मुख्य समाचार
एन्फा अध्यक्ष र महासचिव सहित चार जनाविरुद्ध मुद्दा दर्ता
एन्फा अध्यक्ष र महासचिव सहित चार जनाविरुद्ध मुद्दा दर्ता

। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले एन्फाभित्र भएको भनिएको आर्थिक अनियमितता र नेपाल–बहराइन अन्तर्राष्ट्रिय फुटबल खेलसँग सम्बन्धित प्रकरणमा उनीहरूलाई प्रतिवादी बनाएको हो ।

मुद्दा दायर गरिएकामा अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे छन् । सरकारी वकिल कार्यालयले खेलकुद विकास ऐन, २०७७ को दफा ३३ को (ग) तथा मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा ३ (क) बमोजिम मागदाबी गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानमा एन्फाको नेतृत्वबाट विभिन्न विषयमा अनियमितता भएको निष्कर्ष निकालिएको थियो। त्यसकै आधारमा सरकारी वकिल कार्यालयले मुद्दा अघि बढाएको हो ।

बहराइनसँगको खेलदेखि खेल सामग्री खरिदसम्म अनियमितताको निष्कर्ष

सीआईबीको प्रतिवेदनअनुसार सन् २०२४ मा फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र बहराइनबीचको खेल नेपालमा हुन नसक्ने अवस्था सिर्जना गर्न एन्फा नेतृत्वको भूमिका रहेको निष्कर्ष निकालिएको छ ।

दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेलका लागि अयोग्य हुने गरी गतिविधि गरिएको र एसियाली फुटबल महासंघ (एएफसी) ले तटस्थ मैदानमा खेलाउन निर्देशन दिनुअघि नै एन्फा महासचिव राईले बहराइनमा खेल्ने सम्झौता गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, बहराइन फुटबल संघबाट खेलको टिकट बिक्री राजस्वबापत प्राप्त हुनुपर्ने २० हजार अमेरिकी डलर एन्फाको संस्थागत खातामा जम्मा नभएको तथा खेलका लागि बहराइनका खेलाडी र पदाधिकारीको हवाई टिकट खर्चबापत ३८ लाख ५८ हजार रुपैयाँभन्दा बढी रकम एन्फाको खातामा जम्मा भएको प्रतिवेदनमा उल्लेख छ ।

सीआईबीले केल्मी ब्रान्डका खेल सामग्री खरिदमा पनि अनियमितता भएको निष्कर्ष निकालेको छ । १० लाख रुपैयाँभन्दा माथिको खरिदमा बोलपत्र प्रक्रिया अपनाउनुपर्ने व्यवस्था पालना नगरेको र खरिद प्रक्रियामा सहभागी तीन कम्पनी एउटै स्वामित्वअन्तर्गत रहेको राखेपको उपसमितिको प्रतिवेदनले औँल्याएको छ ।

पछिल्ला साढे तीन वर्षमा एन्फाले करिब १४ देखि १५ करोड रुपैयाँ बराबरका खेल सामग्री खरिद गरेको र वितरणमा समेत अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ।

यसैगरी, फिफाबाट प्राप्त विश्वकपका ३३० अनलाइन टिकटको वितरण तथा बिक्रीमा पारदर्शिता नदेखिएको र शेर्पा आउटडुअरसँगको खेल सामग्री खरिद तथा प्रायोजन रकममा पनि अनियमितता भएको सीआईबीको निष्कर्ष छ।

मुद्दा दायर गरिएका चार जनामध्ये कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे सीआईबीको नियन्त्रणमा छन्। अध्यक्ष नेम्बाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतबाट म्याद जारी गरिदिन सरकारी वकिल कार्यालयले अनुरोध गरेको छ ।

सीआईबीले एन्फा नेतृत्वका पदाधिकारीले मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को अनुमति नलिई सम्झौता गर्ने, विदेश भ्रमणमा टोली लैजाने तथा खरिद प्रक्रियामा अनियमितता गर्ने कार्यमा संलग्न रहेको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपाल र बहराइनबीचको अन्तर्राष्ट्रिय खेलमा अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्व मिलेमतो तथा अनियमिता गरेको निष्कर्ष निकालेको छ । सीआईबीले गरेको अनुसन्धानले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यताबाट अयोग्य बनाउन एन्फा नै लागेका निष्कर्ष निकालेको हो । विश्वकप छनोटको यमनसँगको खेलपछि बहराइनसँग खेल हुन करिब ...
— राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको तयारी तीव्र गतिमा अगाडि बढाइरहेको छ । राखेपले दसौं राष्ट्रिय खेलकुदलाई प्रभावकारी रुपमा सम्पन्न गर्ने सन्दर्भमा सरोकारवालसंग बिहीबार छलफल गरेको छ । राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य–सचिव रामचरित्र मेहता, युवा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकार, राखेप कार्यकारी समितिका सदस्य, राखेपका बोर्ड सदस्यलगायतको ...
। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आगामी बोर्ड बैठक नेपालमा गर्ने तयारी भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले एनपीएल २०२६ कै दौरान आईसीसीको बोर्ड बैठक नेपालमा गर्ने तयारी भइरहेको बताएका हुन् । ‘आईसीसीको बोर्ड बैठक एनपीएलकै सन्दर्भमा नेपालमै राख्ने कुरा लगभग एउटा तहसम्म कुरा पुगिसकेको छ, केही कुराहरू बाँकी छन् । चाँडै ...
। नेपाली फुटबल टोली फिफा वरीयतामा एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अद्यावधि गरेको वरीयताअनुसार नेपाल एक स्थान खस्किएर १७८औं स्थानमा पुगेको हो । नेपालले पछिल्लो पटक खेलेको अन्तर्राष्ट्रिय खेल गत मार्च ३१ मा थियो, जतिबेला नेपाल लाओससँग खेलेर पराजित भएको थियो । त्यो राखेपबाट एन्फा निलम्बनमा परेको ६ दिनपछिको खेल थियो ...
। आईसीसी ओडीआई टिम वरीयतामा नेपाली क्रिकेट टोली एक स्थान माथि उक्लिएको छ । आईसीसीले बिहीबार अद्यावधि गरेको नयाँ वरीयताअनुसार नेपाल १७औं स्थानबाट १६औं स्थानमा उक्लिएको हो । नेपालभन्दा माथि रहेको नामिबिया एक स्थान खस्किएका कारण नेपाल माथि उक्लिएको हो । नेपाल र नामिबियाको रेटिङ अंक भने समान २८ रहेको छ । नेपालले एसीसी प्रिमियर कप जितेयता कुनै ...