: नेपाली खेलकुदमा कुनै समय अन्तर्राष्ट्रिय पदकको प्रमुख आशा मानिनेमात्रै होइन, पदक लगातार पदक पनि जित्दै आएको तेक्वान्दोले एसियाली खेलकुदमा आफ्नो पुरानो साख कायम राख्न नसकेको लामो समय भइसकेको छ। जापानको आइची–नागोयामा जारी २०औं एसियाली खेलकुदमा पनि नेपाली खेलाडी पदकविहीन बनेपछि तेक्वान्दो लगातार पाँचौं एसियाडमा पदकविहीन भएको हो।
शुक्रबार ग्योरोगीको ८० केजीमुनिको तौलसमूहमा अभिषेक बराल अन्तिम १६ बाटै बाहिरिएका थिए। तोयाहासी जिम्नाजियममा भएको प्रतिस्पर्धामा अभिषेक उज्वेकिस्तानका जसुरवेक जयसुनोभसँग २–० ले पराजित भए। पहिलो राउन्ड १२–२ ले पछि परेका उनी दोस्रो राउन्डमा पनि १९–२ ले पछि परेका थिए।
यसअघि बिहीबार भएको पुम्सेको प्रतिस्पर्धामा सहभागी दुई नेपाली खेलाडी पनि अन्तिम १६ बाटै बाहिरिएका थिए। महिला एकल पुम्सेमा स्वस्तिका तामाङ अन्तिम १६ बाटै बाहिरिन्। उनी रहेको समूहमा आठ खेलाडीले प्रतिस्पर्धा गरेकोमा उनी अन्तिम स्थानमा रहिन्। २४ वर्षीया स्वस्तिकाले ६.५७ अंक जोडेकी थिइन्।
यसैगरी पुरुष एकल पुम्सेमा प्रतिस्पर्धा गरेका युवराज रानाको पनि प्रदर्शन कमजोर रह्यो। युवराज ७.०२ अंकका साथ आठ खेलाडी सहभागी भएको प्रतिस्पर्धामा आठौं स्थानमै रहेका थिए। अभिषेक वरीयताका आधारमा २०औं एसियाली खेलकुदमा छनोट भएका थिए। पुम्सेमा युवराज राना वाइल्ड कार्डमार्फत छनोट भएका थिए भने स्वस्तिका तामाङले रिप्लेसमेन्ट कोटामा छनोट हुँदै एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने अवसर पाएकी थिइन्। तेक्वान्दोबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने अपेक्षा गरिए पनि पछिल्ला संस्करणमा नेपाली खेलाडीको प्रदर्शन निराशाजनक रहँदै आएको छ।
कुनै समय एसियाली खेलकुदमा नेपाललाई पदक दिलाउने प्रमुख खेलका रूपमा स्थापित तेक्वान्दोले पछिल्ला पाँच संस्करणमा भने पदकको खडेरी सामना गर्नु परेको छ। नेपालले सन् १९८६ को सियोल एसियाडदेखि तेक्वान्दोमा पदक जित्न थालेको हो। त्यसपछि सन् १९९४ को हिरोसिमा एसियाड र सन् १९९८ को बैंकक एसियाडमा पनि नेपाली खेलाडीले पदक जितेका थिए। सन् २००२ को बुसान र सन् २००६ को दोहा एसियाडमा पनि तेक्वान्दोले नेपाललाई पदक दिलाएको थियो। तर, त्यसयता नेपाली तेक्वान्दोको एसियाड यात्रा पदकविहीन बन्दै आएको छ। सन् १९८६ मा विधान लामा, राजकुमार राई, राजकुमार बुढाथोकी र रामबहादुर घर्तीले कांस्य पदक जितेका थिए। यस्तै सन् १९९४ मा मानबहादुर शाहीले कांस्य, १९९८ मा सविता राजभण्डारीले नेपाललाई पहिलो र ऐतिहासिक रजत पदक दिलाएकी थिइन्।
थाइल्यान्डको बैंककमा भएको यही एसियाली खेलकुदमा सपना मल्ल र किशोर श्रेष्ठले कांस्य पदक जितेका थिए। यस्तै सन् २००२ को बुसान एसियाडमा दीपक विष्ट, रितुजिमी राई र रेनुका मगरले कांस्य पदक जितेका थिए। सन् २००६ को दोहा एसियाड तेक्वान्दोका लागि नेपालको पछिल्लो पदक उपलब्धि बनेको थियो। त्यस एसियाडमा दीपक विष्ट, मनीता शाही र आयशा शाक्यले कांस्य पदक जितेका थिए। त्यसयता सन् २०१० को ग्वाङ्झाउ, २०१४ को इन्चोन, २०१८ को जकार्ता–पालेम्बाङ र २०२२ को हाङझाउ एसियाडमा नेपाली तेक्वान्दोले पदक जित्न सकेन। यसपटक आइची–नागोयामा पनि पदकविहीन बनेपछि नेपालको निराशाजनक शृंखला पाँच संस्करणसम्म पुगेको हो।
नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्द यस पटकको एसियाडमा तेक्वान्दो खेलाडी छनोट चरण पार गरेर मात्रै एसियाली खेलकुदमा सहभागी भएकाले थोरै खेलाडीले मात्रै प्रतिस्पर्धा गर्न पाएको बताए। ‘यस पटकको एसियाली खेलकुदमा हामी छनोट चरण पार गरेर सहभागी भएका हौं। पहिले नै छनोट खेल्नुपर्दा ग्योरोगीमा एक र पुम्सेमा दुई खेलाडी गरी तीन खेलाडी मात्रै सहभागी हुन पाए’, २०औं एसियाली खेलकुदमा तेक्वान्दोका टिम व्यवस्थापकसमेत रहेका उपाध्यक्ष चन्दले भने, ‘ग्योरोगीका अभिषेक बरालको खेल सुरुमै शीर्ष वरीयताका खेलाडीसँग पर्यो।
पुम्सेमा पनि सुरुमै फ्रिस्ट्याल भएका कारण हाम्रा खेलाडीलाई समस्या भयो।’ उनले विश्व तेक्वान्दोले नियम परिवर्तन गरेर सुरुमै फ्रिस्ट्याल खेल्नुपर्ने भएका कारण पनि नेपाली खेलाडीलाई अप्ठ्यारो परेको बताए। उनले फ्रिस्टयालको प्रशिक्षण र तयारी नै राम्रोसँग गर्न नपाएका कारण खेलाडीलाई समस्या परेको बताए।
पुरानो साख फर्काउने चुनौती
एसियाली खेलकुदमा तेक्वान्दो नेपालको पदकको प्रमुख स्रोत रहँदै आएको थियो। सन् १९८६ को सियोल एसियाडमा नेपालले तेक्वान्दोबाट चार कांस्य पदक जितेको थियो। सन् १९९८ को बैंकक एसियाडमा सविता राजभण्डारीले रजत पदक जितेकी थिइन्। त्यसपछि पनि नेपाली खेलाडीले विभिन्न संस्करणमा पदक जित्दै नेपालको उपस्थिति बलियो बनाएका थिए।
तेक्वान्दोले एसियाली खेलकुदमा नेपाललाई एक रजत र १३ कांस्य गरी १४ पदक दिलाएको छ। तर, पछिल्लो दुई दशकमा यो खेलले एसियाडमा पदक थप्न सकेको छैन। लगातार पाँच संस्करण पदकविहीन हुनुको कारण खोज्दै प्रशिक्षण, खेलाडी छनोट, अन्तर्राष्ट्रिय अनुभव र तयारीको प्रभावकारितामाथि समीक्षा गर्नुपर्ने अवस्था देखिएको छ। एसियाली स्तरमा प्रतिस्पर्धा गर्न खेलाडीको व्यक्तिगत क्षमता मात्र पर्याप्त हुँदैन।
नियमित अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, स्तरीय प्रशिक्षण, वैज्ञानिक खेल तयारी र बलिया प्रतिद्वन्द्वीसँगको अनुभव पनि महत्वपूर्ण हुन्छन्। नेपाली तेक्वान्दोले यी क्षेत्रमा कस्तो तयारी गरिरहेको छ भन्ने प्रश्न पनि पाँचौं पटकको पदकविहीनतासँगै उठेको छ। संघका उपाध्यक्ष चन्द पछिल्ला एसियाली खेलकुदमा लगातार पदकविहीन हुँदा नेपाल तेक्वान्दो संघमाथि पनि प्रश्न उठ्ने गरेको बताउँदै दीर्घकालीन योजना बनाएर ग्रासरुटबाटै तयारी थाल्नुपर्नेमा जोड दिन्छन्। ‘यो एसियाली खेलकुदका लागि हामीले लामो समयदेखि तयारी गरेका थियौं।
अफगानिस्तानका विदेशी प्रशिक्षक पनि ल्याएका थियौं। तैपनि तयारी राम्रो हुन सकेन। विभिन्न कारण प्रभावित बनिरह्यो। पदकको आशा गरिएका खेलाडी एकपछि अर्को गरी विदेश पलायन भए’, उनले भने, ‘अब दीर्घकालीन योजना बनाएर ग्रासरुटदेखि नै तयारी गर्नु जरुरी भइसकेको छ।’ कुनै समय नेपालको पदक आशाको केन्द्र बनेको तेक्वान्दो अहिले एसियाडमा पदकविहीन शृंखला तोड्ने चुनौतीमा छ। आगामी प्रतियोगिताका लागि खेलाडी उत्पादनदेखि तयारी र अन्तर्राष्ट्रिय सहभागितासम्मका पक्षमा गम्भीर समीक्षा गर्न सकेमात्र नेपाली तेक्वान्दोको पुरानो साख फर्काउने बाटो पहिल्याउन सकिने जानकारहरू बताउँछन्।