। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहको कार्यशैली र संसदीय मर्यादाको उल्लंघन गरेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा उनले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकारमा शासन गर्ने कौशल र संस्थागत लोकतान्त्रिक संस्कारको अभाव देखिएको भन्दै प्रधानमन्त्रीको दम्भ र संसदप्रतिको गैरजिम्मेवार व्यवहारले लोकतन्त्र नै कमजोर हुने चेतावनी समेत दिए ।
‘सरकारसँग मेरा केही संक्षिप्त प्रश्न र सुझाव छन् । सरकारसँग स्पष्ट बहुमत छ, तर बहुमतसँगै शासनको कौशल, संवाद, समन्वय, निर्णय क्षमता र परिणाम पनि देखिनुपर्छ। संसद सरकारको प्रतिस्पर्धी होइन, लोकतन्त्रको साझा संस्था हो । त्यसैले संसद्, प्रतिपक्ष र जनताका प्रश्नलाई सरकारले सम्मान गर्नुपर्छ,’ उनले भने ।
सदनलाई सम्बोधन गर्दै आङदेम्बेले सरकार बहुमतको उन्मादमा सिमित राजनीतिक घेराभित्र मात्रै केन्द्रित हुन खोजेको आरोप आङ्देम्बेले लगाए । सरकारलाई लोकतन्त्रका आधारभूत स्तम्भहरू, संवैधानिक निकाय र नागरिक समाजलाई साथमा लिएर अघि बढ्न सुझाव दिए ।
‘प्रधानमन्त्रीज्यू संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनु स्वाभाविक र आवश्यक हो । तर जलवायु परिवर्तनसँगै प्रविधि, कृत्रिम बुद्धिमत्ता, डिजिटल विभाजन, वित्तीय संरचना सुधार र नेपालको भू–राजनीतिक सम्भावनाजस्ता विषय पनि प्रभावकारी रूपमा उठाउन आवश्यक थियो । आगामी कोप सम्मेलनमा जलवायु, हानि–क्षति र नेपालको हितका विषयलाई प्राथमिकताका साथ उठाउन आग्रह गर्दछु,’ उनले भने ।
संसद् सरकारको प्रतिष्पर्धी नभई लोकतन्त्रको साझा मञ्च भएको स्मरण गराउँदै उनले सरकार जबाफदेही बन्नुपर्नेमा जोड दिए । प्रधानमन्त्रीको हालैको संयुक्त राष्ट्रसंघीय महासभा भ्रमणको विषयमा उनले प्रश्न गरे ।
महासभा जानुअघि संसदलाई जानकारी नदिइनु र फर्केपछि पनि त्यहाँ भएका गतिविधिबारे सदनलाई अनभिज्ञ राख्नु संसदीय परम्पराको उपहास भएको उनको भनाइ छ ।
‘संसद चलिरहँदा प्रधानमन्त्रीको अनुपस्थिति र संसदप्रतिको उदासीनता उचित संसदीय अभ्यास होइन । संसद् सरकारको पनि हो, प्रतिपक्षको पनि हो र जनताको पनि हो । यो आफूलाई मन लागेको बेला आउने र मन नलाग्दा उठेर जाने मदिरालय होइन,’ उनले भने, ‘लोकतन्त्रमा प्रश्नबाट भाग्ने होइन, प्रश्नको सम्मान गर्ने सरकार बलियो हुन्छ । त्यसैले सरकारलाई विधिको शासन, संस्थागत मर्यादा, संवाद र जवाफदेहीतालाई प्राथमिकतामा राखेर अघि बढ्न आग्रह गर्दछु ।’
प्रधानमन्त्रीको यस्तो प्रवृत्तिले नयाँ पुस्तालाई गलत सन्देश दिइरहेको जिकिर उनको थियो ।