: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्नेगरी तयारी गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन्।
बिहीबार काठमाडौंको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिए। उनले शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्दै परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न निर्देशन दिए।
विश्वविद्यालयका सहकुलपतिसमेत रहेका मन्त्री पोखरेलले विश्वविद्यालयलाई केवल पठनपाठनमा सीमित नराखी राष्ट्रको नीति, कानुन र पाठ्यक्रम निर्माणमा सहयोग पुर्याउने मुख्य थिंक ट्याङ्क र अनुसन्धान संस्थाको रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
नेपालका १५ वटै विश्वविद्यालयहरू कुनै न कुनै रूपमा त्रिभुवन विश्वविद्यालयसँग जोडिएकाले त्रिविले अन्य विश्वविद्यालयहरूका लागि पनि अभिभावकीय र समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने दायित्व रहेको उनले बताए। पोखरेलले त्रिविको अधिकार केन्द्रमा सीमित नराखी विकेन्द्रीकरण गर्नुपर्ने आवश्यकता रहेको भन्दै यसै वर्षदेखि काठमाडौँ बाहिरका प्रदेशहरूमा पनि दीक्षान्त समारोह आयोजना गरेर विकेन्द्रीकरणको सुरुवात गरिन लागेको जानकारी दिए।