: सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछी चोकबाट प्रहरीले बन्दागोभी बोकेको ट्रकबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। आइतबार राति ११:५० बजे अस्थायी प्रहरी पोस्ट सखुवागाछी र ट्राफिक प्रहरी कार्यालय इनरुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख १८२५ नम्बरको ट्रकलाई शंका लागेर रोकी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा ट्रकमा बन्दागोभीले छोपेर राखिएको अवस्थामा ८३ वटा बोरामा प्रतिबन्धित लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खडकाले बताए। बरामद गरिएको गाजा तौल गर्दा २ हजार ५ सय ६६ किलो ५ सय ६० ग्राम रहेको डीएसपी खडकाले बताएका छन् ।
प्रहरीले गाँजा र ट्रकसहित धनकुटाको शहीदभूमि गाउँपालिका–२ का ३३ वर्षीय चालक राजु राई र सोही स्थानका १८ वर्षीय सहचालक सन्दिप राईलाई यन्त्रणमा लिएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिएका छन्