: सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले आगामी ५ वर्ष नै वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकार रहने बताएका छन्। पार्टी केन्द्रीय समितिको शनिबार बसेको बैठकमा सभापति लामिछानेले सरकारको नेतृत्व परिवर्तन नहुने बताएका हुन्।
‘ल्याप्चे नै लगाउनुपर्छ भने पनि म तयार छु,’ पार्टी सभापति रवि लामिछानेको भनाइ उद्धृत गर्दै सहमहामन्त्री असीम शाहले भने, ‘पाँच वर्ष प्रधानमन्त्री वालेन्द्र शाहकै नेतृत्वमा सरकार चल्छ।’ लामिछानेले सरकारसँग कुनै दूरी नरहेको उल्लेख गर्दै सरकार सही दिशामा अघि बढिरहेको दाबी गरे।
लामिछानेले पार्टी संगठनलाई थप मजबुत बनाउन केन्द्रदेखि तल्लो तहसम्म लाग्न पार्टीका केन्द्रीय सदस्यहरूलाई निर्देशन दिए। ‘झन्डै दुईतिहाइ जनमत पाएका छौं। जनताले हामीमाथि जुन अपेक्षा र विश्वास गरेका छन्। त्यो पूरा गर्न सरकारलाई हरतरहले सहयोग गर्नुपर्छ,’ लामिछानेले भने, ‘पार्टीभित्र अनुशासनलाई अझै कडाइका साथ पालना गर्न निर्देशन दिन्छु।’
बैठकमा पार्टी उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सरकारको कामकारवाहीबारे जानकारी दिएकी थिइन्। केही केन्द्रीय सदस्यहरूले सरकारको कामकारवाही प्रभावकारी नभएको गुनासो गर्दै स्थानीय तहको चुनावको तयारीका बारेमा प्रभावकारी ढंगले अभियान अघि बढाउनुपर्ने धारणा राखेका थिए।