मुख्य समाचार
मन्त्रालयले ‘पशु वधशाला र मासु जाँच (दोस्रो संशोधन) नियमावली २०५७’ को मस्यौदा सार्वजनिक
मन्त्रालयले ‘पशु वधशाला र मासु जाँच (दोस्रो संशोधन) नियमावली २०५७’ को मस्यौदा सार्वजनिक

। कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘पशु वधशाला र मासु जाँच (दोस्रो संशोधन) नियमावली २०५७’ को मस्यौदा सार्वजनिक गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै विधायन ऐन २०८१ को दफा ६ को उपदफा (२) को प्रयोजनार्थ उक्त मस्यौदामाथि सर्वसाधारण र सरोकारवालाबाट राय, सुझाव तथा पृष्ठपोषण माग गरेको हो ।

सार्वजनिक गरिएको संक्षिप्त विवरण अनुसार यस मस्यौदाको मुख्य उद्देश्य मासु विक्रेताको इजाजत लिने प्रक्रिया सरलीकृत गर्ने, मासु पसल तथा पशु वध गर्ने स्थलको भौतिक मापदण्ड समयसापेक्ष बनाउने र मासु जाँचमा प्राविधिक जनशक्तिको कामलाई समेत समेट्ने रहेको छ ।

प्रस्तावित नयाँ व्यवस्था अनुसार अब मासु पसल र पशु वध गर्ने स्थान पूर्णरूपमा अलग–अलग हुनुपर्ने छ । पशु वध गर्नुभन्दा अगाडि पशुलाई कम्तीमा १२ घण्टासम्म विश्राम गराउन सक्ने छानासहित टहरा अनिवार्य निर्माण गर्नुपर्ने छ ।

यसका साथै, वध गर्नुअघि पशुलाई सफा गर्ने, स्वास्थ्य परीक्षण गर्ने र रोगको शंका लागेका वा बिरामी पशुलाई छुट्टै राख्ने विशेष व्यवस्था हुनुपर्ने प्रस्ताव मस्यौदामा छ ।

छाला काढ्ने, भुत्ल्याउने, मासु सफा गरी काट्ने र परीक्षण गरी बिक्री–वितरण गर्ने ठाउँसमेत व्यवस्थित हुनुपर्ने छ ।

उपभोक्ता स्वास्थ्य ध्यानमा राख्दै मासु पसलमा स्वच्छ र सफा पानीको पर्याप्त व्यवस्थाका साथै उपभोक्ताका लागि हात धुने व्यवस्था समेत अनिवार्य गरिएको छ ।

मासुको गुणस्तर र स्वच्छता कायम राख्न बिक्री कक्षमा ‘कोल्डचेन’ का लागि चिलर वा फ्रिजरको व्यवस्था हुनुपर्ने नियम समेत प्रस्ताव गरिएको छ ।



मस्यौदाले पशु वध गर्ने र मासु काट्ने व्यक्तिले पालना गर्नुपर्ने सर्तमा पनि कडाइ गरेको छ । नयाँ नियम ८ ‘क’ थप गर्दै रोगको शंका भएको वा दाग, धब्बा देखिएको मासु र मासुसँग भएको झिल्ली (सिरस मेम्ब्रेन) जस्ता पदार्थ मासु निरीक्षकको आदेशविना कुनै पनि तरिकाले हटाउन वा मेटाउन नपाइने व्यवस्था गरिएको छ ।

यदि कुनै पशुको आपत्कालीन वध गर्नुपर्ने स्थिति आए कारणसहित मासु निरीक्षक समक्ष पूर्वसूचना दिनुपर्ने छ । त्यस्तै रोगी पशुको मासुमा प्रयोग भएका कपडा, औजार वा हतियार निर्मलीकरण नगरी पुन: प्रयोग गर्न पूर्णरूपमा रोक लगाइएको छ भने वध गरिएको पशुको मासु निरीक्षकले निरीक्षण गरिसकेपछि प्राप्त निर्देशन अनुसार मात्र काम गर्नुपर्ने छ ।

यस संशोधनले मासु निरीक्षकको अधिकार र दायित्व थप फराकिलो र स्पष्ट बनाएको छ । निरीक्षकले पशु वधशाला वा वधस्थल मापदण्ड बमोजिम भए/नभएको यकिन गरी सञ्चालकलाई आवश्यक निर्देशन दिन सक्नेछन् ।

पशु वधका लागि योग्य भए/नभएको, मासु मानव उपभोगका लागि योग्य भए/नभएको निर्णय गर्ने, अस्वस्थ मासु नष्ट गर्ने र मासुको अवस्था हेरी योग्य, अयोग्य वा शंकास्पद भनी छाप लगाउने सम्पूर्ण अधिकार निरीक्षकलाई दिइएको छ ।

यसैगरी मासु निरीक्षकले छाप वा चिह्न लगाइसकेपछि मासुको सुरक्षित ढुवानी, भण्डारण र गुणस्तर कायम राख्ने सम्पूर्ण दायित्व सम्बन्धित बधशाला वा बधस्थल सञ्चालक, ढुवानीकर्ता र मासु विक्रेताको हुनेछ ।

प्रणालीलाई आधुनिक र पारदर्शी बनाउन विभागले पशु वधशाला र मासु जाँचसम्बन्धी व्यवस्था अभिलेखीकरण गर्न ‘एकीकृत डिजिटल प्रणाली’ सञ्चालन गर्न सक्ने व्यवस्था समेत मस्यौदामा थपिएको छ ।

प्रशासनिक झन्झट कम गर्न यसअघि सम्बन्धित वडा कार्यालय र गाउँ वा नगर कार्यपालिकाको परामर्शमा हुने कतिपय सिफारिसका काम अब ‘पशुपन्छी हेर्ने शाखा वा महाशाखा’ बाट हुने गरी कानुनी शब्दावलीमा परिमार्जन गरिएको छ ।

मन्त्रालयले सूचना प्रकाशन भएको मितिले एक साताभित्र यस मस्यौदामाथि आफ्ना रचनात्मक राय तथा सुझाव मन्त्रालयको ठेगाना वा इमेलमा उपलब्ध गराइदिन सम्पूर्ण सरोकारवाला तथा सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले एकल महिला उद्यमीलाई दुई लाखसम्मको प्रविधि सहयोग गर्ने भएको छ । यस्तै, महिला उद्यमी समूहलाई तीन लाखसम्मको प्रविधिमा सहयोग गर्ने भनेको छ । महिला उद्यमशीलता विकास, वित्तीय पहुँच, टेवा पुँजी र प्रविधि सहयोगसहित महिला उद्यमी तथा उद्यमी समूहलाई उद्यमशीलता प्रवर्द्धन कार्यक्रम अन्तर्गत यो सहयोग गर्ने ...
। भदौ १० मा आएको रसुवा बाढीका कारण चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर घट्ने विश्व बैंकको अनुमान छ । बैंकले बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले आर्थिक वृद्धि ३.७ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको हो । विश्व बैंकको पछिल्लो विकाससम्बन्धी अद्यावधिक प्रतिवेदनअनुसार, पुनर्निर्माण तथा पुनर्स्थापनाका गतिविधि सुरु हुँदा आर्थिक क्रियाकलापमा टेवा पुग्ने अनुमान गरिएको छ ...
। नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा ५४०.४७ मेगावाट क्षमताका २७ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने मिति (आरसीओडी) थप गरेको छ । विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेका तर निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न नसकेका आयोजनाको वास्तविक अवस्था मूल्यांकन गरी प्राधिकरणले आरसीओडी थप गरेको हो । प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीए अनुसार प्रवर्द्धकले पूरा गर्नुपर्ने ...
। सरकारले वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । उक्त प्रयोजनका लागि अर्थ मन्त्रालयले छनोट सम्बन्धी कार्यविधि बनाएको छ । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत वैकल्पिक विकास वित्त कोष कार्यान्वयन घोषणा गरेको थियो । सोही अनुसार वैकल्पिक विकास वित्त परिचालन ऐन २०८३ समेत स्वीकृत गरी कार्यान्वयनमा ल्याएको ...
। नेपाल राष्ट्र बैंकले नियमित कार्यालय समयमा खुद्रा नोट सटही सुविधा उपलब्ध गराएको छ । यसपालि दसैंमा केन्द्रीय बैंकले मिति तोकेर नयाँ नोट वितरण नगरी नियमित कामकै रूपमा यस्तो सेवा दिने भएको हो । केन्द्रीय बैंकले यसपालि नयाँ तथा खुद्रा नोट सटहीको औपचारिक सूचना जारी नगर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले बताए । ‘दसैंका बेला नयाँ ...