। विगत ६ महिनामा ६ महिनामा ५४० बिचौलिया पक्राउ परेका छन् । यसमध्ये १७० जनामाथि मुद्दा चलेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । सरकारको पहिलो ६ महिनाको उपलब्धि सारांश सार्वजनिक गरेको छ । जसको बुँदा नम्बर ३ मा शान्ति सुरक्षा तथा सुशासनसँग सम्बन्धित कामको विवरण छ ।
यसको बिचौलिया नियन्त्रण र अनुगमन शिर्षक अन्तर्गत लेखिएको छ, ‘५४० जना बिचौलियालाई नियन्त्रणमा लिई १७० जनामाथि मुद्दा दर्ता गरिएको छ ।’
२१ फागुनमा भएको प्रतिनिधिसभाको निर्वाचन पश्चात १३ चैत २०८२ मा रास्वपा संसदीय दलका नेता बालेन शाह प्रधानमन्त्री नियुक्त भएका थिए ।
त्यसयताको ६ महिनाको अवधिमा सरकारले ६ महिनामा ५४० बिचौलिया पक्राउ गरेको र त्यसमध्ये १७० जनामाथि मुद्दा चलाएको जनाएको छ । तर के कस्ता बिचौलिया पक्राउ परेका हुन् र के कस्तामाथि मुद्दा चलाएको हो यसबारे विस्तृत व्यख्या गरिएको छैन ।
बरू सरकारले शान्ति सुरक्षा तथा सुशासनसँग सम्बन्धित भएका अन्य कामको विवरण पनि उपलब्धिको साराशंमा समावेश गरेको छ । अवैध गतिविधि नियन्त्रण अन्तर्गत २६ वटा सट्टेबाजी एप र ३ लाख ५ हजार ६६३ भन्दा बढी सट्टेबाजी डोमेन लिंकहरू बन्द गराइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बढ्दो लागूऔषध कारोबार तथा दुरुपयोग नियन्त्रणका लागि छुट्टै लागूऔषध नियन्त्रण विभाग स्थापना गरिएको छ ।
सार्वजनिक जग्गा संरक्षण अन्तर्गत सार्वजनिक जग्गा अतिक्रमण विरुद्ध अभियान सञ्चालन गरी काठमाडौं उपत्यकामा ३ हजार ४५७ र देशभर गरी कूल ४ हजार २२६ वटा अवैध घरटहरा हटाइएको छ ।
औद्योगिक तथा व्यावसायिक सुरक्षालाई पनि प्राथमिकता दिइएको उल्लेख छ ।
जसमा भनिएको छ, ‘औद्योगिक तथा बैंकिङ क्षेत्रको सुरक्षाका लागि द्रूत प्रतिकार्य संयन्त्र (आरआरटी) र जिल्ला औद्योगिक सुरक्षा समन्वय समिति गठन गरिएको छ । मुख्य बजार तथा राजमार्गमा ७ हजार ६६९ वटा सीसीटीभी जडान गरिएको छ ।’
साथै, उपलब्धिको सारांशमा उल्लेख भए अनुसार विगत ६ महिनामा राष्ट्रिय सतर्कता केन्द्रमार्फत ३२ जिल्लाका एक हजार ११७ कार्यालयको अनुगमन गरी १० हजार ६२१ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरिएको छ ।