। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा विद्यार्थीको नतिजा १ महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएका छन् ।
त्रिविको ६७औं वार्षिक दिवसको बैठकमा सहकुलपति समेत रहेका मन्त्री पोखरेलले मन्त्रालयमा परीक्षा र नतिजा समयमा नभएको गुनासो आउने गरेको बताए ।
‘१ महिना भित्र नतिजा ल्याउन कुलपति प्रधानमन्त्रीको पनि निर्देशन छ,’ मन्त्री पोखरेलले भने ।
शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्न उनले आग्रह गरे । विश्वविद्यालयको अधिकार विकेन्द्रीकरण गर्न पनि उनले आग्रह गरे ।
‘विकेन्द्रीकरण गर्न सकियो भने अझ प्रभावकारी हुन्छ,’ उनले भने ।
अन्य प्रदेशमा पनि दीक्षान्त समारोह गर्नुपर्ने उनको भनाइ छ ।
मन्त्री पोखरेलले सरकार शिक्षा सुधारमा लागेको बताए ।
‘शिक्षा सुधार गर्न लागेका छौ। तर विश्वविद्यालय र विद्यालयको फरक छुट्याउन सकेको छैन । विश्वविद्यालय थिङ ट्यांक हो,’ उनले भने, ‘शिक्षा ऐन बनाइ रहेका छौ । पाठ्यक्रम रिफर्मको काम गरिरहेका छौ । शिक्षा नीति नयाँ बनाउने क्रममा छौ । यसमा विश्वविद्यालयको भूमिका बढी हुनुपर्छ ।’
त्रिविको आंगिक क्याम्पसको पूर्वाधार बनाउन र विदेशी विद्यार्थीलाई आकर्षण गर्न उनले आग्रह गरे । पारदर्शी विश्वविद्यालय, डिजिटल प्रणाली, जीवनोपयोगी शिक्षा र अनुसन्धानमैत्री विश्वविद्यालयमा जोड दिए ।
अघिल्ला सभामा त्रिविको सभा कुलपति एंव प्रधानमन्त्रीले गर्ने गरिएको थियो । तर यसपटक कुलपतिको अनुपस्थितमा सहकुलपति पोखरेलले त्रिवि सभाको अध्यक्षता गरेका हुन् । कुलपतिले अनुपस्थितमा सहकुलपतिले अध्यक्षता गरेका हुन् ।