इरानका राष्ट्रपति मसुद पेजेस्कियानले इरानी जनता शत्रुको धम्कीसँग नडराउने बताएका छन्।
तेहरानमा आयोजित ग्रामीण तथा घुमन्ते समुदायका क्षमतासम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनीलाई सम्बोधन गर्दै पेजेस्कियानले इरानी जनता जीवित रहुन्जेल आफ्नो वीर इरानका गौरवशाली जनताको सेवक बनेर रहने बताए।
अमेरिकाले आर्थिक दबाब बढाइरहे पनि युद्ध अन्त्यका लागि आफूले अघि सारेका सर्तमा कुनै सम्झौता नगर्ने अडान तेहरानले कायम राखेको छ।
गत महिना प्रस्तुत गरेको पछिल्लो शान्ति प्रस्तावमा इरानले क्षेत्रीय युद्धविराम, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा, इरानी तेल निर्यातमाथिका प्रतिबन्ध हटाउनुपर्ने र अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने माग गरेको थियो।
यसको बदलामा सात दिनभित्र होर्मुज जलमार्ग पुनः खोल्ने इरानले जनाएको थियो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त प्रस्ताव अस्वीकार गरेका थिए।