मुख्य समाचार
मध्य अमेरिकी देश पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
मध्य अमेरिकी देश पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

। मध्य अमेरिकी देश पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । शुक्रबार गएको भूकम्पका कारण राजधानी पानामा सिटीसम्म धक्का महसुस भएको छ भने विभिन्न स्थानमा भवन, सडक र पुलमा क्षति पुगेको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ः५६ बजे भूकम्प गएको हो । यसको केन्द्रबिन्दु राजधानी पानामा सिटीबाट केही घण्टाको दूरीमा रहेको अजुएरो प्रायद्वीपको पितालोसा अरिबा क्षेत्रबाट करिब ९ माइल दक्षिणपश्चिममा थियो ।

भूकम्पपछि शक्तिशाली परकम्पसमेत गएका छन् । दिउँसो ४ः२५ बजे गएको परकम्पको प्रारम्भिक तीव्रता ६.९ म्याग्निच्युड मापन गरिएको थियो । भूगर्भविद्हरूले तत्कालका लागि परकम्पलाई मुख्य जोखिमका रूपमा औँल्याएका छन् ।

भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको तटीय सहर एल भेनाओमा अवस्थित एल सिटियो होटल भत्किएको छ । होटल भत्किँदा मानवीय क्षति भने नभएको बताइएको छ । उक्त क्षेत्रमा केही घरमा चिरा परेको र एउटा पुलमा समेत क्षति पुगेको छ । भूकम्पका कारण विद्युत् आपूर्तिसमेत अवरुद्ध भएको उनले बताए ।

‘अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको अहिलेसम्म कुनै पनि मानवीय क्षति नभएको हो,’ शहरका मेयर बाटिस्टाले पानामाको टेलिभिजन च्यानल टेलिमेट्रोलाई भनेका छन् ।

पानामाका राष्ट्रिय नागरिक सुरक्षा निकायका अनुसार देशका कोक्ले, लस सान्तोस र पानामा प्रान्तमा बढी क्षति पुगेको छ । सरकारी भवन, चर्चका अग्ला संरचना, होटल, पानी प्रशोधन केन्द्र र सडकमा क्षति पुगेको छ ।

घाइतेहरूलाई उपचारका लागि स्वास्थ्य केन्द्रमा लगिएको छ । तर, क्षतिको यकिन विवरण सार्वजनिक गरिएको छैन ।

पानामाका अधिकारीहरूले टेलिमेट्रोलाई दिएको जानकारीअनुसार पेनोनोमे सहरमा करिब एक दर्जन संरचना भत्किएका छन् । अगुआदुल्सेमा छवटा भवनमा उल्लेख्य क्षति पुगेको छ । पेनोनोमेमा रहेको डोस कोन्टिनेन्टेस होटलको एक भाग भत्किएर पार्किङमा राखिएका गाडीमाथि खसेको दृश्यसमेत सार्वजनिक भएको छ ।

कोक्ले प्रान्तका वरिष्ठ प्रहरी अधिकारी जर्ज सान्चेजका अनुसार गभर्नरको कार्यालय र एउटा क्याथेड्रलमा समेत क्षति पुगेको छ ।

भूकम्पको धक्का राजधानी पानामा सिटीमा समेत महसुस गरिएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा भवनहरू हल्लिएपछि मानिसहरू सडकमा निस्किएको देखिन्छ । राजधानी क्षेत्रको जनसंख्या करिब २० लाख छ ।

गगनचुम्बी भवनका लागि परिचित राजधानीको मुख्य सहरी क्षेत्रमा भने ठूलो क्षति नभएको स्थानीय प्रत्यक्षदर्शी र अधिकारीहरूले बताएका छन् । अग्ला भवन हल्लिँदा छतमा रहेका पौडी पोखरीको पानी सडकमा खसेको दृश्यसमेत सार्वजनिक भएको छ ।

भूकम्पपछि देशको प्रमुख विमानस्थल टोचुमेन अन्तर्राष्ट्रिय विमानस्थलले उडान सेवा अस्थायी रूपमा रोकेर यात्रुहरूलाई बाहिर निकालिएको थियो । सुरक्षासम्बन्धी निरीक्षणपछि करिब दुई घण्टामा उडान सेवा पुनः सञ्चालन गरिएको विमानस्थल प्रशासनले जनाएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय समुद्री व्यापारका लागि महत्त्वपूर्ण मानिने पानामा नहरमा भने भूकम्पपछि पनि नियमित रूपमा सञ्चालन भइरहेको नहर प्राधिकरणले जनाएको छ । पानामास्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारी वा दूतावासमा कार्यरत व्यक्तिहरू घाइते भएको प्रारम्भिक विवरण प्राप्त नभएको जनाएको छ ।

यूएसजीएसकी भूकम्पविद् सुसान हफका अनुसार प्रारम्भिक विवरणले यो भूकम्प ठूलो सुनामी निम्त्याउन सक्ने सबडक्शन जोनमा उत्पन्न भएको नभई जमिनमुनि कम गहिराइमा र मुख्यतः तेर्सो चालका कारण गएको देखाउँछ । जमिनमै गएको र उथलो प्रकृतिको भूकम्प भएकाले केन्द्रबिन्दु नजिकका क्षेत्रमा तीव्र कम्पन महसुस भएको उनको भनाइ छ ।

उथलो प्रकृतिको भूकम्प (Shallow Earthquake) भन्नाले पृथ्वीको सतहबाट कम गहिराइमा, सामान्यतया ७० किलोमिटरभन्दा कम गहिराइमा उत्पत्ति हुने भूकम्पलाई बुझिन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने बताएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ । समाचार संस्था रोयटर्सका अनुसार शुक्रबार दिउँसोसम्म कच्चा तेलको मूल्य प्रतिब्यारेल १.१० डलर अर्थात् १.१ प्रतिशतले घटेर १०३.१८ डलरमा झरेको थियो । त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य प्रतिब्यारेल ४९ सेन्ट अर्थात् ०.५ प्रतिशतले घटेर ९१ ...
युक्रेनको पूर्वी क्षेत्र डोनेत्स्कमा रुसी सेना निरन्तर पछि हटिरहेको छ । क्रेमलिन समर्थक टेलिग्राम च्यानल राइबरले बुधबार रुसी सेनाले लाइमान सहरको दक्षिणतर्फका गाउँहरू गुमाइरहेको जनाएको छ । रुसी सेनाले स्लोभियान्स्क र क्रामाटोर्स्क सहरमा व्यापक आक्रमण गर्न आधारका रूपमा प्रयोग गर्ने उद्देश्यले लाइमान कब्जा गर्ने प्रयास गर्दै आएको थियो । यी दुवै सहरलाई युक्रेनको किल्लाबन्द क्षेत्रका प्रमुख ...
: भारतले लागू गरेको एन्टी–डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योगले आफ्नो बजारको करिब ९५ प्रतिशत हिस्सा गुमाएको उद्योगीहरूले बताएका छन्। बजार गुम्दै जाँदा उद्योगहरू बन्द हुने जोखिम बढेको भन्दै उनीहरूले तत्काल नीतिगत हस्तक्षेप गरी उद्योग संरक्षण गर्न सरकारसँग माग गरेका छन्। नेपालको औद्योगिकीकरणको सुरुवाती चरणदेखि नै महत्वपूर्ण योगदान दिँदै आएको जुट उद्योग पछिल्लो समय गम्भीर ...
टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानले होर्मुज जलमार्गमा अवरुद्ध आवागमन पुन: सञ्चालन गर्न महिनौँदेखि गरिएका प्रयास सफल हुन नसकेको भन्दै दु:ख व्यक्त गरेका छन् । इस्तानबुलमा आयोजित अन्तर्राष्ट्रिय न्याय सम्मेलनलाई सम्बोधन गर्दै एर्दोगानले त्यसबारे दु:ख व्यक्त गरेका हुन् । उनले अन्तर्राष्ट्रिय सम्झौताहरूको बेवास्ता बढ्दैगएको र अन्तर्राष्ट्रिय अदालतका निर्णयसमेत कार्यान्वयन हुन छाडेको भन्दै चिन्ता व्यक्त गरे । ‘अन्तर्राष्ट्रिय सम्झौताहरूले ...
इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकासँग हुने वार्ता दबाब र धम्कीबिना अघि बढे मात्रै सफल हुने बताएका छन् । तुर्कमेनिस्तानमा आयोजित स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डल (सीआईएस) को शिखर सम्मेलनलाई सम्बोधन गर्दै पेजेस्कियानले यस्तो बताएका हुन् । इरानले थकाइलाग्दो प्रतिस्पर्धाको सट्टा सहकार्य, एकपक्षीय निर्भरताको सट्टा पारस्परिक अन्तरनिर्भरता तथा धम्कीको सट्टा विश्वास र साझा हितमा आधारित सुरक्षा चाहेको उनले बताए । राष्ट्रपति ...