: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व बजारमा इन्धनको बढ्दो मूल्य नियन्त्रण गर्न रुससँग डिजेल आपूर्ति गर्ने सहमति भएको घोषणा गरेका छन्। सहमतिसँगै ट्रम्प प्रशासनले युक्रेन युद्धका कारण मस्कोको राजस्व रोक्ने उद्देश्यले रुसी इन्धनमाथि लगाउँदै आएको प्रतिबन्ध अस्थायी रूपमा फुकुवा गरेको छ।
ट्रम्पका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी र विश्वव्यापी बजारका लागितुरुन्तै ३ लाख टन डिजेल उपलब्ध गराउन सहमत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
नोभेम्बरमा ५ लाख टन र त्यसपछि थप १० लाख टन डिजेल पठाउने सहमति भएको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अत्यन्तै सफलफोन वार्ता भएको जानकारी दिएका छन्। यस घोषणा लगत्तै अन्तर्राष्ट्रिय बजारमा डिजेलको मूल्यमा केही गिरावट आएको छ।
वार्तापछि रुसी राष्ट्रपति पुटिनका दूत किरिल दिमित्रीभले एक्समा पोष्ट गर्दै रुस र अमेरिकाबीचको यो सहकार्यको प्रशंसा गरेका छन्। मध्यपूर्व तथा इरान तनावका कारण स्ट्रेट अफ हर्मुज क्षेत्रबाट हुने तेल आपूर्ति प्रभावित भएपछि अमेरिका र विश्व बजारमा इन्धनको संकट गहिरिएको थियो।
स्रोतका अनुसार दिमित्रीभले गत महिना वासिङ्टन भ्रमणका क्रममा अमेरिकी अधिकारीहरूसँग सबै प्रमुख रुसी तेल कम्पनीहरूलाई अमेरिकी बजारमा डिजेल निर्यात गर्ने अनुमतिपत्र (लाइसेन्स) दिन आग्रह गरेका थिए। कृषि,तथा ढुवानी क्षेत्रका लागि अत्यावश्यक मानिने डिजेलको मूल्य हालै उच्च विन्दु नजिक पुगेको छ।