक्ने अवस्था नभएको उनको भनाइ छ । अहिले यस सडकमा सवारी सञ्चालनको अवस्था नभएको सुवेदीले जानकारी दिए ।
‘रामबजार लमजुङ सदरमुकाम बेंसीसहरदेखि २० किलोमिटर दूरीमा पर्छ,’ सुवेदीले भने, ‘रामबजारबाट १५ किमि दूरीमा रहेको म्यार्दी लमजुङ–मनाङको सीमा क्षेत्रमा पर्छ ।’ सोमबारबाटै सडक सहज बनाउने काम सुरु गरिने पनि उनले बताए । ‘पानी रोकिएपछि सडक खुलाउन एक/दुई दिन अझै लाग्छ,’ उनले भने, ‘चाडबाड आउँदै छ, यो बेला मनाङ, लमजुङका पर्यटकीय गन्तव्यमा जानेहरू धेरै हुनुहुन्छ, त्यो बेलासम्म सडक सहज भइसक्छ ।’
नागढुंगादेखि मुग्लिनसम्म एकतर्फी रूपमा सडक खोलिसकिएको विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर सुरेश पौडेलको भनाइ छ । ‘अहिले एकतर्फी सडक खुलिसकेको छ, दुईतर्फी खोल्न समय लाग्छ,’ उनले भने, ‘पानी परेन भने मात्र दुईतर्फी रूपमै खोल्न सकिन्छ ।’ कृष्णभीर खण्डमा जोखिम कायमै रहेकाले पानी रोकिएपछि एक पटक राम्रोसँग हेरेर मात्र सवारी चलाइने उनले सुनाए ।
पहिरोको जोखिम रहेका क्षेत्रमा शीतलबजार, गोमती खोला, कृष्णभीर, ज्यामिरेघाट, चौकीभीर, हुग्दी खोलादेखि जवाङ खोला, फिस्लिङ, चुम्लिङटार, धारापानी, घोप्टेभीर र सिमलधारा छन् । यस खण्डमा कतै सडक भासिएका र कतै पहिरो खसेर सवारी आवागमन प्रभावित बन्दै आएको छ । ‘अहिले हामीले पहिरोले अवरुद्ध बनेको, भासिएको खण्डमा काम गरेर सडक सञ्चालन गर्न खोजिरहेका छौं,’ पौडेलले भने, ‘चाडबाडलक्षित छुट्टै योजना ल्याएर सडक सहज बनाउने काम गर्छौं ।’ यो काम केही समयभित्रै सुरु गरिने पनि उनले प्रस्ट्याए ।
यस्तै असोज २०८१ को बाढीले ३०.५ किलोमिटरमा क्षति पुर्याएको बीपी राजमार्गमा अहिले सवारी आवागमन ठप्प छ । शुक्रबारबाट यो मार्गमा सवारी आवागमनमा रोक लगाइएको छ । रोशी खोलामा अस्थायी डाइभर्सन बनाएर उक्त खण्डमा सवारी सञ्चालन गरिएको थियो । जहाँ स्थायी सडक निर्माण पनि जारी छ । अहिले उक्त राजमार्गको माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेंसी, कटुन्जे, चौकीडाँडा खण्डको अस्थायी डाइभर्सन बाढीले बगाएको छ ।
चौकीडाँडा खण्डको पहिरो सफा गरेर अस्थायी डाइभर्सन बनाएको भए पनि बाढीले बगाइसकेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले बताए । ‘आइतबार सडक खुलाउन सकिएन, अझै बाढी घटेको छैन,’ उनले भने, ‘पानी परिरहे समस्या हुन्छ, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले निर्माणको जिम्मा लिएको खण्डमा डाइभर्सन बनाएर मंगलबारबाट मात्र सवारी खुलाउन सकिन्छ ।’
शनिबार बिहान कम पानी परेको भए पनि साँझबाट एकोहोरो परेपछि राजमार्ग खुलाउन समस्या भएको उनले सुनाए । ‘अहिले समस्या छ, केही दिनमा समाधान हुन्छ,’ उनले भने, ‘दसैंलाई खासै असर गर्दैन, त्यो बेलासम्म सडक सहज भइसक्छ ।’
३०.५ किमिमध्ये जाइकाले बनाउने भनिएको पिप्ले–बर्खेखोला खण्डको ३.२ किमिमा काम हुन सकेको छैन । जापानको २ अर्ब ६० करोड रुपैयाँ अनुदानमा मंसिर २०८४ भित्र निर्माण सक्ने गरी उक्त खण्ड ठेक्का भएको हो ।
बीपी राजमार्गले पूर्वी तराईलाई जोड्छ । अघिपछि यो मार्ग भएर दिनहुँ ४ देखि ५ हजार हाराहारी सवारी ओहोरदोहोर गर्छन् । दसैंमा ९ देखि १० हजार सवारी चल्ने भएकाले यो चापलाई ध्यानमा राखेर सडक सहज बनाइने सडक डिभिजन भक्तपुरको दाबी छ ।
बाढी र पहिरोले समस्या पुर्याएका विभिन्न सडक खण्डमा पहिरो पन्छाएर सवारी खुलाउने काम भइरहेको सडक विभागका महानिर्देशक विजय जैसीले जनाए । ‘सबै ठाउँमा पुल बाढीले बगाएको छैन तर पुल जोड्ने पहुँच सडक बगेका छन्,’ उनले भने, ‘मुस्ताङ र मनाङ जाने सडक सम्पर्क टुटेको छ, दसैंका बेला यो क्षेत्र जाने धेरै हुन्छन्, दसैंअघि नै बाढीले क्षति गरेका सडक र पुल बनाइसक्छौं ।’
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मिचौर जोड्ने पक्की पुल कालीगण्डकी नदीमा आएको बाढीले बगाएको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका चरणमा २०५३ सालमा करिब ५० मिटरको पक्की पुल निर्माण गरिएको थियो । पुल बगेसँगै दुई जिल्लाको ग्रामीण क्षेत्रको सम्पर्क टुटेको छ ।
बाढीपहिरोले नारायणगढ–मुग्लिन, नारायणगढ–बुटवल सडक, कान्ति राजमार्ग, सिद्धिचरण राजमार्ग, कालीगण्डकी करिडोर, बागलुङ–बेनी सडक, तमोर करिडोर (मूलघाट–फिदिम), राप्ती राजमार्ग, कर्णाली राजमार्ग र भालुवाङ–चकचके–लिवाङ सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेर सवारी आवागमन प्रभावित बनेको सडक विभागले जनाएको छ ।