: वर्षौंदेखि मिति तोकिने र सर्ने क्रमले अन्योलमा परेको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अब भने कर्णालीमा हुने सुनिश्चितता भएको छ। आइतबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रदेश रंगशालामा भएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुल आयोजक समितिको बैठकले कर्णालीमा खेलकुदको महाकुम्भ हुने कुराको सुनिश्चितता गरेको हो।
कर्णालीको राजधानीमा संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाही, वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालसहितका सरोकरावालाहरूले आगामी मंसिर १६ गतेदेखि २७ गतेसम्म तोकिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएपछि कर्णालीमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने निश्चित भएको हो। स्थानीय तह, राष्ट्रिय खेलकुद परिषद् र विभिन्न खेल संघका प्रतिनिधि एउटै ठाउँमा उभिएर प्रतियोगिता निर्धारित मितिमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। कर्णालीमा बसेको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिको बैठकले लामो समयदेखि रहेको अन्योल चिर्दै अब तयारीलाई तीव्र गतिमा अघि बढाउन थालेको हो।
संंघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री एवं १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिका अध्यक्ष सस्मित पोखरेलले प्रतियोगिता तोकिएकै समयमा हुने भन्दै कसैले पनि यसमा शंक नगर्न आग्रह गरे। उनले भने, प्रतियोगिता तोकिएकै मितिमा हुन्छ। संघीय सरकार र खेलकुद परिषद् यसमा प्रतिवद्ध छ। यो प्रतियोगिताको मिति आगामी मंसिर १६ देखि २७ तोकिएको छ। तर उत्सव आजैबाट सुरु भएको घोषणा गर्दछु। कर्णालीले यो महान उत्सवको तयारीमा साथ दियोस। संघीय सरकार कर्णालीको साथमा छ। उनले अब प्रतियोगिता हुने विषयमा कुनै शंका नगर्न आग्रह गर्दै कर्णालीमा राष्ट्रिय खेलकुदको उत्सव आजैदेखि सुरु भएको घोषणा गरे। उनले भने, पटकपटक मिति परिवर्तन हुँदै आएकाले यसमा शंका उठेको होला। तर अब मिति परिवर्तन हुँदैन्।
संघीय सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले संघीय सरकार कर्णालीको साथमा रहेको बताए। उनले स्थानीय र प्रदेश सरकारले सहजीकरणको प्रभावकारी भूमिका निर्वाह गरेकोमा धन्यवाद दिँदै प्रतियोगिता कर्णालीको साथै देशको उत्सव हुने बताए। संघीय सरकार र कर्णाली सरकारले मिलेर काम गर्ने उनको भनाइ छ। देशभरका सहरमा प्रतियोगिताको प्रचार गर्न र कर्णालीलाई सजाउन उनले आग्रह गरे। उनले भने, १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामात्र होइन्, देशभरका खेलाडीले प्रतिभा देखाउने राष्ट्रिय मञ्च हो। आयोजक र सहआयोजक भन्ने कुरा प्राविधिक विषय भए पनि प्रतियोगिता सफल बनाउन सबैको उत्तिकै भूमिका छ। संघीय सरकारले कर्णालीको साथमा रहेर आवश्यक सहयोग गर्ने छ।
चार वर्षदेखि राष्ट्रिय खेलकुद प्रतियोगिता नियमित हुन नसकेको अवस्थामा १०औं संस्करण कर्णालीमा आयोजना हुन लागेको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले भने, यसअघि तय भएका मितिहरू कार्यान्वयन हुन नसकेपछि प्रतियोगिताप्रति खेलाडी र खेल क्षेत्रमै निराशा बढेको थियो। तर अहिले संघीय र प्रदेश सरकारबीच समन्वय बढ्दै गएको तथा मूल आयोजक समितिको बैठक नै कर्णालीमा बसेपछि प्रतियोगिता आयोजनाको वातावरण थप स्पष्ट भएको छ। १०औं राष्ट्रिय खेलकुद कर्णालीका लागि सामान्य खेलकुद प्रतियोगितामात्र होइन। यो प्रदेशको क्षमता, पूर्वाधार, व्यवस्थापन, आतिथ्य, सुरक्षा, यातायात, स्वास्थ्य र खेलकुद संस्कृतिको परीक्षा पनि हो। संघीय राजधानीबाट भौगोलिक रूपमा टाढा रहेको कर्णालीले देशकै ठूलो खेलकुद पर्व सफल रूपमा आयोजना गरेर ‘कर्णालीले सक्दैन’ भन्ने पुरानो भाष्यलाई बदल्न चाहान्छ। हामीले यो प्रतियोगितालाई कर्णालीको प्रतिष्ठासँग जोडेर हेरेका छौं। तयारीमा कुनै कसुर बाँकी नराखेर लागिरहेका छौं। हाम्रो खेल पूर्वाधारको विकास र सुधारमा संघीय सरकारले प्रयाप्त बजेटको सुनिश्चितता गरोस। यो हाम्रो अपेक्षा हो।
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिका सहअध्यक्षसमेत रहेका मुख्यमन्त्री शाहीले प्रतियोगिता मूल आयोजक समितिको बैठक सुर्खेतमा आयोजना हुनु आफैंमा प्रतियोगिता हुने सुनिश्चितताको सन्देश भएको बताए। उनका अनुसार कर्णाली देशभरबाट आउने खेलाडी, प्रशिक्षक, व्यवस्थापक, निर्णायक तथा पाहुनालाई स्वागत गर्न आतुर छ। ‘कर्णालीले खेल्छ, खेलाउन तयार छ,’ उनले भने, प्रतियोगिता सम्पन्न गराउन प्रदेश सरकार प्रतिबद्धता छ।
मुख्यमन्त्री शाहीले प्रतियोगिता सम्पन्न गर्न प्रदेश सरकारले कुनै कसुर बाँकी नराख्ने बताए। उनका अनुसार प्रदेशका १० वटै जिल्लामा खेल पूर्वाधार विकासलाई जोड दिइएको छ। खेलकुदको तयारीसँगै अन्य पूर्वाधार र व्यवस्थापनका कामलाई पनि अघि बढाइएको छ। उनले संघीय सरकारले प्रतियोगिताका लागि पर्याप्त बजेट सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै कर्णालीको आन्तरिक स्रोत सीमित भए पनि प्रदेश आत्मनिर्भर बन्न प्रयासरत रहेको बताए। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईले १०औं राष्ट्रिय खेलकुद नेपाली खेलकुद क्षेत्रकै ठूलो पर्व भएको बताए। देशको गौरवपूर्ण कार्यक्रम कर्णालीमा आयोजना हुने निश्चित हुनु प्रदेशका लागि ठूलो अवसर भएको उनको भनाइ छ। उनले संघीय, प्रदेश र स्थानीय सरकार तथा खेल क्षेत्रका सबै पक्ष मिलेर प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्नुपर्ने बताए।
कर्णाली प्देश सरकारका सामाजिक विकास मन्त्री जितबहादुर मल्लले कर्णालीमा खेलकुदको महायग्य आयोजना गर्न आफूहरू सबै हिसावले तयार रहेको बताए। उनका अनुसार कर्णाली सरकारले प्रदेश रंगशाला निर्माणमा करिब २ अर्ब रुपैयाँ लगानी गरेको छ। चालु आर्थिक वर्षमा रंगशाला व्यवस्थापनका लागि ९ करोड रुपैयाँ विनियोजन गरेको छ। अन्य खेल गतिविधिका लागि तीन करोड रुपैयाँ तथा खेल पूर्वाधार विकासलाई पनि प्राथमिकतामा राखिएको छ। राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले पूर्वाधार निर्माणदेखि खेलाडीको तयारीसम्म प्रयाप्त लगानी गरेको छ। कर्णाली प्रदेश रंगशाला अहिले प्रतियोगिताको मुख्य आधार बनेको छ। करिब १० हजार दर्शक क्षमताको रंगशालामा प्रतियोगिता लक्षित सुधारका काम अघि बढाइएको छ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णालीमै हुने सुनिश्चितता भएको छ।
संघीय, प्रदेश र स्थानीय सरकार तथा राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधिले तोकिएकै मितिमा प्रतियोगिता सम्पन्न गर्ने प्रतिबद्घता जनाएका छन्।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अब प्रतियोगिताको मिति परिवर्तन नहुने र राष्ट्रिय खेलकुदको उत्सव सुरु भएको घोषणा गरेका छन्।
कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रतियोगितालाई कर्णालीको क्षमता, पूर्वाधार, व्यवस्थापन र प्रतिष्ठासँग जोडिएको अवसरका रूपमा लिएका छन्।
प्रतियोगितामा ३२ खेल समावेश गरिएका छन्। सुर्खेतसहित कर्णालीका विभिन्न जिल्लामा खेल सञ्चालन गर्ने तयारी छ।
खेल पूर्वाधार, मौसम र खेलस्थलको उपयुक्तालाई लिएर केही खेल संघले प्रश्न उठाएका छन्।
हजारौं खेलाडी, प्रशिक्षक, व्यवस्थापक र दर्शक आउने भएकाले सुरक्षा र आवास व्यवस्थापन ठूलो चुनौती बनेको छ।
वीरेन्द्रनगर, छिन्चु र गुराँसेमा गरी हजारौँ खेलाडी तथा सहभागीका लागि आवास व्यवस्थापन गर्ने तयारी गरिएको छ।
प्रतियोगिताका लागि चालु आर्थिक वर्षमा ४४ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको र थप बजेट माग गरिएको छ।
१०औं राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश
कर्णालीमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश गरिएको छ। यसले कर्णालीको व्यवस्थापन चुनौतीलाई अझ ठूलो बनाएको छ। सबै खेल एउटै सहरमा सञ्चालन गर्न सम्भव नभएकाले सुर्खेतसहित कर्णालीका विभिन्न जिल्लामा प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको छ। सुर्खेतमा करिब १७ देखि १८ खेल सञ्चालन गर्न सकिने र बाँकी खेल अन्य जिल्लामा लैजाने तयारी रहेको प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ।
खेललाई जिल्लामा बाँड्नु कर्णालीका लागि चुनौतीसँगै अवसर पनि हो। सुर्खेतबाहेकका जिल्लामा राष्ट्रियस्तरका खेलाडी पुग्दा ती जिल्लाले प्रत्यक्ष रूपमा राष्ट्रिय खेलकुदको अनुभव प्राप्त गर्नेछन। स्थानीय बजार, होटल, यातायात र अन्य सेवामा आर्थिक गतिविधि बढ्नेछ। खेलकुदसँगै पर्यटन प्रवद्र्धनको ढोका पनि खुल्न सक्छ। प्रदेश खेलकुद विकास परिषद्का अनुसार सुर्खेतमा एथलेक्टिस, ब्याडमिन्टन, बक्सिङ, बास्केटबल, शारीरीक सुगठन, क्रिकेट, फाुटवल, ह्याण्डबल, जुडो, रग्बी, तेकान्दो, भलिबल, उसु, भारोत्तोलन, कुस्ती, कबड्डी, कराँते, फुल कन्ट्याक्ट कराँते, हक्की, ई स्पोर्टस, स्कास, साईकिलिङ, ज्यामन्यास्टिक, सेपाकताक्रो आयोजना हुँदैछ। यस्तै कालिकोटमा शारिरीक सुगठन, जुडो जाजरकोट, खो खो रुकुम्पश्चिमको चौरजाहारी, पौडी नेपालगन्ज, भारत्तोतन नेपालगन्ज, आईटीएफ टेकान्दो दैलेख, टेबल टेनिस सल्यान, बुद्धिचाल दैलेख, सुटिङ नेपालगन्ज, टेनिस नेपालगन्ज, आर्चरी जुम्ला र ज्याम्न्याष्टिक दैलेखमा समेत आयोजना गर्ने तयारी गरिएको छ।
नेपाल खो–खो संघका अध्यक्ष प्रदीप महर्जनले खो–खो प्रतियोगिता रुकुमपश्चिममा राखिएको विषयमा प्रश्न उठाएका छन्। रुकुम पश्चिममा रहेको एउटा कभर्डहल साँघुरो भएकाले राष्ट्रियस्तरको खो–खो प्रतियोगिताका लागि पर्याप्त नहुने उनको तर्क छ। खेलाडीको सहजता, खेलको प्राविधिक मापदण्ड र दर्शक व्यवस्थापनका दृष्टिले खो खो प्रतियोगिता सुर्खेतमै राख्नुपर्ने उनको भनाइ छ। राष्ट्रिय प्रतियोगिताको खेलस्थल छनोटमा जिल्लालाई अवसर दिने विषय सकारात्मक भए पनि खेलाडीको प्रदर्शनमा असर पर्ने गरी कमजोर पूर्वाधार प्रयोग गर्न नहुने खेल क्षेत्रका प्रतिनिधिको भनाइ छ। खेलाडीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्न पर्याप्त ठाउँ, उपयुक्त सतह, दर्शक र प्राविधिक सुविधा पाउनुपर्छ। नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठले भने, पौडी खेल कर्णालीमै सञ्चालन गर्न उपयुक्त छ। तर प्रदेश रंगशालामा रहेको सुइमिङ पुलमा ढाक्ने र हिट गर्ने प्रविधि जडान गरिनुपर्छ। मंसिरमा नेपालगन्जको तापक्रमले त्यहाँ खेल खेलाउन सहज हुँदैन्। यदि सुर्खेतमा उक्त प्रविधि जडान गर्न नसकिए सातदोबाटो ललितपुरमा नै खेलाउनुपर्ने हुन सक्छ।
कर्णालीमा कराते प्रतियोगिताको तयारी पनि भइरहेको छ। नेपाल कराते महासंघ कर्णालीका प्रतिनिधि हेमन्त मल्लले कराते विश्व कराते महासंघको नियमानुसार सञ्चालन गरिने बताए। खेलकुद प्रतियोगिताको व्यवस्थापनमा मौसम पनि महत्वपूर्ण पक्ष हो। तर, मौसमकै कारण महत्वपूर्ण प्रतियोगिताहरू कर्णाली बाहिर लिनुहुँदैन। मौसमलाई बहाना बनाएर प्रतियोगिता कर्णालीबाट बाहिर लैजानेभन्दा ‘हिटिङ’ अर्थात् चिसो व्यवस्थापनका उपाय अपनाएर कर्णालीमै प्रतियोगिता सञ्चालन गर्नुपर्नेमा कर्णालीका खेल सरोकारवालाहरूको जोड छ।
१०औं राष्ट्रिय खेलकुदका लागि सुरक्षा निकाय संवेदनशील
१०औं राष्ट्रिय खेलकुदमा सुरक्षा अर्को संवेदनशील विषय हो। हजारौँ खेलाडी, प्रशिक्षक, व्यवस्थापक, निर्णायक र दर्शक कर्णालीमा आउने भएकाले सुरक्षा व्यवस्थापन सामान्यभन्दा फरक र व्यापक हुनुपर्नेछ। नेपाल प्रहरीका एआईजी राजन अधिकारीले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश प्रहरी प्रमूख डिआईजी जयराज सापकोटाको नेतृत्वमा सुरक्षा उपसमिति गठन गरी कामहरू भइरहेको बताए। उनका अनुसार कर्णालीमा खेलकुदको यो प्रतियोगिता सुरक्षित, सभ्य र भव्य रूपमा सम्पन्न गर्ने गरी तयारी भइरहेको बताए।
उनका अनुसार नेपाल प्रहरी र अन्य सुरक्षा निकायको सहभागितामा सुरक्षा व्यवस्थापनको तयारी अघि बढाइएको छ। प्रदेश प्रहरी प्रमुखको नेतृत्वमा सुरक्षा उपसमितिले १६ वटा सवालहरू प्हिचान गरी काम कारबाही अगाडि बढाएको छ। त्यसैअनुसार तयारी अघि बढिरहेको छ। सुरक्षा निकायले प्रतियोगितालाई संवेदनशील रूपमा लिएको उनको भनाइ छ। राष्ट्रिय खेलकुद प्रतियोगिता स्थलका साथै खेलाडी बस्ने होटल, खेलस्थल, यातायात, विमानस्थल, बसपार्क, उद्घाटन तथा समापन समारोह, अतिथि आवागमन, संवेदनशील क्षेत्र, आपत्कालीन उद्धार र विपद् व्यवस्थापनसम्म सुरक्षा योजनामा समावेश छन्।
खेलकुदको केन्द्र बन्दै वीरेन्द्रनगर
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका अधिकांश खेल सुर्खेतमा सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको छ। केही खेल भने कर्णालीका अन्य जिल्लामा सञ्चालन हुनेछन्। उपलब्ध खेल पूर्वाधारलाई अधिकतम प्रयोग गर्ने र आवश्यकताअनुसार खेलस्थल मर्मत तथा स्तरोन्नति गर्ने कार्य जारी छ। कर्णालीमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश छन्।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख एवं मूल आयोजक समिति सदस्य मोहनमाया ढकालले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १०औं राष्ट्रिय खेलकुद भव्य रूपमा सम्पन्न हुने बताइन्। उनले उक्त प्रतियोगिता सम्पन्न गराउन वीरेन्द्रनगर नगरपालिका सबै हिसाबले तयारी अवस्थामा रहेको बताइन्। विभिन्न शंका र प्रश्नबीच प्रतियोगिता हुने सुनिश्चितता हुनु खुसीको विषय भएको उनको भनाइ छ। यो प्रतियोगिताले वीरेन्द्रनगरलाई खेलकुदको केन्द्रका रुपमा विकास हुने उनको भनाइ छ।
ढकालले मूल आयोजक समितिको बैठक सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुँदा यहाँको स्थानीय सरकारलाई थप जिम्मेवार बनाएको बताइन्। आफूहरूले यहाँको व्यवस्थापनमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाइन्। उनले भनिन्, चुनौती छ, अवसर छ, तर हरेक चुनौतीलाई अवसरमा बदल्ने तयारी गरिरहेका छौं। उनका अनुसार वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानीमात्र होइन, प्रदेशकै ‘क्यापिटल सिटी’ हो। राष्ट्रियस्तरको गौरवपूर्ण कार्यक्रम आयोजना गरेर कर्णालीलाई चिनाउने अवसर आएको छ। त्यसैले कुनै पनि बहानामा अब प्रतियोगिताको मिति परिवर्तन गर्न नहुने उनको जोड छ।
वीरेन्द्रनगर, छिन्चु र गुराँसेमा आवास व्यवस्थापन
आवास व्यवस्थापन १०औं राष्ट्रिय खेलकुदको अर्को ठूलो चुनौती हो। सुर्खेत उपत्यकामा सीमित होटल तथा आवास संरचना रहेकाले हजारौं खेलाडी र सहभागीलाई एकैपटक राख्न कठिन हुने अवस्था छ। प्रदेश खेलकुद विकास परिषद्ले सुर्खेतमा साना–ठूला गरी १ सय ५० भन्दा बढी होटल रहेको र रोटेसन प्रणालीबाट आवास व्यवस्थापन गर्ने तयारी भइरहेको छ। करिब ६ हजार पाँच सय खेलाडी तथा ठूलो संख्यामा प्रशिक्षक, व्यवस्थापक र प्राविधिक सहभागी हुने अनुमान भएकाले आवास व्यवस्थापन चुनौतीको विषय बनेको छ। तर, होटलसँगै स्थानियका घरलाई समेत उपयोग गरी पाहुँनाको सत्कार गरिनेछ।
प्रदेश खेलकुद परिषदका उपाध्यक्ष एवं आवास व्यवस्थापन समितिका संयोजक प्रमोद हमालले भने, छिन्चुमा २ सय ५० कोठा, गुराँसे दैलेखमा १ सय ५५ कोठा, वीरेन्द्रनगरमा ४ हजार ३ सय ५० बेडको तयारी गरिएको छ। सुर्खेतका सिद्धार्थ र शुभ होटेललाई भीभीआईपीलाई भनेर १ सय ५० बेड व्यवस्थापन गरिएको छ। सुर्खेत उपत्यकामा करिब ५ देखि ६ हजारसम्म आवास क्षमता रहेको र उद्घाटनका दिन ठूलो संख्यामा मानिसको व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले रोटेसन प्रणालीको तयारी गरिएको छ। एक दिनमा ३ हजार ५ सय खेलाडीहरू खेल्नेछन्। आवास व्यवस्थापनमा हामीले समस्या नपर्ने गरी काम गरिरहेका छौं।
१०औंले कर्णालीको अर्थतन्त्र चलाएमान हुने
१०औं राष्ट्रिय खेलकुदका कारण कर्णालीको अर्थतन्त्रमा पनि प्रत्यक्ष प्रभाव पर्ने छ। हजारौं खेलाडी, प्रशिक्षक, व्यवस्थापक, निर्णायक र दर्शक कर्णालीमा आउँदा होटल, यातायात, खाना, पसल, सञ्चार, पर्यटन र स्थानीय उत्पादनको कारोबार बढ्नेछ। प्रतियोगितालाई स्थानीय उत्पादनसँग जोड्न सके किसान, व्यवसायी, यातायात व्यवसायी, होटल तथा साना उद्यमीले समेत लाभ लिनेछन्। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईंले कर्णाली अर्गानिक प्रदेश भएकाले देशैभरबाट आउने पाहुँनाहरूलाई कर्णालीका अर्गानिक परिकार खुवाएर कर्णालीको अर्थतन्त्र चलाएमान गर्ने उद्देश्य रहेको बताए। उनले भने, हामीलाई यो अवसर पनि हो। कर्णालीको अर्गानिक उत्पादनले राम्रो बजार पाउँदैछ्। यसमा सबै सरोकारवालाहरूलाई जोड्नुपर्छ। यसमा निजी क्षेत्रको पनि उत्साह आवश्ययक छ।
कर्णाली पर्यटनको दृष्टिले पनि सम्भावनायुक्त प्रदेश हो। रारा, फोक्सुन्डो, मानसरोवर जाने हुम्ला, जुम्लाको तातोपानी तथा मार्सी क्षेत्र, कालीकोट, दैलेख, जाजरकोटलगायतका क्षेत्र राष्ट्रिय खेलकुदका पाहुनालाई चिनाउने अवसर छ। खेलकुद र पर्यटनलाई जोड्न सके १०औं राष्ट्रिय खेलकुद सकिएपछि पनि यसको प्रभाव कर्णालीमा रहन सक्छ। कर्णालीका पर्यटन व्यवसायी मनराज सिम्खाडाले भने, वीरेन्द्रनगरमा आउने खेलाडी र पाहुनालाई कर्णालीको संस्कृति, खानपान, भाषा, भेषभूषा र पर्यटकीय सम्भावनासँग परिचित गराउनुपर्छ। यसले कर्णालीलाई ‘दुर्गम प्रदेश’को पुरानो परिचयबाट बाहिर निकालेर सम्भावना र सामथ्र्य भएको प्रदेशका रूपमा चिनाउन सकिने छ। कर्णाली पर्यटकीय हिसाबले भर्जिन ल्याड हो। तर, यसको प्रचारप्रसार कम भएको छ। यो प्रतियोगिताले कर्णाली चिनाउने र कर्णाली घुम्न आउने पर्यटकहरूको संख्यामा पनि वृद्धि गराउनेछ।
सुर्खेत उद्योग वाणिज्य संघका पूर्वमहासचिव एवं व्यवसायी भद्र भण्डारीले कर्णालीमा सम्पन्न हुन लागेको १०औं राष्ट्रिय खेलकुदलाई कर्णाालीका व्यवसायीहरूले एक स्वर्णिम अवसरका रुपमा लिएको बताए। उनले भने, यो प्रतियोगितालाई यहाँका व्यवसायीहरूको पूर्ण साथ र सहयोग छ। हामीले हाम्रो ठाँउमा देशैभरीका पाहुनाहरूलाई स्वागत गर्ने अवसर पाउनेछौं। त्यसका लागि हामी आत्तुर छौं।
कर्णालीमा मूलआयोजक समितिका ५ निर्णय
सुर्खेतमा सम्पन्न १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता मूलआयोजक समितिको बैठकले ५ वटा निर्णय गरेको छ। समितिले पहिलो निर्णयमा सुर्खेतमा यो प्रतियोगिता आयोजनाका लागि नेपाल सरकारप्रति धन्यवाद दिने गरेको छ। दोस्रोमा १०औं राष्ट्रिय खेलकुद २०८३ मंसिर १६ देखि २७ गतेसम्म सम्पन्न गर्ने प्रतिबद्धता जनाइएको छ। तेस्रोमा प्रतियोगिताको पूर्वतयारीका लागि कार्यसम्पादन समितिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय भएको छ। चौथोमा उक्त प्रतियोगितामा ३२ खेलका विधामा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ। पाँचौंमा पारा राष्ट्रिय खेलकुद प्रतियोगिताको पनि तयारी अगाडि बढाउने निर्णय गरेको छ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहेताले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सबै तहका सरोकारवाला तयारी भइसकेको बताए। उनले चालु आवमा सरकारले ४४ करोड ८० लाख बजेट विनियोजन गरेको छ। यतिले नपुग्ने भएकाले थप बजेट पनि माग गरिएको छ। जसका आधारमा ७१ करोडको अधिनमा रहने छ। उनका अनुसार कर्णालीमा आयोजना हुने उक्त प्रतियोगिताको सबै पक्षहरूको अनुगमन गर्ने केन्द्रबाट प्राविधिक टोलीसमेत परिचालन गरिएको छ। उक्त प्रतियोगिताका लागि गठित उपसमितिहरूले पनि कामहरू अगाडी बढाएका छन्। उक्त प्रतियोगितामा ७ वटा प्रदेश, ३ वटा विभागीय टिम गरी ११ वटा टोलीले सहभागिता जनाउने उनको भनाइ छ।