मुख्य समाचार
पार्टीका आधारभूत सिद्धान्तहरू राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई बदलिँदो समय र नयाँ पुस्ताका आकाङ्क्षाहरूसँग जोड्दै समकालीन व्याख्या
पार्टीका आधारभूत सिद्धान्तहरू राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई बदलिँदो समय र नयाँ पुस्ताका आकाङ्क्षाहरूसँग जोड्दै समकालीन व्याख्या

। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका आधारभूत सिद्धान्तहरू राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई बदलिँदो समय र नयाँ पुस्ताका आकाङ्क्षाहरूसँग जोड्दै समकालीन व्याख्या गरेको छ।

काठमाडौंमा जारी १५औं महाधिवेशनमा सोमबार सभापति थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टीका ऐतिहासिक आदर्शहरूलाई नारामा मात्र सीमित नराखी आजको यथार्थसँग जोड्ने प्रयास गरिएको उल्लेख गरेका छन् । दस्ताबेजले ‘समुन्नत नेपाल’ को परिकल्पना गर्दै बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई पनि नयाँ सन्दर्भमा अर्थ्याउने प्रयास गरेको छ ।

कांग्रेसको नयाँ व्याख्याअनुसार अब राष्ट्रियता भनेको राज्यको औपचारिक सार्वभौमिकता र सीमाको रक्षा मात्र होइन; यो त नेपाली जनताको सामूहिक स्वाधीनता र स्वामित्वको विषय हो।

‘बदलिएको विश्वमा राष्ट्रिय स्वाधीनताको अर्थ सीमाको रक्षा र कूटनीतिक स्वतन्त्रतामा मात्र सीमित रहन सक्दैन,’ प्रतिवेदनमा भनिएको छ, ‘ऊर्जा, खाद्य, वित्त, प्रविधि, अनुसन्धान, उत्पादन, आपूर्ति र सार्वजनिक संस्थामा पर्याप्त विकल्प र क्षमता नहुँदा बाह्य सङ्कटका बेला राजनीतिक स्वतन्त्रता व्यवहारमा कमजोर हुन सक्छ।‘

थापाले समकालीन राष्ट्रियतालाई राष्ट्रिय सामर्थ्यसँग जोडेर व्याख्या गरेका छन्। बाह्य शक्तिप्रति कठोर भाषण गर्दैमा राष्ट्रियता बलियो नहुने भन्दै आन्तरिक रूपमा क्षमता, विश्वास र संस्थागत निरन्तरता निर्माण गर्नुपर्नेमा दस्ताबेजले जोड दिएको छ।

लोकतन्त्र : निर्वाचन मात्र होइन, नागरिक स्वामित्व

लोकतन्त्रलाई केवल सरकार बनाउने विधिका रूपमा मात्र बुझ्ने परम्परागत भाष्यलाई भत्काउँदै कांग्रेसले यसलाई ‘सार्वजनिक शक्तिमाथि नागरिकको स्वामित्व’ का रूपमा परिभाषित गरेको छ।

‘नागरिक मतदाता मात्र होइन; अधिकारधारी, करदाता, सेवाग्राही, उत्पादक, श्रमिक, उद्यमी, आलोचक र सार्वजनिक निर्णयको सहलेखक पनि हो,’ प्रतिवेदनमा उल्लेख छ, ‘अधिकारको संवैधानिक घोषणा र नागरिकले त्यसलाई व्यवहारमा प्रयोग गर्न सक्ने अवस्था सधैं एउटै हुँदैन। निर्वाचन हुनु र प्रतिनिधित्व प्रभावकारी हुनु, कानुन हुनु र न्याय पहुँचयोग्य हुनु फरक कुरा हुन्।’

यही दूरीलाई मेटाउँदै लोकतन्त्रलाई नागरिकको दैनिक जीवनमा काम गर्ने व्यवस्थाका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

समाजवाद : वास्तविक स्वतन्त्रता र क्षमता निर्माण

राजनीतिक स्वतन्त्रतालाई वास्तविक स्वतन्त्रतामा बदल्न कांग्रेसले समाजवादको व्यावहारिक अर्थ खोजेको छ। ‘नागरिक भोक, रोग, अशिक्षा, बेरोजगारी, ऋणको असुरक्षा वा चरम आर्थिक निर्भरतामा बाँधिएको छ भने संविधानले दिएको स्वतन्त्रता उपभोग गर्न ऊ असमर्थ हुन्छ,’ प्रतिवेदनमा भनिएको छ।

कांग्रेसले लोकतान्त्रिक समाजवादलाई राज्यले सहायता बाँड्ने व्यवस्थामा मात्र सीमित नराखी ‘शिक्षा, स्वास्थ्य, पोषण, सीप, काम, उद्यमको अवसर, सामाजिक सुरक्षा र कानुनी संरक्षणमार्फत नागरिकको क्षमता निर्माण’ गर्ने आधार मानेको छ। असमानता हटाउन राज्यले नागरिकको जीवन सुरु गर्ने प्रारम्भिक अवस्थादेखि नै बजारका नियम र आर्थिक अवसरहरूमा निष्पक्ष प्रवेशको सुनिश्चितता गर्नुपर्नेमा जोड दिइएको छ।

राष्ट्रिय मेलमिलाप : विविध नेपालीलाई जोड्ने सूत्र

बीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय मेलमिलापलाई कांग्रेसले अब ऐतिहासिक राजनीतिक समझदारीका रूपमा मात्र नभई ‘विविध नेपालीलाई एउटै साझा राष्ट्रिय समुदायमा बाँध्ने सामाजिक र सांस्कृतिक पद्धतिका रूपमा’ पुनः व्याख्या गरेको छ।

‘मेलमिलापको अर्थ मतभेद समाप्त गर्नु होइन। लोकतान्त्रिक समाजमा असहमति स्वाभाविक र आवश्यक हुन्छ,’ दस्ताबेजमा स्पष्ट पारिएको छ, ‘यसको अर्थ त्यस्तो साझा राजनीतिक तथा सामाजिक आधार निर्माण गर्नु हो; जहाँ असहमति हिंसा, बहिष्करण वा राष्ट्रिय विखण्डनतर्फ नजाओस्।’

पहाड, मधेस र हिमाल, विभिन्न जातजाति, भाषा र धर्म, सहर र गाउँ, देशभित्र र प्रवासमा रहेका नेपालीबीच ‘साझा राष्ट्रिय स्वामित्वको अनुभूति’ गराउनु नै आजको राष्ट्रिय मेलमिलाप भएको कांग्रेसको निष्कर्ष छ।

पार्टीका यी तीन ऐतिहासिक आदर्श र मेलमिलापको नीतिको सन्तुलनबाट मात्रै समुन्नत नेपाल निर्माण हुन सक्ने र नागरिकको पहिचान, प्रतिनिधित्व, पहुँच र प्रगति सुनिश्चित हुने कांग्रेसको वैचारिक सङ्कल्प छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसले भविष्यमा हुने कुनै पनि निर्वाचनमा चुनावअघि अन्य दलसँग गठबन्धन नगर्ने प्रस्ट नीति अघि सारेको छ। काठमाडौंमा जारी १५औं महाधिवेशनमा सभापति गगन थापाले पेस गरेको राजनीतिक प्रस्तावमा आफ्नै चुनाव चिह्न रुखमा मात्रै चुनाव लड्ने दृढ संकल्प गरिएको हो। विगतका निर्वाचनहरूमा अन्य दलसँग गठबन्धन गर्दा पार्टीको पहिचान र जनसम्बन्ध कमजोर भएको निष्कर्ष निकाल्दै कांग्रेसले अब एक्लै ...
। नेपाली कांग्रेसले पार्टीको वित्तीय प्रणालीलाई पारदर्शी बनाउन र स्वार्थ समूहको प्रभाव अन्त्य गर्न कडा वित्तीय अनुशासनको प्रस्ताव अघि सारेको छ। १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले पेस गरेको राजनीतिक दस्तावेजमा पार्टीका हरेक तहलाई स्वीकृत वार्षिक तथा कार्यक्रमगत बजेटअनुसार चलाइने उल्लेख छ। पार्टीको कोषसम्बन्धी निर्णय अब नेतृत्वको व्यक्तिगत विवेकमा मात्र निर्भर नरहने र प्राइमरी तथा आन्तरिक निर्वाचनको खर्चमा ...
। सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ । गएराति करिब १ बजे जनकपुरबाट घरतर्फ जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा मदनपुरका ३३ वर्षीय तुलसी ठाकुर सामान्य घाइते भएका छन् । घटनास्थलमा पुगेको प्रहरीले ठाकुरको शरीर खानतलासी गर्दा एक थान सिक्सर पेस्तोल फेला ...
। सरकारले अत्यावश्यकबाहेक हालका लागि भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री वालेन शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को एक्काइसौँ बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रुपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ । जिल्ला सुरक्षा ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले नेपाली कांग्रेसलाई व्यवहारमा सुधारिएको देख्न चाहेको टिप्पणी गरेकी छन् । कांग्रेसको जारी १५ औं महाधिवेशनप्रति धारणा राख्दै रास्वपा केन्द्रीय सदस्य कार्कीले संघीय संसद्‌मा संख्यामा सानो देखिए पनि लोकतान्त्रिक इतिहासमा नेपाली कांग्रेसको योगदान अग्लो रहेको बताइन् । कांग्रेस केवल एक राजनितिक दलको नाम मात्रै नभई लोकतान्त्रिक ईतिहासको महत्वपूर्ण ...