। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदै गएको दाबी गरेका छन् ।
शुक्रवार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत आउनुको पछाडि पुराना राजनीतिक दलहरूले गरेको बेथितिको परिणाम मात्र नभई भविष्यप्रतिको आशा भएको समेत बताए ।
‘दिस इज दि मोस्ट प्राइभेट सेक्टर फ्राइन्ड्ली गर्भमेन्ट इन नेपाल्स हिस्ट्री, दिस इज दि मोस्ट रिफर्म–ओरियन्टेड गर्भमेन्ट इन नेपाल्स हिस्ट्री भनेर हामीले दाबी गर्ने गरेका थियौँ । त्यो दाबी अनुरुप हामी त्यो बाटोमा हिंडिरहेका छौं । निजी क्षेत्रले समेत यो कुराको पुष्टि गरिरहनुभएको छ,’ अर्थमन्त्री वाग्लेले भने ।
अगामी दशकमा मुलुकको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्दै केही वर्षमै नेपालको अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर पुर्याउने सरकारको लक्ष्य रहेको बताए ।
अर्थमन्त्री वाग्लेले सरकारका प्रतिनिधिले नेपालमा दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्न विगतका विकास मोडलको हुबहु अनुकरण गर्न सम्भव नरहेको भन्दै २१औँ शताब्दीका नयाँ आर्थिक सम्भावनामा केन्द्रित हुन आवश्यक रहेको पनि बताए ।
नेपालको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै डिजिटल अर्थतन्त्र, सेवाको अन्तर्राष्ट्रिय व्यापार तथा प्रविधिमा आधारित नयाँ आर्थिक क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख स्रोत बनाइने समेत उनले बताए ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको यति ठूलो म्यान्डेट आउनुका पछाडि यो पुरानो व्यथितिको विरुद्धको डिस्गस्टको रिजल्ट मात्र होइन । यो भविष्यप्रतिको आशा पनि हो । र त्यो भविष्यप्रतिको आशालाई हामीले केही अंकमा अगेन हामीले इनक्याप्सुलेट गर्न खोजेका थियौँ । सस्टेन्ड रुपमा अर्को १० वर्ष हामी ७ पर्सेन्टको इकोनोमिक ग्रोथ, रियल ग्रोथ नोमिनलमा त हामी १४–१५ पर्सेन्ट पुगौंला । तर रियल ग्रोथ ६, ७, ८ अन एभरेज ७ पर्सेन्ट टार्गेट गर्यौँ भने यो सेकेन्ड वर्ल्ड वार पछिको चामत्कारिक गतिमा गएका १३ देखि १५ वटा मुलुकहरूको लय समात्न खोज्या हो । यो बिहान उठेर सपनामा देख्या अंक होइन,’ उनले भने ।