: पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानमा छेडखानी नगरी आवश्यक सुधार मात्र गर्नुपर्नेमा जोड दिएका छन्। आइतबार नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै भट्टराईले संविधानका मूल खम्बाहरू—गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र—मध्ये कुनै एक खम्बा ढलेमा सिङ्गो व्यवस्था नै खतरामा पर्ने चेतावनी दिएका हुन् ।
वर्तमान संविधान दशौँ हजार नागरिकको बलिदानबाट बनेकाले यसको रक्षा गर्नु सबैको दायित्व भएको उनको भनाइ छ। उनले देशमा ५ वर्षसम्म चल्ने स्थिर सरकार निर्माणका लागि संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक व्यवस्थापिकाको ढाँचामा जान सुझाव दिए।
भट्टराईले विस्तृत शान्ति सम्झौता भएको २० वर्ष बित्न लाग्दा पनि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका कामहरू टुंगोमा नपुगेकोमा चिन्ता व्यक्त गरे।
उनले देश विकासका लागि स्पष्ट र दीर्घकालीन योजना बनाएर राजनीतिक दलहरूबीच त्यसको कार्यान्वयनका लागि प्रतिस्पर्धा हुनुपर्ने धारणा राखे। राजनीतिक स्थिरताका लागि नयाँ पुस्तालाई विश्वास गर्नुपर्ने पनि उनको भनाइ छ।