मुख्य समाचार
यस वर्ष दसैं, तिहार र छठको अवसरमा नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा
यस वर्ष दसैं, तिहार र छठको अवसरमा नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा

— यस वर्ष दसैं, तिहार र छठको अवसरमा नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिएको छ । अघिल्ला दुई वर्ष सुकिला (प्रयोगमा रहेका) नोट मात्र वितरण गरेको राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नै सटही सुविधा दिएको हो ।

राष्ट्र बैंकले नयाँ नोट साट्न विगतमा जस्तो सूचना जारी गर्ने चलन यसपालि हटाएको छ । इच्छुक सर्वसाधारणले राष्ट्र बैंकका केन्द्रीय तथा क्षेत्रीय कार्यालय र अन्य बैंक तथा वित्तीय संस्थाका शाखाबाट सजिलै नयाँ नोट सटही सुविधा पाउने व्यवस्था मिलाइएको छ । नयाँ नोट सटही सुविधा उपलब्ध भइसकेको राष्ट्र बैंकले जनाएको छ । यसअनुसार १ असोजदेखि २० सम्म राष्ट्र बैंकबाट १० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकबाट बाहिरिइसकेको राष्ट्र मुद्रा व्यवस्थापन विभाग प्रमुख अनुज दाहालले जनाए ।

यस अवधिमा सटही भएकोमध्ये बैंक तथा वित्तीय संस्थालाई ८ अर्ब ३३ करोड रुपैयाँ र सर्वसाधारणलाई १ अर्ब ६७ करोड रुपैयाँ वितरण भइरहेको दाहालले बताए । बैंक तथा वित्तीय संस्थालाई दिइएको रकम पनि सर्वसाधारणका लागि सटही दिन नयाँ नोट दिइएको राष्ट्र बैंकले बताएको छ ।

यस वर्ष सार्वजनिक बिदाबाहेक सबै दिन सर्वसाधारणले नोट साट्न सक्नेछन् । काठमाडौं उपत्यकामा थापाथलीस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय र सबै क्षेत्रीय कार्यालयबाट नयाँ नोट वितरण भइरहेको राष्ट्र बैंकले बताएको छ । सबै बैंक तथा वित्तीय संस्थालाई पनि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन नयाँ नोट दिइसकिएको मुद्रा व्यवस्थापन विभाग प्रमुख दाहालको भनाइ छ ।

राष्ट्र बैंकका कार्यालय र बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट सटही भइरहेकाले सर्वसाधारणले आफूलाई पायक पर्ने शाखामा गएर नयाँ नोट सटही गर्न सक्ने दाहालले जनाए ।

‘यस वर्ष सार्वजनिक सूचना जारी गरेर घोषित रूपमा नयाँ नोट सटही गर्ने योजना छैन,’ दाहालले भने, ‘नयाँ नोट साट्न आउने जोकोहीलाई एक/दुई सेट नयाँ नोट सटही गरेर पठाएका छौं ।’ कसैलाई धेरै नोट सटही गर्नुपरे उनीहरूको मागअनुसार सबै नयाँ नोट नदिइने पनि दाहालले प्रस्ट्याए । ‘उनीहरूका लागि सुकिला नोट उपलब्ध गराउने गरेका छौं,’ दाहालले थपे ।

विगतमा ५ रुपैयाँदेखि १ सय रुपैयाँका एक/एक सेट (बन्डल) गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबरका नोट सटही सुविधा दिँदै आएको राष्ट्र बैंकले यस वर्ष एक बन्डलभन्दा बढी पनि सटही गर्ने सुविधा दिएको छ । यस वर्ष नयाँ नोट स्टकको समस्या नभएकाले पनि सर्वसाधारणलाई एक/दुई सेटसम्म सटही दिने गरिएको दाहालले बताए ।

राष्ट्र बैंकले वर्षभर (नियमित रूपमा) नयाँ अथवा सुकिला नोट सटी सुविधा दिँदै आएको छ । दसैं, तिहार र छठमा नयाँ नोटको माग बढी हुने भएकाले विगतका वर्षमा दसैं नजिकिँदै गर्दा निश्चिम मिति नै तोकेर उत्सवका रूपमा नयाँ नोट वितरण गरिँदै आएको थियो । यस वर्ष भने कुनै तामझाम र उत्सवबिनै नोट सटही गर्न चाहनेहरूका लागि सटही सुविधा दिएको हो ।

केही दिनयता नियमित रूपमा सर्वसाधारणले नयाँ नोट सटही गरिरहेको राष्ट्र बैंकले जनाएको छ । विगतका वर्षमा जस्तो धेरै भीडभाड नभएको र अवस्था सामान्य रहेको बताइएको छ । उपभोक्ताबाट माग पनि कम आएको राष्ट्र बैंकको भनाइ छ ।

यस वर्ष राष्ट्र बैंक तथा वित्तीय संस्थालाई एटीएममा एक सयका नोट पनि राख्न निर्देशन दिएको छ । उक्त निर्देशन अघि बैंक तथा वित्तीय संस्थाले एटीएममा ५ सय र हजार दरका मात्र नोट राख्दै आएका थिए । एटीएमबाटै एक सय दरका नोट पाइने भएकाले पनि नयाँ नोट सटहीका लागि बैंकहरूमा भीड कम भएको राष्ट्र बैंकले बताएको छ ।

विगतमा दसैं, तिहार र छठका अवसरमा हरेक वर्ष औसतमा ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यद्यपि गएका दुई आर्थिक वर्ष सुकिला नोट मात्र सटही सुविधा दिइएको थियो । दसैं–तिहारमा बाहिरिने उक्त रकममध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् ।

कोभिडको एक वर्ष भने राष्ट्र बैंकले नयाँ नोट वितरण गरेन । खासगरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्छन् । बैंक तथा वित्तीय संस्थाले सयभन्दा माथि (५ सय र हजार) दरका नोट बढी उपयोग गर्दै आएको राष्ट्र बैंकले जनाएको छ । यो रकममा सिक्काको हिसाब हुँदैन ।

दसैं र तिहारको अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनले बनेका सिक्का (चाँदीका स्मारिका सिक्का र सुनका असर्फी) पनि धेरै बिक्री हुँदै आएको छ । दसैं र तिहारका लागि नयाँ नोटको माग बढ्दो छ । गत वर्ष गुणस्तरीय सुन अभाव भएको भन्दै राष्ट्र बैंकले असर्फी वितरण गरेको थिएन ।

दसैं–तिहारका बेला राष्ट्र बैंकबाट बाहिरिने रकमले बजारमा मुद्रा आपूर्ति बढाउँछ । यसको अर्थ नागरिकको हातहातमा धेरै पैसा पुग्छ । हात–हातमा पैसा भएपछि खर्च गर्ने प्रवृत्ति बढ्छ । खर्च गर्ने क्षमता बढेपछि माग बढ्छ । माग बढेपछि बजारमा वस्तु तथा सेवाको मूल्य बढ्छ । यसले समग्र राष्ट्रको मूल्य वृद्धिदर बढाउँछ । मूल्य वृद्धिदर बढ्नु भनेको पैसाको क्रयशक्ति (भाउ) घट्नु हो । यसकारण पैसाको मूल्य तीव्र रूपमा घट्न नदिन अर्थशास्त्री सुझाउँछन् । नयाँ नोट वितरण राष्ट्र बैंकका लागि चुनौतीपूर्ण बन्दै गएको उनीहरूले बताएका छन् । पछिल्ला वर्षमा डिजिटल बैंकिङ बढेकाले पनि नगद कारोबार घटेको छ । मुलुकमा आएको प्राकृतिक विपत्तिसँगै यस वर्ष नयाँ नोटको माग घट्नुको एक कारण डिजिटल बैंकिङ पनि भएको जानकार बताउँछन् ।

राष्ट्र बैंकले नोट छपाइ, वितरण तथा व्यवस्थापनमा वार्षिक करिब ३ अर्ब रुपैयाँ खर्च गर्छ । नोटको माग बढेअनुसार यस्तो खर्च पनि बढ्छ । यसले राष्ट्रको व्ययभार बढाउँछ । यो क्षेत्रमा गरिने लगानी तुलनात्मक रूपमा अनुत्पादक मानिन्छ । नोटको आयु यति नै वर्ष हुन्छ भन्ने नतोकिए पनि जतनले उपयोग गरे धेरै वर्षसम्म टिकाउन सकिन्छ । यो वर्ष वितरण गरेको नयाँ नोट राष्ट्र बैंकमा फर्किंदा पुरानो भएर आउँछ । नागरिकको माग पूरा गर्न राष्ट्र बैंकले ठूलो धनराशि खर्च गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चाडपर्वका बेला उपभोक्तालाई सहज ग्यास उपलब्ध गराउन ग्यास उद्योगीहरूले जुनसुकै ब्रान्ड (कम्पनी) को ग्यास सिलिन्डर साट्न सक्ने व्यवस्था गर्न लागेको बताएका छन् । यससँगै काठमाडौं उपत्यकाका उपभोक्ताले जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर आफूलाई पायक पर्ने स्थानबाट ग्यास लिन पाउने भएका छन् । यसका लागि उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । एउटामात्र सिलिन्डर भएका उपभोक्ताले बजारमा ...
: आफूसँग भएका जहाजसमेत पूर्णक्षमतामा सञ्चालन गर्न नसकेको नेपाल वायुसेवा निगमले फेरि लिजमा जहाज थप्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ। निगमका ५ चिनियाँ जहाज वर्षौंदेखि व्यावसायिक उडानमा छैनन् , एउटा ट्विनअटर लामो समयदेखि ग्राउन्डेड छ भने अन्तर्राष्ट्रिय उडानका चारमध्ये एउटा वाइडबडी इटालीमा मर्मतका क्रममा लामो समयदेखि उतै छ। निगमका अनुसार अवस्थाअनुसार अन्तर्राष्ट्रिय उडानमा अहिले तीनवटा ...
। कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘पशु वधशाला र मासु जाँच (दोस्रो संशोधन) नियमावली २०५७’ को मस्यौदा सार्वजनिक गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै विधायन ऐन २०८१ को दफा ६ को उपदफा (२) को प्रयोजनार्थ उक्त मस्यौदामाथि सर्वसाधारण र सरोकारवालाबाट राय, सुझाव तथा पृष्ठपोषण माग गरेको हो । सार्वजनिक गरिएको संक्षिप्त विवरण अनुसार यस मस्यौदाको मुख्य ...
। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले एकल महिला उद्यमीलाई दुई लाखसम्मको प्रविधि सहयोग गर्ने भएको छ । यस्तै, महिला उद्यमी समूहलाई तीन लाखसम्मको प्रविधिमा सहयोग गर्ने भनेको छ । महिला उद्यमशीलता विकास, वित्तीय पहुँच, टेवा पुँजी र प्रविधि सहयोगसहित महिला उद्यमी तथा उद्यमी समूहलाई उद्यमशीलता प्रवर्द्धन कार्यक्रम अन्तर्गत यो सहयोग गर्ने ...
। भदौ १० मा आएको रसुवा बाढीका कारण चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर घट्ने विश्व बैंकको अनुमान छ । बैंकले बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले आर्थिक वृद्धि ३.७ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको हो । विश्व बैंकको पछिल्लो विकाससम्बन्धी अद्यावधिक प्रतिवेदनअनुसार, पुनर्निर्माण तथा पुनर्स्थापनाका गतिविधि सुरु हुँदा आर्थिक क्रियाकलापमा टेवा पुग्ने अनुमान गरिएको छ ...