: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अपार जनमतलाई अवमूल्यन गर्ने तथा हुर्मत लिने काम नगर्न चेतावनी दिएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै लामिछानेले विदेशीले बनाएको सरकार वा सेनाले निर्वाचन प्रभावित पारेकोजस्ता अभिव्यक्ति दिएर जनमतलाई कमजोर पार्ने काम नगर्न आग्रह गरेका हुन्।
‘यो अपार जनमतलाई अवमूल्यन गर्ने, हुर्मत लिने, विदेशीले बनाएको सेनाले भोटिङ प्रभावित पारेको अभिव्यक्ति दिएर कमजोर पार्ने काम नगर्नुहोला,’ उनले भने, ‘विशुद्ध भोटबाट रास्वपा यहाँ आएको हो।’
उनले सरकार नढल्ने दाबी गर्दै सरकार ढल्छ–ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्ने टिप्पणी गरे। लोकतन्त्र खतरामा नरहेको भन्दै उनले लोकतन्त्र खतरामा परेको दिन जनताले त्यसको रक्षा गर्ने बताए।
आन्दोलनबाट सरकार ढाल्ने प्रयास नगर्न आग्रह गर्दै लामिछानेले सरकारलाई निर्वाचनबाटै ढाल्नुपर्ने बताए। निर्वाचनकै माध्यमबाट देश विकास गर्न सकिने भन्दै उनले सार्वभौम जनताबाट निर्वाचित सरकार र निर्वाचन प्रक्रियाको अपमान गर्न नहुने बताए।
‘हामीले काम गर्न सकेनौँ भने अर्को चुनावमा हामीलाई डाँडा कटाइदिनुस्,’ उनले भने, ‘यो पाँच वर्षमा काम गर्न सक्दैन भने रास्वपाको सदस्यता च्यातिदिए हुन्छ।’
लामिछानेले सुरक्षा निकायलगायत विभिन्न निकायलाई राजनीतिक स्वार्थका लागि आरोप लगाउने काम गर्न नहुने पनि बताए। राजनीतिक स्वार्थका लागि विभिन्न निकायलाई दोष लगाउने र तानाबाना बुन्ने काम उचित नहुने उनको भनाइ थियो।
‘सुरक्षा निकायलाई आरोप लगाइरहँदा हामीलाई त्यो छुट छैन। हाम्रो राजनीतिक स्वार्थका लागि विभिन्न निकायलाई दोष लगाउन पाइँदैन,’ उनले भने।
रास्वपाले सरकार र पार्टीका जिम्मेवारी बाँडेर काम गरिरहेको उल्लेख गर्दै उनले मूल्य र मान्यताबाट आफूहरू विमुख नहुने बताए। मुलुक कतै अप्ठ्यारोमा वा ट्र्याकबाहिर गएको हो कि भन्ने चिन्ता जायज भए पनि लोकतान्त्रिक दलहरूले कम्तीमा अर्को निर्वाचनसम्म कुर्न सक्नुपर्ने उनको भनाइ थियो।