। हवाई दुर्घटना रोक्न र उडान सुरक्षा मापदण्डको पूर्ण पालना गराउन सरकारले फिल्डमा खटिने प्राविधिक निरीक्षक (इन्स्पेक्टर) लाई विशेषाधिकार दिने कानुन प्रस्ताव गरेको छ।
सङ्घीय संसद्मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३ ले उडान सुरक्षामा सम्झौता नहोस् भन्नका लागि निरीक्षकहरूलाई तत्काल कारबाही गर्न सक्ने अधिकारसहित शक्तिशाली बनाएको हो।
विधेयकको दफा ४४ ले निरीक्षकसम्बन्धी विशेष व्यवस्था गरेको छ। उक्त दफाको उपदफा (४) अनुसार, आकस्मिक वा नियमित निरीक्षण गर्दा निरीक्षकले विमानस्थल क्षेत्र, सेवा प्रदायक संस्था, वायुयान, कार्गो क्षेत्र र वायुयान मर्मतसम्भार गर्ने संस्थामा निर्वाध रूपमा प्रवेश (अनरेस्ट्रिक्टेड एण्ड अनलिमिटेड एक्सेस) गर्न पाउनेछन्।
यसरी निरीक्षण गर्ने क्रममा गम्भीर उडान सुरक्षा जोखिम, दुर्घटनाको सम्भावना वा नियम उल्लङ्घन भएको देखेमा निरीक्षकले सिधै वायुयान सञ्चालनमा रोक लगाउन र उडान निलम्बन गर्न सक्नेछन्।
यति मात्र होइन, जोखिमको गाम्भीर्यता हेरी निरीक्षकले विमानस्थल वा त्यसको कुनै क्षेत्र नै तत्काल बन्द गर्नेसम्मको कडा आदेश जारी गर्न सक्ने अधिकार उपदफा (५) मा प्रस्ताव गरिएको छ।
वायुसेवा कम्पनी वा सेवा प्रदायकहरूले नियम पालना गरे/नगरेको छड्के जाँच गर्न निरीक्षकलाई ‘गोप्य परीक्षण’ को समेत अधिकार दिइने भएको छ। उपदफा (७) अनुसार, निरीक्षकले उडान सुरक्षा तथा हवाई सुरक्षा सुनिश्चितताको निक्र्योल गर्न महानिर्देशकको अग्रिम स्वीकृति लिई आवश्यकताअनुसार यस्तो गोप्य परीक्षण (कोभर्ट टेस्ट) गर्न सक्नेछन्।
यसका साथै, गल्ती र कमीकमजोरीको स्तर हेरी निरीक्षकले जरिवाना सिफारिस गर्नेदेखि इजाजतपत्र आंशिक वा पूर्ण रूपमा निलम्बन वा खारेज गर्न महानिर्देशकसमक्ष सिफारिस गर्न सक्ने व्यवस्थासमेत विधेयकको उपदफा (८) ले सुनिश्चित गरेको छ।