: मोरङको लेटाङमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे ४ प ७४६ नम्बरको मोटरसाइकल शुक्रबार राति करिब १०:३५ बजेतिर लेटाङ नगरपालिका–९ स्थित हात्तीचोकको भित्री सडक खण्डमा अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक झापाका २७ वर्षीय कुमार नेपाली र पछाडि सवार झापाकै २५ वर्षीय सन्देश नेपालीको मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका कुमारलाई मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पुर्याइएकोमा चिकित्सकले राति १२ बजे मृत घोषणा गरेका थिए । त्यस्तै, अर्का घाइते सन्देशको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा राति १२:०४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मोरङको पथरीशनिश्चरे नगरपालिका–८ का ३२ वर्षीय अमर नेपाली गम्भीर घाइते भएका छन् । उनको न्युरो अस्पतालमा उपचार भइरहेको डीएसपी मिश्रले बताए । दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरी चौकी जाँतेको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।