: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः एकपटक नोबेल शान्ति पुरस्कार नपाएकोमा कडा असन्तुष्टि व्यक्त गरेका छन्। शुक्रबार नर्वेको नोबेल समितिले आफूलाई पुरस्कार नदिएर देशमाथि ‘कहिल्यै नमेटिने दाग’ लगाएको आरोप लगाउँदै ट्रम्पले उक्त निर्णयलाई लज्जास्पद र अपमानजनक भनेका छन्।
आफूले विश्वका विभिन्न ८ वटा ठूला द्वन्द्व र सम्भावित युद्धहरू रोकेको दाबी गर्दै ट्रम्पले प्रत्येक युद्धका लागि छुट्टाछुट्टै गरी आठ पटक नोबेल शान्ति पुरस्कार पाउनुपर्ने जिकिर गरे।
यस वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसंघकी पूर्व मानवअधिकार प्रमुख नवी पिल्लेलाई प्रदान गर्ने घोषणा गरिएको छ। यसै निर्णयमाथि कटाक्ष गर्दै ट्रम्पले भने, 'आज नोबेल पुरस्कार एक उदारवादी (लिबरल) लाई दिइयो, जो संयुक्त राष्ट्रसंघमा काम गर्छिन् र जसको बारेमा कसैले सुनेको सम्म छैन।'
पिल्लेले सन् १९९९ देखि २००३ सम्म अन्तर्राष्ट्रिय फौजदारी अदालत (ICC) को अध्यक्षका रूपमा समेत काम गरिसकेकी छन्।
भारत-पाकिस्तान युद्ध रोकेको दाबी
आफ्नो दाबी दोहोर्याउँदै ट्रम्पले परमाणु हतियार सम्पन्न छिमेकी देशहरू भारत र पाकिस्तानबीचको सम्भावित ठूलो युद्ध आफूले मध्यस्थता गरेर रोकेको बताए। यसबाट करिब ५ करोड मानिसको ज्यान जोगिएको उनको भनाइ छ।
साथै, इरान र रुस-युक्रेन युद्ध अन्त्य गराउने दिशामा पनि आफूले अभूतपूर्व काम गरिरहेको ट्रम्पले दाबी गरे। इरानलाई परमाणु हतियार प्राप्त गर्नबाट नरोकेको भए मध्यपूर्वसहित युरोप र अमेरिकासम्म ठूलो विनाश फैलिने उल्लेख गर्दै उनले भने, “मैले इतिहासमा अन्य कुनै पनि व्यक्तिको तुलनामा सबैभन्दा बढी मानिसको ज्यान बचाएको छु।”
सन् २०१८ देखि नै नोबेलको दौडमा ट्रम्प
राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारको दाबी गरेको यो पहिलोपटक होइन। उनले यसअघि पनि पटक-पटक आफू उक्त पुरस्कारको हकदार भएको दाबी गर्दै आएका थिए। यद्यपि, हरेक पटक उनले निराशा नै व्यहोर्नुपरेको छ। यसपटकको नोबेल शान्ति पुरस्कार घोषणा हुनुअघि नै उनले आफू नै यसको वास्तविक हकदार भएको दाबी गरेका थिए; तर यसपटक पनि मनोनयनमा नपरेपछि उनी निकै आक्रोशित बनेका छन्।
ट्रम्पले सर्वप्रथम अक्टोबर २०१८ मा उत्तर कोरिया र सिरियामा शान्ति स्थापनाका लागि प्रयास गरे तापनि आफूले कहिल्यै नोबेल नपाउने गुनासो गरेका थिए। त्यसपछि फेब्रुअरी २०१९ मा जापानका तत्कालीन प्रधानमन्त्री शिन्जो आबेले आफूलाई नोबेलका लागि मनोनयन गरेको दाबी गर्दै उनले सार्वजनिक रूपमै दाबेदारी पेस गरे। सन् २०१९ मै एक पाकिस्तानी पत्रकारको प्रश्नको उत्तर दिँदै उनले यदि निष्पक्ष मूल्याङ्कन हुने हो भने आफूले थुप्रै कामका लागि नोबेल पाउनुपर्ने धारणा राखेका थिए।
त्यसैगरी, सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनका क्रममा पूर्वराष्ट्रपति बाराक ओबामासँग तुलना गर्दै ट्रम्पले 'ओबामाले पाउन सक्छन् भने आफूले किन नपाउने?' भन्दै प्रश्न उठाएका थिए।
नवी पिल्लेको व्यङ्ग्य: ‘पुरस्कार ट्रम्पसँग बाँडूँला’
२०२६ को नोबेल शान्ति पुरस्कार विजेता भारतीय मूलकी दक्षिण अफ्रिकी नागरिक नवनीतम (नवी) पिल्लेले ट्रम्पको टिप्पणीमाथि व्यङ्ग्य गर्दै समर्थकहरूको तालीका बीच उनले भनिन्, 'यदि तपाईंहरूले अझै केही बेर ताली बजाउनुभयो भने, सायद म यो पुरस्कार ट्रम्पसँग बाँड्नेछु।'
यसअघि सन् २०२५ की नोबेल विजेता भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना माचाडोले ह्वाइट हाउस पुगेर आफ्नो नोबेल मेडल ट्रम्पलाई हस्तान्तरण गरेकी थिइन्। तर, नोबेल समितिका नियम अनुसार पुरस्कार अरू कसैलाई हस्तान्तरण गर्न मिल्दैन, त्यसैले ट्रम्प आधिकारिक विजेता बन्न सकेनन्।
अमेरिकी राष्ट्रपतिले पाइसकेका छन् नोबेल
हालसम्म चार अमेरिकी राष्ट्रपतिले नोबेल शान्ति पुरस्कार प्राप्त गरिसकेका छन्। जसमा थियोडोर रुजवेल्ट, वुड्रो विल्सन, जिमी कार्टर र बाराक ओबामा रहेका छन्। बाराक ओबामालाई सन् २००९ मा राष्ट्रपति कार्यकालको पहिलो वर्षमै यो पुरस्कार दिइएको थियो ओबामालाई दिइएको पुरस्कारप्रति ट्रम्प सबैभन्दा बढी आक्रोशित रहँदै आएका छन्।
दक्षिण अफ्रिकाको रंगभेदविरुद्ध लडेकी र युद्ध अपराध तथा नरसंहारका दोषीहरूलाई कानुनी दायरामा ल्याउन महत्त्वपूर्ण योगदान दिएकी नवी पिल्लेलाई यस वर्ष नोबेल समितिले अन्तर्राष्ट्रिय कानुन र शान्ति सुदृढ बनाएकोमा सम्मानित गरेको हो।