: भारतीय विदेश मन्त्रालयले नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेला सिफारिस गरेको छ। भारत सरकारले देलाललाई नेपालको राजदूतमा नियुक्त गर्न लागेको हो।
नेपाल सरकारले सहमति दिएपछि उनी राजदूतमा नियुक्त भएर काठमाडौंस्थित भारतीय दूतावासमा जिम्मेवारी सम्हाल्न आउनेछन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यसअघिका राजदूत नवीन श्रीवास्तव कार्यकाल पूरा गरेर फर्किएपछि भारतले नयाँ राजदूत प्रस्ताव अगाडि बढाएको हो।
दलेला सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका कूटनीतिज्ञ हुन्। उनले इजरायलको तेल अभिभ, ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय नियोगमा विभिन्न जिम्मेवारी सम्हालेका छन्।
सन् २००९ देखि २०११ सम्म प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा कार्यरत थिए। उनी सन् २००६-२००७ मा विदेश मन्त्रालयको ‘नर्थ’ डिभिजनका निर्देशक तथा सन् २०१६ देखि २०१९ सम्म त्यही डिभिजनका सहसचिव (ज्वाइन्ट सेक्रेटरी) थिए। विश्व व्यापार संगठन (डब्ल्यूटीओ)का लागि भारतको स्थायी नियोगमा दुईपटक कार्यरत दलेलाले सन् २०१४ देखि २०१६ सम्म भारतका उपस्थायी प्रतिनिधिको जिम्मेवारी सम्हाले।
उनी सिकागोस्थित भारतीय महावाणिज्यदूत र वासिङ्टन डीसीस्थित भारतीय दूतावासमा सन् २०११ देखि २०१४ सम्म राजनीतिक मामिलाका मन्त्री, सन् २०२० देखि २०२२ सम्म उपप्रमुख (डेपुटी चिफ अफ मिसन)का रूपमा काम गरे।
सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूत रहेका दलेलाले १ सेप्टेम्बर २०२५ देखि भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन्।