। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा हुने ओमान, क्यानडा र नेपालबीचको शृङ्खला खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ क्यानले आइतबार एक कार्यक्रम गर्दै टोलीको बिदाइ गरेको हो । क्यान अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले टोलीलाई शुभकामना दिँदै बिदाइ गरे ।
बिदाइ कार्यक्रममा बोल्दै सचिव पारसले राम्रो क्रिकेट खेल्दै जित निकाल्न शुभकामना दिए । ‘महत्वपूर्ण सिरिज छ, अन्य नतिजाले पनि फरक पार्नेछ । सबै टिमले कम्पेरेटिभ क्रिकेट खेलेका छन् । राम्रो प्रदर्शन गर्ने हो भने अबको मार्ग थप स्पष्ट हुनेछ । यसअघि राम्रो खेलिरहनुभएको छ, पहिले पहिले इतिहास रचेको जस्तै यसपटक पनि राम्रो गर्नहोला, शुभकामना छ’ पारसले भने ।
नेपालले ओमान पुगेर तयारीसँगै एक अभ्यास खेल पनि खेल्ने कुरा पारसले उल्लेख गरे ।
प्रशिक्षक स्टुअर्ट लले पनि महत्वपूर्ण सिरिज भएकाले ओमानमा राम्रो प्रदर्शन गर्ने र योजना अनुसार खेल प्रस्तुत गर्ने बताए । ‘जित्छौं भन्न सजिलो छ तर त्यसका लागि प्रोसेस पनि थाहा हुनुपर्छ र त्यसैअनुसार प्रदर्शन पनि गर्नुपर्छ’ प्रशिक्षक लले भने ।
यस्तै कप्तान सन्दीप लामिछानेले तयारी राम्रो भएको, टिम राम्रो लयमा भएको बताए । ‘टिमको लयमा परिवर्तन देखिएको छ, ओडीआई मान्यता बचाउने, टिमलाई विश्वकप छनोटमा पुर्याउने नै हाम्रो लक्ष्य रहनेछ’ सन्दीपले भने ।
अध्यक्ष चतुरबहादुर चन्दले पनि टिमलाई शुभकामना दिँदै भने, ‘पछिल्लो समय प्रिमियर कप च्याम्पियन बनेर आएको छ टोली, ओमानमा धेरै खेलाडीलाई अनुभव पनि छ । यसपटक पनि राम्रो गर्नुहुन्छ र नेपालीलाई दशैंमा खुसी दिनुहुन्छ भन्ने विश्वास राखेको छु, शुभकामना छ ।’
नेपाली टोली आइतबार राति नै ओमानका लागि प्रस्थान गर्नेछ ।
नेपालका लागि यस शृङ्खला निकै महत्त्वपूर्ण रहेको छ । नेपालको ओडीआई मान्यता जोगिने र लिग २ मा कुन स्थानमा रहन्छ भन्ने कुरा यही शृङ्खलाबाट टुङ्गो लाग्नेछ ।
शृङ्खलाका लागि यसअघि एसीसी प्रिमियर कपमा खेलेको टोलीबाट एक परिवर्तन गरिएको छ भने एक खेलाडी थपिएका छन् । पेस बलर हेमन्त धामीको स्थानमा नन्दन यादव आएका छन् । बाँयाहाते स्पीनर शाहब आलम पनि टिममा आएका छन् ।
ओपनिङ ब्याटर कुशल भुर्तेल र पेस बलर सोमपाल कामी यो शृङ्खलाका लागि पनि टिममा परेनन् । ओपनर अर्जुन कुमाल र आसिफ शेखले टिममा निरन्तरता पाएका छन् ।
नेपालको टोली : सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पान्डे, देव खनाल, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम, शेर मल्ल
प्रशिक्षक: स्टुअर्ट ल, म्यानेजर : सुमन राज कार्की