: नेपाली कांग्रेसले बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा तीव्र गतिमा उद्धार कार्य अघि बढाउन सरकारलाई आग्रह गरेको छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै विपद्को सामना गर्न सबैलाई एकजुट भएर लाग्न आग्रह गरेका हुन्।
कांग्रेसले बाढीले पुर्याइरहेको क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै तल्लो तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन अनुरोध गरेको छ। साथै,पार्टीका सबै नेता तथा कार्यकर्तालाई आफू सुरक्षित रही उद्धार कार्यमा जुट्न आह्वान गरेको छ।
पार्टी सभापति गगनकुमार थापाले विपद्प्रति सरकारको ध्यानाकर्षण गराएको कांग्रेसले जनाएको छ। महाधिवेशन सकेर फर्किरहेका पार्टीका नेता तथा कार्यकर्तालाई सुरक्षित रूपमा फर्कन आग्रह गर्दै बुढीगण्डकी विपद् प्रभावित आसपासका क्षेत्रका कार्यकर्तालाई तत्काल उद्धार कार्यमा जुट्न सभापति थापाले आह्वान गरेका हुन्। बाढीमा १५ जना बेपत्ता छन् भने ३६ जनाको उद्दार गरिएको छ।
आइतबार बिहान गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकीमा बाढी आउँदा ठूलो क्षति भएको छ। उङ्गिलुङ खोलाबाट आएको बाढी स्यार खोलामा थुनिएर ताल बनेर बाढीको रुप लिएको हो।
चुमनुब्री गाउँपालिकाका स्थानीयका अनुसार सल्लेरी बस्ती, दोभान, घट्टेखोला, ठाडो भर्याङ, जगत लगायतको स्थानमा व्यापक क्षति भएको हो।
हालमसम्म बुढीगण्डकी हाइड्रोपावर ३४१ मेगावाटको क्याप्प, सल्लेरी बस्तीका सबै घर हाइड्रोको शिविर क्याम्प बगाएको छ। यसैगरी सल्लरीको ५ वटा,घर घण्टेखोला २ घर, ठाडो भर्याङको झुलुगे पुल र ३ घर, जगर बगरका केही घर बगाएको स्थानीयले बताएका छन्।