: दुबईबाट सीधै पोखरा उडान सुरु भएपछि नेपालले खाडीमा बस्ने भारतीयलाई समेत नयाँ पर्यटन बजारका रूपमा आकर्षित गर्न सक्ने सम्भावना खुलेको छ। तर, नेपाल घुम्न भारतीय नागरिकलाई भिसा नचाहिने भए पनि भ्रमणपछि आफू बसिरहेको खाडीमुलुक फर्किंदा भने भारतीय दूतावासबाट ‘थर्ड कन्ट्री नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिनुपर्ने झन्झटिलो व्यवस्थाले भारतीय पर्यटकहरू नेपाल जान इच्छुक नदेखिएको दुबईस्थित नेपाली ट्राभल्र्स व्यवसायी बताउँछन्।
भारतीय नागरिकलाई नेपाल भ्रमणमा सहज पहुँच पुर्याउन कूटनीतिक स्तरमा पहल सुरु गरिएको यूएईस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत हरि ओडारीले जानकारी दिए। उनका अनुसार यूएईबाट नेपाल जाने भारतीय पर्यटकहरूका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) सम्बन्धी प्रक्रियालाई सरल र सहज बनाउन परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावाससँग छलफल अघि बढाइएको छ।
यूएईमा विभिन्न पेसा तथा व्यवसायमा संलग्न भई आर्थिक रूपमा सक्षम रहेका धेरै भारतीय नागरिकहरू वार्षिक बिदा वा भ्रमणका लागि नेपाल जान इच्छुक रहेका छन्। तर, विद्यमान एनओसीसम्बन्धी प्रावधान र भौतिक उपस्थितिसम्बन्धी कठिनाइले गर्दा उनीहरूको नेपाल यात्रा जटिल बन्ने गरेको छ।
‘यूएईमा रहेका भारतीय नागरिकमा नेपालप्रति ठूलो आकर्षण छ। तर, फर्किंदा वा भ्रमणमा जाँदा चाहिने एनओसी प्रक्रियाका कारण उनीहरूले समस्या भोग्नु परिरहेको छ,’ उनले भने, ‘एनओसी पूर्णरूपमा हटाउन सम्भव नभए पनि यसलाई अनलाइन वा इमेलमार्फत सहजीकरण गरिदिनका लागि परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावाससँग कुराकानी अगाडि बढाउन अनुरोध गरिएको छ।’
एनओसी प्रक्रिया अनलाइन वा सहज माध्यमबाट उपलब्ध हुन सके यूएईबाट नेपाल जाने भारतीय पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने व्यवसायीहरूको दाबी छ।
फ्लाई दुबईले दुबई–पोखरा उडान सुरु गरेपछि यूएईलगायत खाडीका अन्य मुलुकमा बस्ने भारतीयका लागि पनि नेपाल पुग्ने सहज हवाई सम्पर्क बनेको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जोडिने उडान सञ्जालका कारण साउदी अरब, कतार, कुवेत, ओमान र बहराइनमा रहेका भारतीयलाई पनि पोखरा पुग्ने विकल्प विस्तार भए पनि एनओसी तगारो बनेको हो।
खाडीका ६ मुलुकमा करिब १ करोड भारतीय बसोबास गर्छन्। पछिल्लो तथ्यांकअनुसार यूएईमा ४४ लाख, साउदी अरबमा २७ लाख ५० हजार, कुवेतमा १० लाख ६० हजार, कतारमा ८ लाख, ओमानमा करिब ७ लाख र बहराइनमा ३ लाख भारतीय छन्।
खाडी मुलुकहरूमा कार्यरत कामदारहरूले वर्षमा ३० दिनको बिदा पाउने गर्छन्। उक्त समयमा धेरैले नजिकैको पूर्वी युरोप मुलुकहरू घुम्ने गरेको फिस्टेल ट्राभल्सका सञ्चालक ठाकुर ढुंगाना बताउँछन्।
पूर्वी युरोपका सिमानामा रहेका अजरबैजान, जर्जिया र अर्मेनियाजस्ता अन अराइभल भिसा पाइने मुलुकहरू धेरै भारतीयहरूको छनौटमा पर्ने गरेको छ। अजरबैजानको राजधानी बाकुमा आउनेमध्ये आधा पर्यटकहरू भारतीय रहेको बाकुस्थित स्थानीय पर्यटन व्यवसायीले बताए।
दुबईको एक कम्पनीमा कार्यरत भारतीय नागरिक शैलेश मुखर्जी केही महिनाअघि परिवारसहित नेपाल घुम्न गएका थिए। एनओसीको कारण आफूले एक दिनको अतिरिक्त समय खर्चिनु परेको उनले गुनासो गरे। नेपालका लागि यो ठूलो सम्भावित पर्यटन बजार हो। विशेषगरी पोखरा, चितवन, काठमाडौं, लुम्बिनी, मुक्तिनाथ र जनकपुरलाई छोटो बिदामा आउने खाडीस्थित भारतीयका लागि लक्षित गर्न सकिन्छ। परिवारसहितको बिदा, धार्मिक यात्रा, प्रकृति र साहसिक पर्यटनका लागि नेपाल आकर्षक गन्तव्य बन्न सक्छ, ढुंगानाले भने।
यही बजार लक्षित पर्यटनमा एनओसीको व्यवस्था चुनौतीका रूपमा देखिएको छ। भारतीय दूतावास काठमाडौंका अनुसार नेपालबाट तेस्रो मुलुक जाने भारतीय राहदानीधारीले एनओसी लिनुपर्छ। तेस्रो मुलुकमा स्थायी वा अस्थायी बसोबास अनुमति भएका भारतीय नागरिकसमेत यस प्रक्रियाबाट छुट हुँदैनन्। यसको अर्थ यूएईको वैध स्थायी भिसा भएको भारतीय नागरिक फ्लाई दुबईबाट पोखरा आएर घुमेपछि पुनः दुबई फर्किंदा पनि एनओसी लिनुपर्ने हुन्छ। त्यस्तै, साउदी, कतार, कुवेत, ओमान वा बहराइनमा बस्ने भारतीयले पनि नेपालबाट फर्किनुअघि यही प्रक्रिया पूरा गर्नुपर्छ। यसका लागि पोखराबाट एनओसी लिनको लागि मात्र भए पनि काठमाडौं नै जानुपर्छ।
एनओसीका लागि राहदानी, पछिल्लो अध्यागमन छाप, तेस्रो मुलुकको हवाई टिकट, वैध भिसा वा रेसिडेन्स अनुमति र फोटो पेस गर्नुपर्छ। भारतीय दूतावासबाट एनओसी जारी भएपछिमात्र उनीहरूलाई फिर्ती यात्रा अनुमति मिल्छ।
नेपालमा भारतीय पर्यटकको हिस्सा ठूलो छ। तर, खाडीबाट आउने भारतीयको छुट्टै तथ्यांक भने सार्वजनिक छैन। फ्लाई दुबईको पोखरा उडानले यो बजार विस्तारको अवसर दिए पनि त्यसका लागि हवाई सम्पर्कमात्र पर्याप्त नहुने पर्यटन व्यवसायी बताउँछन्। यात्रासम्बन्धी प्रशासनिक प्रक्रिया पनि सहज बनाउनुपर्ने उनीहरूको भनाइ छ।
यही झन्झटिलो प्रक्रियाले नेपालले यस क्षेत्रका वार्षिक लाखौं पर्यटक गुमाएको छ। व्यवसायीका अनुसार खाडीमा रहेका वैध रेसिडेन्स भिसा भएका भारतीयका लागि एनओसी हटाउने वा सरल बनाउनु जरुरी छ। अनलाइन एनओसी, डिजिटल प्रमाणीकरण, निश्चित अवधिका लागि बहुप्रयोग हुने एनओसी वा वैध रेसिडेन्स भिसा र फिर्ती टिकट भएका यात्रुलाई छुट दिन सकिनेबारे नेपाल सरकारले भारत सरकारसँग छलफल गर्नुपर्ने सरोकारवालाहरूले माग गरेका छन्।