। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद् व्यवस्थापनमा सरकार पूर्ण रूपमा चुकेको भन्दै तीव्र आलोचना गरेका छन्।
गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीपछिको अवस्थालाई लिएर सरकारको ध्यानाकर्षण गराउँदै ओलीले राष्ट्रिय विपत्तिको समयमा समेत सरकारले साँघुरो मन देखाएको आरोप लगाए।
पार्टीको मिसन जागरण अभियान अन्तर्गत आइतबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारी स्रोतसाधनको दोहन भएको गम्भीर आरोप लगाए। विपद्को बेला हेलिकोप्टरको दुरुपयोग भएकोतर्फ लक्षित गर्दै उनले भने, ‘सरकारी हेलिकोप्टर कुनै संस्थाको निजी सम्पत्तिजस्तो, कहिल्यै हेलिकोप्टर चढ्न नपाएको छ भने चढाउने अवसर मिलेजस्तो, त्यस्तो खालको स्थिति रह्यो।’
यसअघि भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका बेला पनि उद्धारमा हेलिकोप्टरको चरम दुरुपयोग भएको स्मरण गराउँदै उनले थपे, ‘यसअघि भोटेकोशी र त्रिशूलीमा बाढी आउँदा सरकारले हेलिकोप्टर नियन्त्रण गर्ने, दुरुपयोग गर्ने तथा राहत र उद्धारका कार्य समयमै नगरेको अवस्था थियो। यसपटक त्यस्ता कुरा नदोहोरिऊन् भनेर म सरकारलाई आग्रह गर्न चाहन्छु।’
अध्यक्ष ओलीले विपद् व्यवस्थापन जस्तो संवेदनशील विषयमा सरकारले फराकिलो सोच राख्न नसकेको जिकिर गरे। संकटको घडीमा सबै पक्षलाई समेटेर एउटा समिति समेत बनाउन नसक्नु सरकारको कमजोरी भएको उनको टिप्पणी थियो।
उनले भने, ‘सरकार फराकिलो मन र फराकिलो पनका साथ उद्धार कार्यमा अगाडि बढोस्। सरकारले एउटा सर्वदलीय समिति सम्म बनाउने फराकिलोपन पनि देखाउन सकेन। कति साँघुरो मन, साँघुरोपन देखायो।’
साथै, अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगलाई समयमै स्वीकार र सदुपयोग गर्न नसक्दा उद्धार प्रभावित भएको उनले दाबी गरे।
‘वैदेशिक सहयोगको उचित सदुपयोग गर्न सकिएन। समयमा स्वीकार नगर्दा अनावश्यक रूपमा उद्धार अभियानको अभावमा थुप्रै नागरिकले ज्यान गुमाउनुपरेको मान्न सकिन्छ,’ ओलीले भने।
सरकारको मुख मात्र ताकेर नबस्न आग्रह गर्दै अध्यक्ष ओलीले आफ्ना नेता तथा कार्यकर्तालाई बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा तत्काल खटिन निर्देशन दिएका छन्। ‘आज फेरि अर्को विपत्ति आइरहेको छ, बूढीगण्डकीमा बाढी गएर। केही घर बगाएको छ, केही व्यक्ति बेपत्ता हुनुभएको छ र निकै ठूलो क्षति भएको छ,’ ओलीले भने, ‘यस विपत्तिको घडीमा उद्धार र राहत कार्यमा जुट्न तथा आवश्यकताअनुसार पुनर्निर्माण एवं पुनःस्थापनामा सहयोग गर्न पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गर्न चाहन्छु।’