मुख्य समाचार
परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच भेटवार्ता
परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच भेटवार्ता

। परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच भेटवार्ता भएको छ । भेटमा दुवै पक्षले नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा सहकार्यलाई थप विस्तार गर्ने विषयमा जोड दिएका थिए ।

मन्त्री खनालको सचिवालयका अनुसार मेलबर्नमा बिहीबार भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो ।

भेटवार्ताका क्रममा अस्ट्रेलियाकी विदेशमन्त्री वङले नेपालमा हालै आएको बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति दु:ख व्यक्त गर्दै विपद्पछिको उद्धार, प्रारम्भिक पुनर्लाभ र पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा रहेको बताइन् ।

उनले बाढी तथा विपद् प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गरिन् । यसअघि अस्ट्रेलियाले आपत्कालीन प्रतिकार्यका लागि घोषणा गरेको ११ मिलियन अस्ट्रेलियन डलरमा उक्त रकम थप हुनेछ । नयाँ सहयोग राहत तथा प्रारम्भिक पुनर्लाभका काममा केन्द्रित हुने जनाइएको छ ।

मन्त्री खनालले विपद्को समयमा अस्ट्रेलिया सरकार र अस्ट्रेलियाली जनताबाट प्राप्त मानवीय सहयोगप्रति आभार व्यक्त गरे । संकटका समयमा प्राप्त सहयोगले दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाएको उनले बताए ।

जलवायु परिवर्तन र कोप–३१ मा सहकार्य

भेटमा जलवायु परिवर्तनका कारण नेपाल र प्रशान्त क्षेत्रका मुलुकले सामना गरिरहेको साझा जोखिमबारे पनि छलफल भएको थियो ।

खनालले अन्तर्राष्ट्रिय तहमा अस्ट्रेलियाको नेतृत्वदायी भूमिकाको उपयोग गर्दै आगामी कोप–३१ मा हिमाली पारिस्थितिक प्रणालीमा जलवायु परिवर्तनले पारिरहेको असमान र गम्भीर प्रभावलाई विश्वसामु थप प्रभावकारी रूपमा उठाउन आग्रह गरे ।

उनले जलवायु अनुकूलन, पूर्वसूचना प्रणाली, विपद् जोखिम न्यूनीकरण, विपद् तयारी तथा जलवायु–उत्थानशील पूर्वाधार निर्माणका क्षेत्रमा नेपाल–अस्ट्रेलिया सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए ।

नेपालमा अस्ट्रेलियाली विश्वविद्यालयका क्याम्पस खोल्नेबारे छलफल

भेटमा शैक्षिक सहकार्य विस्तारका विषयमा पनि छलफल भएको थियो ।

नेपालमा अस्ट्रेलियाबाट मान्यताप्राप्त प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम (टीभीईटी) संस्था स्थापना गर्ने तथा अस्ट्रेलियाका विश्वविद्यालयका सम्भावित स्याटेलाइट क्याम्पस नेपालमा स्थापना गर्ने विषयमा पहल अघि बढाउने सम्भावनाबारे दुवै पक्षले छलफल गरेका थिए ।

खनालले अस्ट्रेलियाको बहुसांस्कृतिक समाज तथा अर्थतन्त्रमा नेपाली विद्यार्थी र नेपाली डायस्पोराले पुर्‍याउँदै आएको योगदानको चर्चा गर्दै विद्यार्थी भिसासम्बन्धी नीतिगत परिवर्तनका क्रममा योग्य नेपाली विद्यार्थीका लागि अनुकूल र न्यायोचित व्यवस्था गर्न आग्रह गरे ।

व्यापार, लगानीदेखि सिधा हवाई सम्पर्कसम्म

भेटमा नेपाल–अस्ट्रेलिया आर्थिक साझेदारी विस्तारलाई पनि प्राथमिकतामा राखिएको थियो । व्यापार तथा प्रत्यक्ष वैदेशिक लगानी, प्रविधि हस्तान्तरण, नवीकरणीय ऊर्जा, दिगो कृषि, पर्यटन प्रवर्द्धन र श्रम गतिशीलतालगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाबारे छलफल भएको थियो ।

यसैगरी नेपाल र अस्ट्रेलियाबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा पनि कुराकानी भएको थियो । प्रत्यक्ष हवाई सम्पर्कले पर्यटन, व्यापार, लगानी तथा जनस्तरको सम्बन्धलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।

वङले नेपालसँगको साझेदारीलाई आगामी दिनमा थप सुदृढ गर्न अस्ट्रेलिया प्रतिबद्ध रहेको बताइन् । प्राथमिकताका क्षेत्रमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन् ।

दुवै पक्षले उच्चस्तरीय नियमित आदानप्रदानलाई निरन्तरता दिने तथा भेटवार्तामा भएका समझदारीलाई ठोस उपलब्धिमा रूपान्तरण गर्न निकट सहकार्य गर्ने सहमति जनाएका छन् । साथै दुई देशका जनताको पारस्परिक हितमा नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप सुदृढ र बहुआयामिक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र बनाएको छ । पछिल्लो १० दिनमा भएको संयुक्त बजार अनुगमनमा विभिन्न कसुर भेटिएका २९ वटा व्यावसायिक फर्म कारबाहीमा परेका छन् । ती फर्मबाट ६ लाख ९२ हजार रुपैयाँ जरिवाना संकलन भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा सञ्चालित अनुगमन अभियानका ...
। अझै पनि ७३ प्रतिशत नागरिकले भौतिक रूपमा काउन्टरमा गएर नै विद्युत् महसुल तिर्ने गरेका छन् । नेपाल विद्युत् प्राधिकरणका १ सय २९ वितरण केन्द्र अन्तर्गत शाखामा हाल ६ सय ५५ वटा महसुल संकलन काउन्टर सञ्चालनमा छन् । ती काउन्टर मार्फत प्राधिकरणले भौतिक रूपमै ग्राहकबाट विद्युत् महसुल संकलन गर्दै आएको छ । त्यसका लागि वार्षिक ५९ करोड ...
। चाँडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो चर्किँदै गएपछि प्रधानमन्त्री बालेन्द्र शाहले चासो देखाएका छन् । प्रधानमन्त्रीको चासोपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले गुनासो सम्बोधन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिएको उनीनिकट स्रोत बताउँछ । प्रधानमन्त्रीको चासो र पर्यटनमन्त्रीको निर्देशनपछि क्यानले बिहीबार आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई छलफलमा गरेको ...
। चाडपर्वका बेला कुनै शंकास्पद वा आपराधिक गतिविधि देखे त्यसलाई आफैंमा सीमित नराखी तत्काल खबर गर्न नेपाल प्रहरीले नागरिकलाई आग्रह गरेको छ । ‘इफ यू सि समथिङ, से समथिङ’ अर्थात् ‘केही शंकास्पद देखे भन्नुहोस्’ भन्ने सन्देशलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्थाको महत्त्वपूर्ण आधार बनाउँदै प्रहरीले नागरिकको सानो सूचनाले ठूलो अपराध वा दुर्घटना रोक्न सक्ने जनाएको हो । चाडपर्व ...
। नेकपा एमालेले आगामी मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। पार्टी सचिव महेश बस्नेतका अनुसार तल्लो तहको भेला सम्पन्न गरेर मंसिर पहिलो हप्ता राष्ट्रिय कार्यकर्ता भेला काठमाडौंमा गर्ने निर्णय आजको बैठकले गरेको छ। ‘मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेलाको रुपमा हामी भेला गर्छौं,’ स्थायी कमिटी बैठकपछि उनले भने। भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका ...