: नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनमा प्रचारप्रसारका नाममा कुनै तामझाम नगर्ने निर्णय गरेको छ। प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएको अवस्थामा महाधिवेशन हुन लागेकाले पार्टीले भड्किलो प्रचार नगर्ने निर्णय गरेको हो।
महाधिवेशन तयारीबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले कार्यक्रमस्थलमा एउटा मूल गेटबाहेक अन्य प्रचार सामग्री शहर तथा बजारमा नराखिने बताए।
उनका अनुसार असोज १५ गतेदेखि काठमाडौं उपत्यकालगायत देशका प्रमुख शहर तथा बजारमा रहेका करिब १०० डिजिटल बोर्डबाट महाधिवेशनसम्बन्धी सूचना तथा सन्देश प्रवाह गर्न थालिएको छ। महाधिवेशनमा उम्मेदवार बन्ने नेताहरूलाई पनि प्रचारप्रसारका लागि जिटल माध्यममात्रै प्रयोग गर्न पार्टीले आग्रह गरेको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको प्राकृतिक विपद्मा परी अझै हजारौं मानिस हराइरहेको र सयौं परिवार बिछोडिएको कांग्रेसले जनाएको छ। त्यस्तै असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षाका कारण थप दर्जनौं मानिसले ज्यान गुमाएको भन्दै यस्तो परिस्थितिमा महाधिवेशन गर्न लागिएको कांग्रेसले जनाएको छ।
प्रवक्ता चालिसेका अनुसार प्राकृतिक प्रकोपका कारण दुई दिन ढिला भएको महाधिवेशन असोज १८ गते उद्घाटन हुनेछ। उद्घाटन कार्यक्रम काठमाडौंको खुलामञ्चमा हुनेछ भने १९ र २० गते बन्द सत्र तथा २१ र २२ गते निर्वाचन प्रक्रिया सञ्चालन हुनेछ।
महाधिवेशनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ। महाधिवेशनका लागि १५ वटा समिति गठन गरी तयारी अघि बढाइएको छ। खुलामञ्चमा उद्घाटन तथा बन्द सत्रका लागि आवश्यक संरचना निर्माण भइरहेको छ भने त्यहीँ मिडिया सेन्टर र प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना गरिनेछ।
महाधिवेशनमा सात हजार सात सयभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ। कांग्रेसको इतिहासमै पहिलोपटक यति ठूलो संख्यामा महाधिवेशन प्रतिनिधि निर्वाचित भएको दाबी गरिएको छ।
null
प्रतिनिधिहरूको आवासका लागि विमानस्थल, गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कलंकी र नयाँ बसपार्क क्षेत्रमा व्यवस्था गरिएको छ। आवास तथा कार्यक्रमस्थलसम्मको आवतजावत खर्च भने सहभागी स्वयंले बेहोर्ने व्यवस्था गरिएको छ। बिहान, दिउँसो र साँझको भोजनको व्यवस्था भृकुटीमण्डपमा गरिएको छ।
महाधिवेशन उद्घाटनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको छ। कांग्रेसका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम पौडेलको सहभागिता निश्चित भएको छ।
अन्तर्राष्ट्रिय अतिथिका रूपमा सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा नेपाल आइसकेकी छन्। अन्य अन्तर्राष्ट्रिय अतिथिको सहभागिता सुनिश्चित गर्ने क्रम जारी रहेको कांग्रेसले जनाएको छ।