मुख्य समाचार
ग्यास उद्योगीहरूले जुनसुकै ब्रान्ड (कम्पनी) को ग्यास सिलिन्डर साट्न सक्ने व्यवस्था गर्न लागेको बताए
ग्यास उद्योगीहरूले जुनसुकै ब्रान्ड (कम्पनी) को ग्यास सिलिन्डर साट्न सक्ने व्यवस्था गर्न लागेको बताए

। चाडपर्वका बेला उपभोक्तालाई सहज ग्यास उपलब्ध गराउन ग्यास उद्योगीहरूले जुनसुकै ब्रान्ड (कम्पनी) को ग्यास सिलिन्डर साट्न सक्ने व्यवस्था गर्न लागेको बताएका छन् ।

यससँगै काठमाडौं उपत्यकाका उपभोक्ताले जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर आफूलाई पायक पर्ने स्थानबाट ग्यास लिन पाउने भएका छन् ।

यसका लागि उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।

एउटामात्र सिलिन्डर भएका उपभोक्ताले बजारमा ग्यास हुँदाहुँदै कम्पनी फरक परेकै कारण दु:ख पाउनु नपरोस् भनेर नेपाल आयल निगम, ग्यास उद्योगी, विक्रेता र सुरक्षा निकायको समन्वयमा यो व्यवस्था मिलाउन लागिएको बताइएको छ ।

आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले उपभोक्ताको सहजताका लागि निगमले नै उद्योगीहरूलाई यस्तो व्यवस्था गर्न अनुरोध गरेको बताए ।

‘कोही मान्छेसँग एउटै सिलिन्डर छ, त्यसलाई अलि गाह्रो भइरहेको छ, बजारमा सामान आएको पनि छ तर सिलिन्डर (फरक परेको) कारणले कतिपय मान्छेले दु:ख पाइरहेका छन्,’ निगमका कार्यकारी निर्देशक साहले अनलाइनखबरसँग भने, ‘त्यसैले हामीले नै उद्योगीहरूलाई यो अनुरोध गरेका हौं, पब्लिकलाई राहत दिनुपर्‍यो भन्ने हाम्रो भनाइ हो ।’

विगतमा डिलरहरूले फरक कम्पनीको सिलिन्डर साट्दा उपभोक्ताबाट ३ सय रुपैयाँसम्म अतिरिक्त शुल्क लिने गरेको गुनासोप्रति लक्षित गर्दै साहले अब त्यस्तो नहुने बताए ।

‘कुनै पनि पैसा नलिने गरी, यो पूर्ण रूपमा नि:शुल्क व्यवस्था हुँदैछ,’ उनले थपे ।

नेपाल एलपी ग्यास उद्योग संघ पूर्वअध्यक्ष तथा ग्यास उद्योगी शिवप्रसाद घिमिरेले उपभोक्ताको आवश्यकतालाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका १५ देखि २० वटा मुख्य स्थानमा संयुक्त बिक्री काउन्टर (सेल्स काउन्टर) राखेर यो सुविधा दिन लागिएको जानकारी दिए ।

‘हामी आन्तरिक (उद्योग–उद्योगबीच) सिलिन्डर साटिदिन्छौं, सीमित समयका लागि कोही मान्छे ग्यास नपाएर हात खाली जानु परेन, जुन सिलिन्डर भए पनि ग्यास साट्न पाउनुपर्‍यो,’ उद्योगी घिमिरेले भने, ‘यसका लागि हामीले उद्योगहरूको बीचमा सहमति बनाएका छौं ।’

उनका अनुसार नेपाली सेनाको मुख्यालय, छाउनी, सीतापाइला लगायत स्थानमा ग्यास उद्योगी, नेपाल आयल निगम, विक्रेता महासंघ र सुरक्षा निकायको संयुक्त समन्वयमा यस्ता काउन्टर सञ्चालनमा ल्याइने विषयमा छलफल भइरहेको छ ।

संकलन भएका फरक–फरक कम्पनीका खाली सिलिन्डर पछि उद्योगीहरूले आन्तरिक रूपमै व्यवस्थापन गर्नेछन् ।

वास्तविक उपभोक्तालाई मात्र सुविधा, डिलरलाई होइन

यो सुविधा व्यवसायी वा डिलरहरूका लागि नभई ग्यास नपाएर सास्ती भोगेका वास्तविक उपभोक्ताका लागि मात्र ल्याइएको उद्योगी घिमिरेले बताए । ग्यास दुरुपयोग नहोस् भन्नका लागि काउन्टरमा उपभोक्ताको परिचय खुल्ने विवरण राखेरमात्र ग्यास दिइने छ ।

‘हामी यो डिलर वा व्यवसायीलाई दिँदैनौं, उपभोक्ताको नागरिकता वा केही निस्साको कपी र मोबाइल नम्बर राखेरमात्र ग्यास दिन्छौं,’ घिमिरेले भने, ‘यसो गर्दा राज्यले पनि अनुगमन गर्न सक्छ, जो वास्तविक पीडित हो, उसका लागि होस् भन्ने हाम्रो चाहना हो, एउटा सिलिन्डर हुने मारमा पर्छन्, उनीहरूलाई सहुलियत हुन्छ ।’

डिलरबाटै साट्न पाए अझै राम्रो : आयल निगम

कम्पनीहरूले कुन–कुन ठाउँबाट सेवा दिने भन्ने विषयको अन्तिम टुंगो लागेपछि एक/दुई दिनभित्रै औपचारिक सूचना जारी हुने निगमले जनाएको छ ।

यद्यपि, निगमका कार्यकारी निर्देशक साहले तोकिएका निश्चित काउन्टरबाट मात्र नभई उपभोक्ताको सहजताका लागि डिलर स्तरबाटै जुनसुकै कम्पनीको ग्यास साट्न मिल्ने व्यवस्था भए झनै राम्रो हुने बताए ।

कम्पनीहरूले कुन–कुन ठाउँबाट सिलिन्डर साट्ने भन्ने विषयको अन्तिम टुंगो लाग्न भने बाँकी छ । यस विषयमा ग्यास उद्योगीहरू आन्तरिक छलफलमा रहेको र एक/दुई दिनभित्रै सूचना जारी हुने निगमले जनाएको छ ।

दसैंका बेला काठमाडौं उपत्यकाबाट लाखौं मानिस बाहिरिने हुँदा यहाँ ग्यासको खपत करिब ४० प्रतिशतले घट्छ ।

यद्यपि, उपत्यकामै रहने उपभोक्ताहरू जसको घरमा एउटामात्र सिलिन्डर छ र ग्यास सकिँदा पसल–पसल धाउनुपर्ने बाध्यता छ, उनीहरूका लागि यो ‘एक्स्चेन्ज’ अफरले चाडपर्वमा ठूलो राहत दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा आयोजित नेपाल–भारत बिजनेस राउन्डटेबलमा नेपालका उद्योग व्यवसायीले दुई देशबीचको आर्थिक सम्बन्धलाई थप व्यावहारिक र परिणाममुखी बनाउन व्यापारका अवरोध हटाउन, पूर्वाधार विस्तार गर्न र भारतीय लगानी बढाउन आग्रह गरेका छन् । उनीहरूको आग्रहमा भारतीय वाणिज्यमन्त्री जितीनप्रसादले नेपालको उत्पादन क्षमता, पूर्वाधार र पर्यटन क्षेत्रमा लगानी तथा सहकार्यको सम्भावना रहेको उल्लेख गर्दै ...
: अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एन्थ्रोपिकको सेयर बजारमा कारोबार सुरु भएको दोस्रो दिनमै उल्लेख्य गिरावट आएको छ । पहिलो दिन उत्साहजनक कारोबार गरेको कम्पनीको सेयर शुक्रबार एकैदिन १२ प्रतिशतभन्दा बढीले घट्दै प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मूल्यको आसपास पुगेको हो । क्लाउड (Claude) च्याटबोट निर्माता एन्थ्रोपिकले आईपीओमार्फत ८१ अर्ब अमेरिकी डलर जुटाएको थियो । बिहीबार नास्डाकमा ...
। नेपाल घुमफिरमा आउने पर्यटकले पछिल्लो तीन महिनामा २५ अर्ब ५२ करोड रुपैयाँ बराबर खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार साउन–असोज अवधिमा भ्रमण आय ३२.७ प्रतिशत बढेर उक्त रकम बराबर पुगेको हो । गत आव सोही अवधिमा १९ अर्ब २३ करोड बराबर खर्च गरेका थिए । तीन महिनामा भ्रमण व्यय भने १५.७ प्रतिशत घटेर ५४ ...
। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले महसुल बक्यौता रहेका ग्राहकलाई जरिबानामा ९० प्रतिशतसम्म छुट दिने भएको छ । लिमिटेडले २०८३ कात्तिक मसान्तसम्मको बक्यौता महसुल तिर्न आउने ग्राहकको ग्राहक लगत (प्थ्ऋ) अद्यावधिक गरी जरिवाना रकममा छुट दिने निर्णय गरेको हो । लिमिटेडले सार्वजनिक गरेको सूचनाअनुसार २०८३ मंसिर १ गतेदेखि २०८३ माघ मसान्तसम्म बक्यौता महसुल बुझाउने ग्राहकले जरिवाना ...
। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिक महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार गत कात्तिकमा १७ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । सो महिनामा १७ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो । भन्सार कार्यालयले लक्ष्यभन्दा १५ करोड रुपैयाँ बढी संकलन गरेको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद ...