मुख्य समाचार
कोशीको नाम फेर्न बाटो खुल्यो,दुईतिहाइ जुटाउनुपर्ने
कोशीको नाम फेर्न बाटो खुल्यो,दुईतिहाइ जुटाउनुपर्ने

: कोशी प्रदेशको नाम परिवर्तनको माग अब सडकको आन्दोलनमा मात्रै सीमित नरही प्रदेशसभाको औपचारिक प्रक्रियामा प्रवेश गर्न सक्ने भएको छ । प्रदेशसभा सञ्चालन नियमावली पारित भएसँगै नाम संशोधनको प्रस्ताव दर्ता गर्ने बाटो खुलेको हो ।

तर,प्रस्ताव दर्ता गर्न सक्ने अवस्था बन्नु र नाम नै परिवर्तन हुनुबीचको दूरी भने लामो छ । नियमावलीको नियम २१२ ले प्रदेशको नामकरणमा हेरफेर वा संशोधन गर्न चाहने प्रदेशसभा सदस्यलाई प्रस्ताव अघि बढाउने अधिकार दिएको छ । त्यसका लागि प्रदेशसभाको कुल सदस्य संख्याको कम्तीमा एकतिहाइ सदस्यको समर्थन आवश्यक पर्नेछ ।

प्रस्ताव सचिवसमक्ष पेस भएपछि सभामुखले कार्यव्यवस्था परामर्श समितिको परामर्शमा छलफलको मिति र समय निर्धारण गर्ने व्यवस्था छ । नाम परिवर्तनको अन्तिम निर्णयका लागि भने प्रदेशसभामा दुईतिहाइ बहुमत जुटाउनुपर्ने हुन्छ । यसले नाम संशोधनको पक्षमा रहेका दल र सांसदलाई प्रारम्भिक प्रस्ताव दर्ता गर्न बाटो खुले पनि निर्णय गराउन पर्याप्त राजनीतिक समर्थन जुटाउनुपर्ने चुनौती कायम राखेको छ ।


२०७९ फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोशी राखिएको थियो । प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतबाट कोशी पारित भएपछि प्रदेशको राजनीति लामो समयसम्म प्रभावित बनायो । पहिचानका आधारमा नाम राख्नुपर्ने माग गर्दै आएका समूहले निर्णयको विरोधमा प्रदेशका विभिन्न स्थानदेखि काठमाडौंसम्म आन्दोलन गरेका थिए । नामकरणको पक्षमा रहेका दल र पहिचानवादी पक्षबीचको विवादले प्रदेशको राजनीतिक वातावरणसमेत तनावपूर्ण बनेको थियो ।

पछिल्लो समय आन्दोलनको प्रभाव कमजोर देखिए पनि नाम परिवर्तनको माग भने कायमै छ । शुक्रबार विराटनगरमा किरात राई यायोक्खाको महाधिवेशन उद्घाटनअघि निकालिएको ¥यालीमा पनि कोशी नामको विरोध गरिएको थियो । नियमावलीमा संशोधनको प्रक्रिया समेटिएपछि अब यस्तो मागलाई प्रदेशसभाभित्रै औपचारिक रूपमा उठाउने सम्भावना बनेको छ ।

प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएयता नयाँ नियमावली नबन्दा पहिलो कार्यकालको नियमावलीका आधारमा बैठक सञ्चालन हुँदै आएको थियो । नयाँ नियमावली बनाउने क्रममा नाम संशोधनको विषयमा दलहरूबीच सहमति जुट्न नसक्दा प्रक्रिया लम्बिएको थियो । सुरुमा नेकपा (एमाले) सहमत नहुँदा सांसद (प्रदेशसभा सदस्य) लीलाबल्लभ अधिकारीको संयोजकत्वमा गठित ११ सदस्यीय समितिले मस्यौदामा सहमति जुटाउन सकेको थिएन ।

पछि एमालेका प्रदेशसभा सदस्य तथा संविधानसभा सदस्य रेवतीरमण भण्डारीको नेतृत्वमा रहेको नियमावली मस्यौदा समितिले नाम संशोधनको प्रक्रिया समेटेपछि नियमावली पारित गर्ने वातावरण बनेको हो । सभापति भण्डारीले प्रतिवेदन पेस गरेपछि भएको सैद्धान्तिक छलफलमा एमालेका प्रमुख सचेतक रमेशकुमार बस्नेत र नेपाली कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले नियमावलीको पक्षमा धारणा राखेका थिए । त्यसपछि नियमावली सर्वसम्मत रूपमा पारित भएको घोषणा गरिएको थियो ।

नियमावली पारित भएपछि सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले यसलाई पुनः नामकरणको बहस अघि बढाउने उपलब्धिका रूपमा लिएका छन् । नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पुनः नामकरणको विषय नियमावलीमा समेटिनुलाई महत्वपूर्ण उपलब्धि बताएका छन् । प्रदेशकी पर्यटन,वन तथा वातावरणमन्त्री खिनु लङ्वाले पनि प्रयास गरे नाम सच्याउन वा पुनः नामकरण गर्न सकिने आशय व्यक्त गरेकी छन् ।

यता,नाम संशोधनको व्यवस्था समेटिएको विषयमा एमालेका सांसदहरूले सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार पारित सरकारी कामकाजको भाषासम्बन्धी विधेयकलाई ऐतिहासिक उपलब्धिका रूपमा उल्लेख गरे पनि प्रदेशसभा सञ्चालन नियमावलीका बारेमा आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।

अब नाम परिवर्तनको पक्षमा रहेका दल र सांसदले एकतिहाइ सदस्यको समर्थन जुटाएर प्रस्ताव दर्ता गर्नुपर्नेछ । त्यसपछि प्रस्ताव प्रदेशसभाको छलफलमा प्रवेश गर्नेछ । अन्ततः नाम परिवर्तन गर्न दुईतिहाइ बहुमत आवश्यक पर्ने भएकाले यस विषयको भविष्य दलहरूबीचको सहमति र प्रदेशसभाभित्र बन्ने राजनीतिक समीकरणमा निर्भर हुनेछ । साढे तीन वर्षदेखि विवादमा रहेको कोशी नामकरणको विषयले औपचारिक प्रक्रियामा प्रवेश गर्ने बाटो पाए पनि नाम परिवर्तनको निर्णयसम्म पुग्न आवश्यक राजनीतिक आधार भने अझै तयार हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण चुमनुब्री गाउँपालिकाको लोक्पास्थित सर्दिभिरमा रहेको क्यान्टिलिभर पुल बगेको छ। चुमनुब्री गाउँपालिकाकी उपप्रमुख लक्ष्मी गुरुङका अनुसार आज बिहान आएको बाढीले क्यान्टिलिभर पुल बगाएसँगै तल्लो चुम क्षेत्रमा आउजाउ ठप्प भएको छ। ‘बाढीले क्यान्टिलिभर पुल बगायो। अब तल्लो चुम जाने बाटोघाटो केही छैन,’ उनले भनिन्, ‘फेरि उहिल्यैबाट पहिल्याएर काठको भर्‍याङ र डोरी ...
। तनहुँ जलविद्युत् आयोजनाले निर्माणस्थलमा हुन सक्ने सम्भावित विपद्को जोखिम न्यूनीकरण, जनशक्तिको सुरक्षा तथा आपत्कालीन अवस्थामा प्रभावकारी उद्धार र प्रतिकार्य सुनिश्चित गर्न मुख्य बाँध निर्माणस्थलमा विपद् नमुना अभ्यास सम्पत्र गरेको छ । आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत आपत्कालीन प्रतिकार्य उपयोजनाबमोजिम सञ्चालन गरिएको अभ्यासमा प्याकेज- १ (हेडवर्क्स) र प्याकेज-२ (मुख्य सुरुङ, विद्युतगृहलगायतका संरचना तथा सम्बन्धित उपकरणहरू)मा कार्यरत ...
। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले पारेको असरबारे दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत देउवाले बाढीले नदी किनाराका बस्तीमा पारेको असरको खबरले आफू दुखित बनेको बताएका हुन् । उनले लेखेका छन्, ‘बूढीगण्डकी र त्रिशूली नदी किनारका तटीय क्षेत्रमा रहेका सबै नागरिकलाई उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु ।’ नेपाली कांग्रेसका पूर्वसभापति समेत ...
। कोशी प्रदेशको राजधानी विराटनगरमा असोज २७ र २८ गते आयोजना हुने ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’ को सम्पूर्ण तयारी पूरा भएको छ । कोशी प्रदेश सरकारले आयोजना गर्ने सम्मेलनको तयारी पुरा भएको हो । सम्मेलनमा देशका सातै प्रदेशका माननीय मुख्यमन्त्रीहरू, मुख्य न्यायाधिवक्ताहरू, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षहरू र प्रमुख सचिवहरूको सहभागिता रहने मुख्यमन्त्री हिक्मतकुमार ...
। गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । सो विवरणमा घर, पुल र हाइड्रोपावरमा क्षति पुगेको उल्लेख छ । फिलिम, सल्लेरी, जगत र माछाखोलाका स्वास्थ्य संस्थाहरु माथिल्लो उचाइमा रहेकाले कम जोखिममा रहेको मन्त्रालयले जनाएको छ । साथै गोरखा, लमजुङ र तनहुँ जिल्लाका जिल्ला स्तरीय द्रुत प्रतिकार्य टोली ...