: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले नेपाल बदल्ने क्षमता राख्ने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले कांग्रेस बदलिएको मात्र नभई बदलिएको कांग्रेसले नेपाल बदल्ने क्षमता राख्ने बताएका हुन्।
उनले अहिले संसद खुला नभएको र संसद बन्द रहेको भन्दै राजनीतिप्रति वितृष्णा जागेको बताए। अहिलेको राजनीति अति राजनीतिकरणमा परेको उनको भनाइ थियो। ‘हामी अहिले सानो भएका छौँ। तर यसअघि पनि कांग्रेस सानो-ठूलो भएको छ। त्यसले कांग्रेसलाई केही फरक परेको छैन,’ थापाले भने।
सरकारले सरकारको र प्रतिपक्षले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले अहिले संसदमा जुहारी चलिरहेको बताए। तर, यस्तो हल्का ढंगबाट देशका विषय सम्बोधन हुन नसक्ने उनको भनाइ थियो।
छ महिनाअघि बनेको सरकारलाई रातारात सबै समस्या समाधान गर्न दबाब दिन नहुने भन्दै थापाले पहिले केही नभएको र अब जादूको भरमा सबै परिवर्तन गरिदिन्छु भन्ने सोच पनि गलत हुने बताए।
उनले रुस-युक्रेन युद्ध, मध्य एसियाको द्वन्द्व, अमेरिकाको व्यवहार तथा विश्व राजनीतिमा आएका परिवर्तनले नेपाललाई समेत प्रभाव पारिरहेको बताए। जलवायु परिवर्तन र प्रविधिको विकासले समेत ठूलो प्रभाव पारिरहेको भन्दै उनले यी विषयमा संसद र समाजमा पर्याप्त छलफल हुन नसकेको बताए।
‘चीन र भारतमा यत्रो बजार हुँदा हुँदै किन चल्न सकेनौँ हामी?’ प्रश्न गर्दै थापाले कांग्रेसले लोकतन्त्र र विविधतालाई व्यवहारमा उतार्न सक्नुपर्ने बताए। उनले कांग्रेस लोकतन्त्र र डेलिभरीबीच पुल बन्नुपर्ने बताए। कांग्रेसको विचार र बाटो स्पष्ट हुनुपर्ने भन्दै थापाले सिद्धान्तबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे।‘बरु पाँचवटा चुनाव हार्छौँ, तर सिद्धान्तबाट पछि हट्दैनौँ,’ उनले भने।
कांग्रेस परिवर्तन हुनु भनेको नयाँ हुनु मात्रै नभएको भन्दै थापाले बीपी कोइराला र गणेशमान सिंहको राजनीतिक योगदानको आत्मा कांग्रेसमै रहेको बताए। शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिएको प्रसंग उल्लेख गर्दै थापाले देउवाले काम गरेको पार्टीलाई अग्लो र फराकिलो बनाउन सकेको छ कि छैन भन्नेबाट उनको सम्मान कायम हुने बताए।
कांग्रेस छाडेर गएकाहरूलाई पनि फर्किन आह्वान गर्दै उनले कांग्रेसलाई माया गर्नेहरूलाई विगतमा चोट पुगेको स्वीकार गरे। ‘कांग्रेसले तपाईंलाई छाडेको थियो, अब जोड्न आउँछ भनिदिनुहोला,’ उनले भने।
थापाले कांग्रेसको कोही पनि दुश्मन नभएको समेत बताए। अन्त्यमा उनले भने, ‘कांग्रेस बदलिएको मात्र होइन, यो बदलिएको कांग्रेसले नेपाल बदल्ने क्षमता राख्छ।’