: पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौंदीमा सडक भासिएपछि रोकिएका सवारीसाधनलाई वैकल्पिक मार्गबाट पास गराउन थालिएको छ।
गलौंदीमा सडक खुलाउन ब्याक कटिङको काम भइरहेको भएपनि राजमार्ग पूर्णरूपमा सञ्चालनमा आउन साँझसम्म समय लाग्ने नागढुंगा–नौबिसे–मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का प्रमुख गुरु प्रसाद अधिकारीले बताए।
गलौंदीदेखि घाटबेँसी निस्कने भित्री सडक प्रयोग गरी रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन थालिएको हो। तर गलौंदीतर्फको उकालो र घाटबेँसीतर्फको हिलो सडकका कारण विशेषगरी मालवाहक सवारीसाधनलाई आवतजावत गर्न कठिनाइ भइरहेको छ।
दसैं नजिकिँदै गर्दा राजमार्ग अवरुद्ध भएपछि घर फर्किने यात्रु तथा चालकहरू समस्यामा परेका छन्। मुख्य राजमार्ग सञ्चालनमा आउन समय लाग्ने र वैकल्पिक सडकसमेत सहज नहुँदा यात्रुहरूको यात्रा थप कष्टकर बनेको छ।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले अति आवश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेकी छन्। सडकको वर्तमान अवस्था र वैकल्पिक मार्गमा देखिएको कठिनाइलाई ध्यानमा राखेर मात्रै यात्रा गर्न प्रशासनले आग्रह गरेको छ।