। प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
सडक डिभिजन कार्यालय जुम्लाको सिफारिसमा शंकरमाली निर्माण सेवा काठमाडौं, मान शाही निर्माण सेवा कालिकोट र कश्यप निर्माण सेवा एण्ड सप्लायर्स कालोसूचीमा परेका हुन् ।
दानबहादुर कार्की मुख्य व्यक्ति रहेको शंकरमाली निर्माण सेवालाई र सूर्यबहादुर शाही मुख्य व्यक्ति रहेको मान शाही निर्माण सेवालाई तीन/तीन वर्षका लागि कालोसूचीमा राखिएको छ ।
यसैगरी माधव घिमिरे र हरिप्रसाद घिमिरे मुख्य व्यक्ति रहेका कश्यप निर्माण सेवा एण्ड सप्लायर्सलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ ।
यही असोज १४ गतेको निर्णयबाट ती कम्पनीहरुलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमनको कार्यालय केशरमहलले आज जारी गरेको सूचनामा उल्लेख छ ।
सूचनामा लेखिएअनुसार कालोसूचीमा परेकाहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन् ।
जिम्मा लिएको काम सन्तोषजनक नहुँदा र पटकपटकको म्याद थप तथा ताकेताबाट पनि काममा प्रगति नहुँदा कालोसूचीमा राख्ने गरिएको कार्यालयले जनाएको छ ।