मुख्य समाचार
अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल
अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल

। अर्जेन्टिनाका कप्तान तथा विश्व फुटबलका महान् खेलाडी लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् ।

अन्तिम अन्तर्राष्ट्रिय खेलमा मेसीले एक गोल र दुई असिस्ट गर्दै अर्जेन्टिनालाई बेनिनमाथि ३–० को सहज जित दिलाएपछि उनको भावुक बिदाइ गरिएको छ ।

ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा ८५ हजारभन्दा बढी दर्शकबीच ३९ वर्षीय मेसीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल खेलेका हुन् ।

अर्जेन्टिनाका लागि यो मेसीको २०८औं अन्तर्राष्ट्रिय खेल थियो । उनले खेलको १०औं मिनेटमा आफ्नो प्रसिद्ध १० नम्बरको जर्सीको सम्मानमा भएको एक मिनेटको तालीपछि मैदानमा भावुक क्षण बिताए ।

खेलमा भेट्रान डिफेन्डर निकोलस ओटामेन्डीले अर्जेन्टिनाका लागि पहिलो गोल गरे । त्यसमा मेसीले असिस्ट गरेका थिए । त्यसपछि निको पाजले दोस्रो गोल गरे भने मेसीले ७१औं मिनेटमा पेनाल्टीमार्फत आफ्नो १२६औं अन्तर्राष्ट्रिय गोल पूरा गरे ।

मेसीको अन्तिम खेललाई अर्जेन्टिनामा ‘द लास्ट ट्याङ्गो’ नाम दिइएको थियो । खेलअघि नै उनी भावुक बनेका थिए । स्टेडियम पुग्ने क्रममा समर्थकहरूले भरिएको सडकमा अर्जेन्टिनी टोलीको बस अघि बढ्दा मेसीले आँसु पुछिरहेका थिए ।

मैदानमा प्रवेश गर्दा मेसी आफ्ना तीन सन्तानसँगै थिए । उनकी पत्नी एन्टोनेला रोकुज्जो र आमा सेलिया कुक्चिटिनीले भीआईपी बक्सबाट उनलाई हात हल्लाउँदै बिदाइ गरे ।

खेल सुरु हुनुअघि मैदानमा मेसीको १० नम्बरको जर्सीसहित ‘न्चबअष्बक’ अर्थात् ‘धन्यवाद’ लेखिएको विशाल अर्जेन्टिनी जर्सी राखिएको थियो । त्यसपछि स्टेडियममा उपस्थित समर्थकहरूले मेसीको सम्मानमा ठूलो आवाजमा जयजयकार गरेका थिए ।

फकल्यान्ड युद्धका पूर्वसैनिक फाबियो सान्तानाले राष्ट्रिय गान गाएका बेला मेसी पुन: भावुक देखिए । त्यस अवसरमा ‘द माल्भिनास आर अर्जेन्टाइन’ लेखिएको ब्यानर पनि प्रदर्शन गरिएको थियो ।

खेल सकिएपछि स्टेडियममाथिको आकाशमा ड्रोन शो आयोजना गरिएको थियो । ड्रोनमार्फत मेसीको आकृति बनाउँदै आठपटकका बालोन डी’ओर विजेतालाई उनको अतुलनीय करियरका लागि धन्यवाद दिइएको थियो ।

‘मैले आफ्नो सबै दिएँ, मसँग केही बाँकी छैन’

मेसीको अन्तर्राष्ट्रिय बिदाइ अर्जेन्टिनाले स्पेनसँग विश्वकपको फाइनलमा १–० को हार बेहोरेको करिब साढे दुई महिनापछि भएको हो । अमेरिकाको न्यु जर्सीमा भएको उक्त खेलपछि मेसी आँसु झार्दै मैदानबाट बाहिरिएका थिए ।

त्यसपछि मेसीले आफूले अर्जेन्टिनाका लागि आफ्नो सम्पूर्ण क्षमता दिएको बताएका थिए । ‘मैले आफ्नो सबै दिएँ । अब दिनका लागि मसँग केही बाँकी छैन । साथै, उत्कृष्ट युवा खेलाडीहरू आइरहेका छन्, उनीहरूले आफ्नो अवसर पाउनुपर्छ,’ उनले त्यतिबेला लेखेका थिए ।

अन्तिम खेलअघि ब्युनस आयर्स विश्वविद्यालयले अर्जेन्टिना फुटबल संघ (एएफए) को मुख्यालयमा आयोजित समारोहमा मेसीलाई मानार्थ डक्टरेट उपाधि प्रदान गरेको थियो ।

‘म मानार्थ डाक्टर हुँ भनेर भन्न पाउनु !’ भन्दै मेसीले ठट्टा गरेका थिए । उनले उक्त सम्मानप्रति गर्वसमेत व्यक्त गरे ।

एएफए मुख्यालयबाहिर समर्थकहरूले मेसीको तस्बिरसहितको विशाल अर्जेन्टिनी झण्डा प्रदर्शन गरेका थिए । त्यसमा ‘द जोय अफ माइ लाइफ’ अर्थात् ‘मेरो जीवनको खुसी’ लेखिएको थियो ।

मेसीले अर्जेन्टिनाका लागि २०२२ को विश्वकप जिताउँदै ३६ वर्षपछि देशलाई विश्वकप उपाधि दिलाएका थिए । त्यससँगै उनी अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोनाका उत्तराधिकारीका रूपमा स्थापित भएका थिए ।

मेसीको अन्तर्राष्ट्रिय करियरमा अर्जेन्टिनाले एकपटक विश्वकप जितेको छ । उसले २०१४ र २०२६ मा विश्वकपको उपविजेता बनेको थियो । त्यस्तै २०२१ र २०२४ मा कोपा अमेरिका उपाधि जितेको थियो ।

मेसी हाल अमेरिकी क्लब इन्टर मियामीसँग २०२८ सम्मको सम्झौतामा छन् । यद्यपि उनका पिता जर्ज मेसीको दुई महिनाअघि निधन भएपछि उनले व्यावसायिक फुटबलबाट पनि अपेक्षाभन्दा चाँडै बिदा लिन सक्ने संकेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: शिरस्थान मन्दिर दैलेखस्थित नेपालकै एक प्रसिद्ध धार्मिक तथा ऐतिहासिक तीर्थस्थल हो। यो दैलेखका पञ्चकोशी तीर्थस्थलमध्येको एक प्रमुख पीठ मानिन्छ। जहाँबाट यसपाली १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ओलम्पिक टर्च बालेर ट्रफी टुर शुभारम्भ गरिएको छ। कर्णाली प्रदेशमा आयोजना गरिएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार र खेलकुदको उत्सवलाई राष्ट्रियस्तरमा पुर्‍याउने उद्देश्यसहित ओलम्पिक टर्च तथा ट्रफी टुर सुरु गरिएको ...
। नेपाल फुटबल लिग (एनएफएल) को पहिलो संस्करणमा धरान, वीरगंज र सुर्खेतको टिम थपिएपछि लिग खेल्ने १० वटै टोलीको टुंगो लागेको छ । प्रतियोगिताका लागि थप तीन नयाँ टोली छनोट भएसँगै सहभागी हुने सबै टोली निश्चित भएका हुन् । एनएफएलका अध्यक्ष कल्याण गुरुङका अनुसार २० टोलीले बोलपत्र पेस गरेकामा धरान, वीरगञ्ज र सुर्खेतका टोली छनोट भएका छन् ...
: मध्यपुर थिमि नगरपालिकाले बागमती प्रदेशव्यापी अन्तरनगरपालिकास्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताको विजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रसँगै १० लाख २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । अन्तरनगरपालिका स्तरमा सर्वाधिक पुरस्कार राशि रहेको यस फुटबल प्रतियोगिताको उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले ...
। इन्दु बर्मा र रोमा थापाको महत्वपूर्ण साझेदारीमा एपीएफ क्लबले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेटमा मधेश प्रदेशलाई ८० रनले पराजित गरेको छ। लगातार दोस्रो जितसँगै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ। एपीएफले दिएको १४४ रनको लक्ष्य पछ्याएको मधेशले ७ विकेट गुमाएर ६३ रन मात्रै बनाउन सक्यो। मधेशका सुरुआती तीन ब्याटर एलिशा यादव, सना प्रविन र कप्तान पूजा ...
। त्रिभुवन आर्मी क्लबले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा लगातार दोस्रो जित दर्ता गरेको छ। शुक्रबार भएको खेलमा आर्मीले बागमती प्रदेशलाई २–० गोलले पराजित गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्मीले दोस्रो हाफमा दुई गोल गर्‍यो। ६४औं मिनेटमा लाकेन लिम्बुले गोल गर्दै आर्मीलाई अग्रता दिलाए। अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले ...