मुख्य समाचार
हवाई आक्रमण रणनीतिको जवाफमा रुसी तेल प्रशोधन केन्द्र (रिफाइनरी) माथिको आक्रमण बढाउने चेतावनी
हवाई आक्रमण रणनीतिको जवाफमा रुसी तेल प्रशोधन केन्द्र (रिफाइनरी) माथिको आक्रमण बढाउने चेतावनी

। युक्रेनले रुसको नयाँ हवाई आक्रमण रणनीतिको जवाफमा रुसी तेल प्रशोधन केन्द्र (रिफाइनरी) माथिको आक्रमण बढाउने चेतावनी दिएको छ । त्यसका लागि युक्रेनले लामो दूरीको क्षेप्यास्त्र बनाएको जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रोयटर्ससँगको विशेष अन्तर्वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी जाडोयामलाई लक्षित गर्दै नागरिक पूर्वाधारमाथि आक्रमण विस्तार गर्ने ‘नयाँ सिद्धान्त’ जारी गरेको दाबी गरेका छन् ।

जेलेन्स्कीका अनुसार युक्रेनको गुप्तचर निकायले प्राप्त गरेका दस्तावेजमा रुसले पूर्वाधार, यातायात तथा लजिस्टिक्स, सडक, विद्यालय र अस्पताललगायतका संरचनालाई निशाना बनाउन अनुमति दिएको देखिएको छ ।

‘मानिसहरूलाई राजधानी र अन्य सहर छाड्न दबाब दिनु नै यो अभियानको उद्देश्य हो,’ जेलेन्स्कीले भनेका छन् ।

रुसले आफ्नो भूभागमा भएका युक्रेनी आक्रमणको जवाफमा प्रतिशोधात्मक कारबाही जारी राख्ने बताउँदै आएको छ । रुसी विदेश मन्त्रालयले किभमा रहेका विदेशी नागरिकलाई बाहिरिन आग्रह गर्दै रुसले आफ्ना घोषित लक्ष्यमा व्यवस्थित रूपमा आक्रमण जारी राख्ने बताएको छ ।

रुसी ऊर्जामाथि प्रहार गर्ने युक्रेनको तयारी

जेलेन्स्कीले रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण गरे त्यसको जवाफ रुसी ऊर्जा क्षेत्रमा दिने बताएका छन् ।

‘हाम्रो ऊर्जामाथि उनीहरूले आक्रमण गरे भने हामी उनीहरूको ऊर्जामाथि जवाफ दिन्छौं,’ उनले भनेका छन्, ‘विशेषगरी तेल प्रशोधन केन्द्रहरू, जसले उनीहरूलाई युद्धका लागि पैसा उपलब्ध गराउँछन् ।’ तर युक्रेनले रुसले जस्तो नागरिक संरचनालाई अन्धाधुन्ध निशाना नबनाउने उनको दाबी छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि रुसका तेल प्रतिष्ठानमाथि युक्रेनले गर्ने आक्रमण रोक्न आग्रह गरेका थिए । यस्ता आक्रमणले विश्व बजारमा डिजेलको मूल्य बढाइरहेको ट्रम्पको भनाइ थियो ।

तर जेलेन्स्कीले रुस शान्ति वार्ताका लागि गम्भीर रहेको कुनै संकेत आफूले नपाएको बताएका छन् ।

डोनबासमा ‘काउन्टरअफेन्सिभ’

जेलेन्स्कीले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा युक्रेनी सेनाले ‘भिभाल्डी’ नाम दिइएको प्रत्याक्रमण अभियान जारी राखेको र करिब १४० वर्ग किलोमिटर भूभाग पुन: नियन्त्रणमा लिएको दाबी गरेका छन् ।

रुसले भने कुनै पनि शान्ति सम्झौताका लागि डोनबास क्षेत्र पूर्ण रूपमा आफ्नो नियन्त्रणमा आउनुपर्ने अडान राख्दै आएको छ ।

यसैबीच, अमेरिकी प्रशासनले चार वर्षदेखि जारी युद्ध अन्त्य गर्न रुस र युक्रेनबीच वार्ता पुन: सुरु गर्ने प्रयास गरिरहेको छ ।

अमेरिकाले आगामी केही सातामा संयुक्त अरब इमिरेट्समा त्रिपक्षीय वार्ता पुन: सुरु गर्ने प्रस्ताव गरे पनि त्यसको मिति र स्थान अझै निश्चित नभएको जेलेन्स्कीले बताएका छन् ।

जाडोयाममा ऊर्जा पूर्वाधारमाथि ठूलो आक्रमणको आशंका

युक्रेनी अधिकारीहरूले रुसले आगामी जाडोयाममा विद्युत् र पानी आपूर्तिको पूर्वाधारमा ठूलो आक्रमण गर्ने तयारीस्वरूप सयौं ब्यालिस्टिक क्षेप्यास्त्र भण्डारण गरेको दाबी गरेका छन् ।

गत जाडोमा रुसी आक्रमणका कारण युक्रेनका ठूलो भूभागमा विद्युत् र ताप आपूर्ति पटक–पटक अवरुद्ध भएको थियो ।

रुसले पछिल्लो समय जेट इन्जिनयुक्त ‘शाहेद’ ड्रोन पनि ठूलो संख्यामा प्रयोग गर्न थालेको जेलेन्स्कीले बताएका छन् । ती ड्रोनलाई रोक्न युक्रेनी वायु रक्षा प्रणालीलाई कठिनाइ भइरहेको छ ।

उनका अनुसार युक्रेनले त्यस्ता ड्रोन खसाल्न एफ–१६ र मिग लडाकु विमानको प्रयोग गरिरहेको छ । ती विमानबाट करिब ६० प्रतिशत जेट इन्जिनयुक्त रुसी ड्रोन खसालिएको उनको दाबी छ । तर विमानमा प्रयोग हुने २० मिलिमिटर गोलाबारुदको मौज्दात घट्दै गएको उनले बताएका छन् ।

युक्रेनले विद्युतीय जामिङ क्षमता बढाउनुका साथै सस्तो र साना वायु रक्षा क्षेप्यास्त्र तथा नयाँ इन्टरसेप्टर ड्रोन विकास गरिरहेको छ । जेलेन्स्कीका अनुसार नयाँ इन्टरसेप्टर ड्रोनका दुई मोडलको परीक्षणमा करिब ३० प्रतिशत सफलता हासिल भएको छ ।

रुसी भूमिमा प्रहार गर्न लामो दूरीको क्षेप्यास्त्र बनाउँदै युक्रेन

युक्रेनले आफ्नै उत्पादनको एफपी–७ ब्यालिस्टिक क्षेप्यास्त्र पहिलोपटक युद्धमा प्रयोग गरेको जेलेन्स्कीले बताएका छन् । यसको मारक क्षमता करिब २५० किलोमिटर रहेको छ ।

युक्रेनले यसभन्दा लामो दूरीमा प्रहार गर्न सक्ने एफपी–९ क्षेप्यास्त्र पनि विकास गरिरहेको छ । यसको प्रयोगबाट मस्कोसम्म प्रहार गर्न सकिने दाबी गरिएको छ ।

‘मैले उत्पादकलाई एफपी–९ कहाँ छ भनेर सोधेको छु,’ जेलेन्स्कीले भने, ‘हामीलाई एफपी–९ चाहिएको छ । यो शरद ऋतुमै तयार हुनेछ भन्नेमा म विश्वस्त छु ।’

रुससँग सम्बन्ध सामान्य नबनाउन अमेरिकालाई आग्रह

रुसका राष्ट्रपति पुटिनलाई डिसेम्बरमा मियामीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुन अमेरिकी प्रशासनले निम्तो दिएको प्रसंगमा जेलेन्स्कीले युद्ध अन्त्य नभएसम्म रुससँग सम्बन्ध सामान्यीकरण नगर्न अमेरिकालाई आग्रह गरेका छन् ।

उनले जी–२० सम्मेलनका क्रममा पुटिनसँग शान्ति वार्ताका लागि भेट्न आफू तयार रहेको बताए । तर डोनबासमाथि नियन्त्रण कायम गरेपछि रुसले युद्ध स्वत: अन्त्य गर्छ भन्ने भ्रममा नपर्न उनले अमेरिकालाई चेतावनी दिए ।

‘शान्ति कुनै पनि प्रकारको अर्थतन्त्रभन्दा महत्वपूर्ण छ,’ जेलेन्स्कीले भनेका छन् ।

युक्रेनले आगामी वर्षको सुरुवातमा युद्ध जारी राख्न आवश्यक ड्रोन खरिदका लागि युरोपबाट थप आर्थिक सहयोग सुनिश्चित गरेको पनि जेलेन्स्कीले बताएका छन् ।

उनका अनुसार यस वर्ष युक्रेनको रक्षा बजेटमा रहेको २७ अर्ब डलरको वित्तीय अभाव पूर्ति गर्न आफ्नै बजेट पुन:व्यवस्था, द्विपक्षीय सहायता र युरोपेली संघको ९० अर्ब युरो ऋणअन्तर्गत आगामी वर्षको रकम प्रयोग गर्ने योजना बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
नेपालमा आएको आकस्मिक बाढीको एक महिनापछि भारतको हिमाली राज्य उत्तराखण्डले एउटा हिमतालमा पूर्वसूचना प्रणाली स्थापना गर्ने तयारी गरेको छ । उत्तराखण्डका उच्च हिमाली क्षेत्रमा हिमताल फुटेर हुने क्षति न्यूनीकरण, तालको निगरानी तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन यो पहल सुरु गरिएको हो । चमोलीको वसुधारा हिमतालमा पूर्वसूचना प्रणाली जडान गर्न वैज्ञानिकहरूको टोली गत मंगलबार देहरादुनबाट प्रस्थान गरेको ...
: संयुक्त अरब इमिरेट्स (युएई) का क्राउन प्रिन्स शेख हमदान बिन मोहम्मदले फ्लाईदुबईका भारतीय पाइलट स्मित मच्छारलाई भेट्न शनिबार अस्पताल पुगेका छन्। क्राउन प्रिन्स शेख हमदानले अस्पतालमै पुगेर पाइलट मच्छारको अदम्य साहस र कर्तव्यनिष्ठताको उच्च प्रशंसा गरे। उडानका क्रममा को-पाइलटले गरेको साङ्घातिक आक्रमण विफल पार्ने क्रममा पाइलट मच्छार गम्भीर घाइते भएका थिए। घटनालगत्तै सुरुमा साउदी अरेबियामा ...
: फ्लाईदुबई विमानमा सह-पाइलटले आक्रमण गरेपछि बहादुरीपूर्वक ककपिटको ढोका खोलेर यात्रुहरूको ज्यान बचाएका भारतीय पाइलट क्याप्टेन स्मित मच्छर र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच टेलिफोन वार्ता भएको छ। कुराकानीका क्रममा प्रधानमन्त्री नेतान्याहुले क्याप्टेन स्मितको अदम्य साहसको उच्च प्रशंसा गर्दै उनलाई भारत, इजरायल र सम्पूर्ण विश्वकै 'हिरो' को संज्ञा दिएका छन्। इजरायली प्रधानमन्त्री कार्यालयले दुवैजनाबीच भएको उक्त संवादको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बढ्दो इन्धन लागत घटाउन युरोपेली मुलुकसँग उनीहरूको डिजेल भण्डार उपयोग गर्न आग्रह गर्न सकिने सङ्केत गरेका छन्। पत्रकारहरूसँग कुरा गर्दै उनले बजारमा डिजेलको मूल्य घटाउन आपत्कालीन आपूर्ति जारी गर्न युरोपेली सरकारसँग सम्पर्क गर्ने सम्भावनाबारे सोधिएको प्रश्नमा आफूहरूले त्यसो गर्न सक्ने बताए । “मूल्य घट्दै गइरहेको छ”, उनले भने। ट्रम्पले टेक्सास र ओक्लाहोमा ...
। अस्ट्रेलियामा घरभाडा दर अत्यधिक महँगिनुका साथै उपलब्धता न्यून हुँदा आवास संकट गहिरिएको छ। सिड्नी, मेलबर्न, ब्रिस्बेन र एडिलेडजस्ता प्रमुख सहरहरूमा उपयुक्त मूल्यमा कोठा वा अपार्टमेन्ट पाउन मुस्किल हुँदा अन्तर्राष्ट्रिय विद्यार्थी, नयाँ आप्रवासी तथा न्यून र मध्यम आय भएका परिवारहरू चरम आर्थिक दबाबमा परेका छन्। कमनवेल्थ बैंकको सेप्टेम्बर २०२६ को पछिल्लो विश्लेषणअनुसार देशभर राष्ट्रिय भाडा रिक्तता ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम