: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ६ महिनामै बनेको सरकारलाई अनावश्यक रूपमा भारी बोकाउन नहुने बताएका छन्। उनले रातारात परिवर्तन सम्भव नहुने भन्दै ‘छुमन्तर’ गरेर सबै समस्या समाधान गरिदिन्छु भन्नु पनि उचित नहुने बताए।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै थापाले अहिले संसद् खुला नरहेको र राजनीतिप्रति वितृष्णा बढेको बताए। देशमा अति राजनीतिकरण भएको उल्लेख गर्दै उनले संसद्मा सरकार र प्रतिपक्षबीच जुहारी चलिरहेको भए पनि गम्भीर विषयमा पर्याप्त छलफल हुन नसकेको बताए।
‘सरकारले सरकारको र प्रतिपक्षले प्रतिपक्षको काम गर्ने हो। अहिले संसद्मा जुहारी चलिरहेको छ। तर यति हल्का ढंगले देशको सम्बोधन हुन्छ,’ उनले भने।
थापाले कांग्रेस अहिले सानो भएको स्वीकार गर्दै विगतमा पनि कांग्रेस कहिले सानो र कहिले ठूलो भएको बताए। आकार परिवर्तन हुँदैमा कांग्रेसलाई खासै फरक नपरेको उनको भनाइ थियो। ‘हामी अहिले सानो भएका छौँ। तर यसअघि पनि कांग्रेस सानो-ठूलो भएको छ। त्यसले कांग्रेसलाई केही फरक परेको छैन,’ उनले भने।
उनले ६ महिनामै बनेको सरकारबाट तत्कालै सबै समस्या समाधानको अपेक्षा गर्नु उचित नहुने बताए। ‘अहिले ६ महिना बनेको सरकारलाई म भारी बोकाउन चाहँदिनँ। रातारात केही हुँदैन। तर पहिले केही भएर अब म छुमन्तरले गरिदिन्छु भनेर पनि हुँदैन,’ थापाले भने।
थापाले विश्वमा भइरहेको युद्ध, बदलिँदो अन्तर्राष्ट्रिय राजनीति, व्यापारिक नीतिमा आएको परिवर्तन, जलवायु परिवर्तन र प्रविधिको विकासले नेपाललाई समेत प्रभाव पारिरहेको बताए। युक्रेन–रुस युद्ध, मध्य एसियाका द्वन्द्व, अमेरिकाको व्यवहार तथा विश्व राजनीतिमा आएका परिवर्तनबारे नेपालमा पर्याप्त बहस नभएको उनको भनाइ थियो।
‘सबैले उच्च कर लगाएका छन्। क्लाइमेट चेन्ज र प्रविधिको विकासले कस्तो प्रभाव पारेको छ, हामीले कल्पनासमेत गरेका छैनौँ। तर यसबारे कहाँ छलफल भएको छ? संसद्मा भएको छ? समाजमा भएको छ? खै कहाँ छ खुलामञ्च?’ उनले प्रश्न गरे।